८ वैशाख २०८१ शनिबार
समाज

माथिल्लो तामाकोशीः ठाडो सुरुङमा पाइप जडान धमाधम

काठमाडौं – ठाडो सुरुङमा पाइप जडान गर्ने कार्यले गति नलिँदा माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको काम समयमै सम्पन्न नहोला कि भन्ने चिन्ता सर्वत्र थियो । सोही चिन्तालाई समाधान गर्दै यही असार १ गतेदेखि तल्लो ठाडो सुरुङमा पाइप जडान सुरु भएको हो । सोही क्रममा मंगलबारदेखि माथिल्लो ठाडो सुरुङमा समेत पाइप जडानको काम सुरु भएको माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाका प्रवक्ता डा. गणेशप्रसाद न्यौपानेले जानकारी दिए ।

आयोजनाको जटिल मानिएको दुईवटा ठूला सुरुङमा स्टिलका ठूला पाइप राख्नु रहेको छ । आयोजनाका अनुसार पहिलो ठाडो सुरुङ ३१० मिटर लामो छ भने दोस्रो ३७२ मिटर लामो छ । ‘मंगलबारदेखि माथिल्लो ठाडो सुरुङमा समेत पाइप जडानको काम सुरु भएको छ,’ उनले भने, ‘यसले आयोजनाको सबैभन्दा जटिल मानिएको काम अब सम्पन्न हुने दिशामा अगाडि बढेको छ ।’

भारतीय ठेकेदार कम्पनी टेक्सम्याको रेल्बे इञ्जिनियरिङले ३१० मिटर लामो ठाडो सुरुङमा दुई दशमलव पाँच मिटर लम्बाइ तथा ९ टन क्षमता भएको पहिलो पाइप सफलतापूर्वक जडान गरिएको उनको भनाइ छ । कूल ३५ टन क्षमता भएको विशेष प्रकारको डोरीको सहायताले पाइप जडान सुरु भएको हो ।

स्वदेशी लगानीमा दोलखामा निर्माणाधीन ४५६ मेगावाट क्षमताको सो आयोजनाको तल्लो ठाडो सुरुङमा यसअघि नै पेनस्टक पाइप जडान सुरु भएको छ । आयोजनाको पहिलो युनिटबाट आगामी पुसभित्र विद्युत् उत्पादन गर्ने लक्ष्य राखिएको छ । सो युनिटबाट ७६ मेगावाट विद्युत् उत्पादन हुनेछ । मन्त्रालयले दिएको स्वीकृतिअनुसार आयोजना आगामी चैतभित्र सम्पन्न गर्ने लक्ष्य छ । रासस

प्रकाशित: ११ असार २०७६ ११:१६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App