८ वैशाख २०८१ शनिबार
समाज

'खरको छानोलाई जस्तापाता, बेरोजगारलाई सय दिनको रोजगारी'

गुर्भाकोट नगरपालिकाको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै मेयर हस्त पुन ।

सुर्खेत– गुर्भाकोट नगरपालिकाले बेरोजगार युवाहरुलाई वार्षिक न्यूनगत एक सय दिनको रोजगारी दिने भएको छ। नगरपालिकाले गरिव, विपन्न र पछि परेका भूगोलका समुदाय र परिवारका बेरोजगार युवाहरुलाई ‘एक घर, एक रोजगार’ कार्यक्रम अर्तगत रोजगार दिने नीति लिएको हो।

‘कामका लागि बाहिर जाने जनशक्तिलाई आफ्नै ठाउँमा रोजगारी दिने उद्देश्य अनुरुप यो नीति अवलम्वन गरेका हौं’ बुधबार आर्थिक वर्ष २०७६–०७७ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै नगरप्रमुख हस्त पुनले भने, ‘एक घरका एक जनालाई न्यूनगत एक सय दिनको रोजगारी दिन्छौं ।’

नगरपालिकाले भविश्यका आधारका रुपमा बालबालिकामा लगानी, विकास र समृद्धिका लागि युवाहरुलाई रोजगारी र जेष्ठ नागरिकहरुलाई अनुभव बैंकका रुपमा लिँदै सोही अनुसार आगामी आर्थिक वर्षका लागि नीति तथा कार्यक्रम ल्याइएको बताएको छ। नगरपालिकाले युवाहरुलाई स्वरोजगार बनाउनका लागि व्यवसायिक कार्यक्रम ल्याएको छ। 

‘पानी, खानी, कृषि र वन, हाम्रा युवा हाम्रा धन’ अन्र्तगत युवाहरुलाई कृषिकर्म, पर्यटन, होमस्टेलगायतका व्यवसायमा जोड्ने नीति नगरपालिकाले लिएको मेयर पुनले जानकारी दिए । नगरपालिकाले आर्थिक वर्ष २०७६–०७७ भित्रै सडकको पहुँच नपुगेको साविकको धारापनी गाविसलाई सडक सञ्जालसँग जोड्ने बताएको छ। चालू आर्थिक वर्षमा ४५.५५ किलोमिटर नयाँ सडकको ट्रयाक खोलेको नगरपालिकाले आगामी आर्थिक वर्षभित्र यसलाई एक सय किलोमिटर पु¥याउने लक्ष्य राखेको छ। नगरपालिकाले पुराना सडकहरुको स्तरोन्नति, नगर गौरवका सडकको कालोपत्रे गर्नुका साथै मेहलकुना–बडाखोली सडकलाई चन्द्रमार्ग नामाकरण गर्ने प्रस्ताव सभामा पेश गरेको छ।

नीति तथा कार्यक्रममा आगामी आर्थिक वर्षमा दुई सय खर र परालको छाना भएका घरलाई जस्तापाताको छानोमुनि ल्याउने उल्लेख छ । ‘यसका लागि जस्तापाता खरिदमा लाग्ने रकमको ३० प्रतिशन नगरपालिकाले अनुदान दिन्छ’ मेयर पुनले भने, ‘आगामी तीन वर्षभित्र गुर्भाकोटलाई खर र परालको छानोमुक्त बनाउने लक्ष्य लिएका छौं ।’

नगरपालिकाले महिलाहरुका लागि ‘उपप्रमुख उद्यमशिलता कार्यक्रम’ सञ्चालन गर्ने भएको छ । ‘यो कार्यक्रम अन्र्तगत १४ वटै वडामा उद्यम विकास केन्द्र स्थापना गरिने छ’ उपप्रमख मैना विकले भनिन्, ‘महिलाहरुलाई स्वरोजगार बनाउनका लागि यो कार्यक्रम ल्याइएको हो।'

गुर्भाकोट नगरपालिकाले ‘एक घर, एक धारा’ अभियान अन्र्तगत प्रत्येक नागरिकका घरघरमा खानेपानीको पहुँच पु-याउनका लागि विभिन्न योजनाहरु अघि सारेको छ । साना सहरी खानेपानी आयोजना अन्र्तगत वडा नम्वर ६, ७, ८ र ९ का नागरिकका लागि आगामी आर्थिक वर्षभित्र खानेपानीको पहुँच पु-याउने, नगर क्षेत्रभित्रका सामुदायिक विद्यालयमा अध्ययनरत कक्षा पाँचसम्मका विद्यार्थीहरुलाई स्थानीय पौष्टीक खानाको व्यवस्था गर्ने, महिला स्वास्थ्य स्वयम्सेवीकाहरुका घरलाई स्वास्थ्य जनचेतनास्थलको रुपमा विकास गर्ने, ‘एक घर, एक करेसाबारी’ अन्र्तगत कृषि उत्पादनको विविधिकरण र विशिष्टिकरण गर्नुका साथै कम्तिमा पनि १५ जना कृषक तथा समूहलाई कृषि ऋण उपलब्ध गराउने बैंक तथा वित्तीय संस्थालाई ‘हाम्रो बैंक’ सम्मान प्रदान गर्ने उल्लेख छ।

यस्तै दलित, महिला, आदिवासी, जनजातिलगायत लोपोन्मुख तथा सिमान्तकृत समुदायको उत्थान, विकास र मूलप्रबाहिकरणका लागि नगरलाई ‘लैंगिक विभेद तथा जातीय छुवाछुतमुक्त’ बनाइने, शहरी विकास मन्त्रालयले घोषणा गरेको ‘भेरीगंगा उपत्यका नमूनाको आधुनिक शहर’को काम सुरु गर्ने, आर्थिक वर्षको पहिलो छ। महिनाभित्र तोकिएको करचुक्ता गर्ने करदातालाई करमा १० प्रतिशत छुटको व्यवस्था गर्ने उल्लेख छ।

सबैका घरघरमा विद्युत सेवा पु-याउनका लागि नगरपालिकाले ‘विकास र विस्तार विद्युतको जालो, गुर्भाकोट नगर गाउँगाउँ उज्यालो’ कार्यक्रम ल्याएको छ । यो कार्यक्रम अन्र्तगत विद्युतको पहुँच नपुगेका वडामा विद्युत सेवा विस्तार गर्ने, सौर्य, बायू र नवीकरणीय उर्जाको उत्पादन र प्रयोग गर्ने उल्लेख छ।

नगरपालिकाले नगवासीसँग प्रत्यक्ष जोडिनका लागि ‘जनतासँग प्रमुख–उपप्रमुख’ कार्यक्रम सञ्जालन गर्ने जनाएको छ। उपमेयर विकले यो कार्यक्रम अन्र्तगत प्रत्येक महिना एउटा वडामा पुगेर जनताका गुनासा सुन्ने र समाधान गर्ने बताइन्। यस्तै विकास गतिविधिहरुको प्रत्यक्ष अनुगमन गर्न र भइरहेका कामहरुलाई तिब्रता दिनका लागि ‘हाम्रा मेयर, विकासका गेयर’ कार्यक्रम पनि लागू गरिने नीति तथा कार्यक्रममा उल्लेख छ।

नीति तथा कार्यक्रममा नगरलाई स्वच्छ, सफा र सुन्दर राख्नका लागि ‘ग्रिन गुर्भाकोट, क्लिन गुर्भाकोट’ नारा तय गरिएको छ। यस अन्र्तगत फोहरको वर्गिकरण गर्दै नकुहिने फोहरबाट मोहर बनाउने नीति लिइने उपमेयर विकले बताइन्।

प्रकाशित: ११ असार २०७६ १५:३५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App