५ वैशाख २०८१ बुधबार
अन्य

सुन्दर फूल सहज उत्पादन

‘जेरानियम’ फूल हामीले देखिरहेकै फूल हो। यो फूलको नाम सुनिएको मात्रै हैन हाम्रो घर, आँगन, कौशी तथा गार्डेनमा फुलिरहने फूल हो। तपाईंको घर तथा गार्डेनमा फुलिरहेको पनि होला। यो फूल परिचित फूल हो। खास नौलो फूल हैन। ‘जेरानियम’लाई ‘प्यालारगोनियम’को नामले पनि चिनिन्छ।

पुरानो छोड्दै नयाँ रोप्दै
करिब १० वर्ष अघिसम्म यो फूल खुब लोकप्रिय थियो, नेपालका सहरी क्षेत्रमा। काठमाडौं उपत्यकामा त सानो गमला पायो कि यो फूल फुलाइ हालेको देखिन्थ्यो। अरु फूलै नरोप्ने घरमा पनि सामान्यतः ‘जेरानियम’ फुलेको देखिन्थ्यो। जेरानियमका गमलाले कौशी ढाकेको देखिन्थ्यो। तर विगत केही वर्षदेखि यो फूल रोप्ने चलन तुलनात्मक रुपमा घट्दै गयो। नघटोस् पनि कसरी एक त राम्रा–राम्रा भेराइटीका हाइब्रिड फूल भित्रिरहेका छन् भने स्थानीय ‘जेरानियम’ अग्लो हुन्छ। त्यसैले लड्ने बांगिने समस्याले यसको सुन्दरतामा अन्य फूलको कारण यो फूल विस्थापित हुँदै गयो। त्यति मात्रै हैन एकै किसिमका कलर हेरिरहँदा फूलका शौखिनलाई पनि दिक्क लाग्नु स्वाभाविकै हो। यसको अर्थ स्थानीय ‘जेरानियम’ फूल रोप्न छोडेको अवस्था भने हैन। रोप्न कम भएको मात्रै हो।

होचोमा ढपक्क
विगत एक वर्षदेखि भने ‘जेरानियम’ फूलका शौखिनको संख्या फेरि बढ्न थालेको छ। नर्सरीमा यो फूलको माग पुनः बढ्न थालेको नर्सरी व्यवसायी बताउँछन्।

काठमाडौंको नयाँ बानेश्वरस्थित रोजडेल नर्सरीका देवप्रकाश राई भन्छन्, ‘अहिले फेरि जेरानियम फूलको माग ह्वात्तै बढेको छ।’ उनले एक वर्षदेखि यसको माग ह्वात्तै बढिरहेको बताए। ‘जेरानियम’ फूलको माग बढ्नुको मूल कारण हो, होचोमा फुल्ने र नयाँ–नयाँ रंग निस्कने। पछिल्लो समय हाइब्रिड जातको ‘जेरानियम’ फूल भित्रिएसँगै यसका रंग पनि बढिरहेका छन्।

आजकाल हाइब्रिड गरेका ‘जेरानियम’ फूल नेपाल भित्रिन थालेका छन्। होचोमा १५ भन्दा धेरै रंगका जेरानियम ढपक्क  फुलाउन सकिन्छ। रातो, सेतो, पिङ्क, कलेजी रंगका जेरानियम नेपालमा अत्यधिक मन पराइने रंग हुन्।

काठमाडौंको स्वयम्भूस्थित मुस्कान नर्सरीका महेन्द्र सुवेदीका अनुसार आजकाल हाइब्रिड जातका ‘जेरानियम’ प्रति फूलका शौखिन लोभिन थालेका छन्। फूलको रंग मात्रै हैन हाइब्रिड गरिएका ‘जेरानियम’ होचोमा गमलामा ढकमक्क फुलाउन सकिन्छ। मुस्कानका सुवेदी भन्छन्, ‘होचोमा फुलेका जेरानियम फूलप्रति फूलका शौखिन आकर्षित भएको पाइन्छ।’ यसको अर्थ हाइब्रिड ‘जेरानियम’मात्रै रोपिन्छ भन्ने हैन स्थानीय ‘जेरानियम’ पनि रोप्नेको संख्या कम नभएको नर्सरी व्यवसायीको तर्क छ। फूलका शौखिनको रोजाइमा भने स्थानीयभन्दा पहिलोमा हाइब्रिड नै पर्छ। 

रोजडेलका राईका अनुसार ‘जेरानियम’ फूलको बीउ मात्रै हैन बिरुवा पनि विदेशबाट आयात हुन थालेका छन्। नेपालमा भने प्रविधिको अभावमा टिस्युकल्चर गरेर बीउ बनाउन नसकिएको सुवेदीले बताए।

बाह्र महिने फूल
बाह्रै महिना फुल्ने फूल भएकाले ‘जेरानियम’ फूलको लोकप्रियता रहेको वनस्पति विभागका पूर्व वैज्ञानिक अधिकृत कुबेरजङ्ग मल्लले बताए। नेपालमा ‘जेरानियम’ फूल परम्परादेखि नै रोपिँदै आएको फूल हो। यस फूलको राम्रो विशेषता भनेकै एक त बाह्रै महिना ढकमक्क फुलाउन सकिन्छ। जाडोमा केही महिना कम फुल्ने भए पनि अन्य महिना ढकमक्क फुलाउन सकिन्छ।

यस फूलको अर्को राम्रो पक्ष पनि छ। यो फूल भाँचेर सहजै रुपमा हाँगा रोपेर सर्न सक्छ। सामान्यतः गर्मी मौसममा यसको हाँगा सार्न सकिन्छ। हाँगा भाँचेर अन्य ठाउँमा सारेको करिब तीन हप्तासम्ममा जरा आइसक्छ। त्यसैले एक बिरुवाबाट अर्को बनाउन सकिने भएकाले यो फूलको बिरुवा बारम्बार किनिरहन नपर्ने मुस्कानका सुवेदीको तर्क छ।

सामान्यतः फागुन महिनामा यस फूलको हाँगा सार्नु उपयुक्त हुन्छ। फागुनमा हाँगा सारेको खण्डमा वसन्तु ऋतुमा नयाँ हाँगाबाट फूल फुलाउन सकिन्छ। सुवेदीले भने, ‘स्थानीय जातको मात्रै हैन हाइब्रिडको पनि हाँगा सार्न सकिन्छ।’ हाइब्रिड हिउँदमा पनि फुलाउन सकिन्छ। फागुनमा राम्रो फुलाउन सकिन्छ।  

झुण्ड्याउने कि नझुण्ड्याउने ?
जेरानियम सामान्यतः दुई किसिमका हुन्छन्। एउटा भुइँ वा गमलामा रोप्ने र अर्को, अग्लो ठाउँ वा झुण्ड्याउने गमलामा रोपेर फुलाउने किसिमका हुन्छन्। गमलामा झुण्ड्याएर फुलाउने ‘जेरानियम’लाई हेङगिङ जेरानियम भनेर चिनिन्छ। हेङगिङ जेरानियमको जातको हल्का लहरा हुन्छ। लहरा गएर फुल्ने भएकाले झुड्याएर राख्दा आकर्षक देखिन्छ। धेरै रंगका हेङ्गिङ जेरानियम झुण्डिएका गमलामा रोपेर फुलाउँदा घर तथा गार्डेन निक्कै सुन्दर हुन्छ।

आजकाल त प्लास्टिकका गमला पनि आउन थालेका छन्। प्लास्टिकका गमलामा हेङ्गिङ जेरानियम आकर्षक देखिने राई बताउँछन्। हेङ्गिङ बाहेकको जेरानियम पनि प्लास्टिकको गमलामा फुलाउन नसकिने होइन सकिन्छ। तर प्लास्टिकको गमलामा बिरुवाका लागि हावापानी नमिल्ने भएकाले सकभर प्लास्टिकको गमलामा जेरानियम नरोप्न नर्सरी व्यवसायीको सुझाव छ।

प्लास्टिकको गमलामा रोप्दा चर्को घाम लागेको समयमा फूलका जरा तातिएर जरा खुइलिई फूल मर्ने डर हुन्छ भने जाडोको सिजनमा जरामा धेरै चिसो हुन्छ। त्यसैले सकभर माटोको गमलामा रोप्नु नै ठीक हुन्छ।

वर्षादको सिजनमा भने प्लास्टिकको गमलामा रोप्दा गमलाबाट पानी राम्रोसँग बाहिर जान नसकी गमलामा पानी जमेर बिरुवाको जरा कुहेपछि बिरुवा मर्ने जोखिम हुन्छ। हेङ्गिङ गमलामा रोपेको जेरानियम भने प्लास्टिकको गमलामा रोप्दा पनि रामै हुन्छ। किनकी झुड्याउने भएकाले गमला आकर्षक देखिन्छ।

हावापानी र मल
‘जेरानियम’ प्रायः सबै किसिमको हावापानीमा फुल्ने फूल हो। अत्यधिक चिसो ठाउँमा भने फुल्न कठिन हुने पूर्व वैज्ञानिक मल्लले बताए। नेपालका काठमाडौंलगायत पहाडी भूभाग र तराई क्षेत्रमा जेरानियम राम्रैसँग फुलाउन  सकिने नर्सरी व्यवसायी बताउँछन्। करिब २२ सय मिटरभन्दा तलको हावापानीमा ‘जेरानियम’ फुलाउन सकिने सुवेदीले बताए।

‘जेरानियम’ फूलका लागि हल्का किसिमको माटो हुनु आवश्यक हुन्छ। माटो हल्का बनाउने विभिन्न उपाय छन्। घर तथा गार्डेनमा जेरानियम फुलाउन बिरुवाका झारपात तथा सागसब्जीका पात तथा बोक्रा कुहाएर आफँै पनि मल बनाउन सकिन्छ। यस्तो मल बिरुवालाई अत्यन्तै उपयोगी हुन्छ। पिना, गाईको गोबर, हड्डीको मल पनि उपयोगी हुन्छ। गोबर भने कम्तीमा ६ महिना पुरानो हाल्नुपर्छ। आलो मल हाल्दा जरा कुहिएर मर्ने जोखिम हुन्छ।

बिरुवामा मल हाल्दा जहिले पनि माटोले पुरेर हाल्नुपर्छ। माटो बाहिर देखिने किसिमले हाल्नु हुन्न। बाहिर हाल्दा एक त  बिरुवा मर्ने जोखिम हुन्छ भने अर्को गनाउन सक्छ। बजारमा पाइने कम्पोस्ट बाहेकका मल विचार पु¥याएर मात्रै हाल्नुपर्छ।

हाइब्रिड एक फिट पनि अग्लो हुन्न। करिब आठ इन्च हाइटको हुन्छ भने स्थानीय २÷३ फिट अग्लो हुन्छ। ‘जेरानियम’ रोप्दा जरा राम्रोसँग छोप्नु पर्छ। धेरै डाँठ छोपेको खण्डमा बिरुवा मर्न सक्छ।

‘जेरानियम’लाई धेरै पानी दिन पनि नहुने राईले बताए। धेरै पानी भए जरा कुहिएर बिरुवा मर्ने जोखिम हुन्छ। हल्का सुख्खा भएपछि पानी हाल्दा उपयुक्त हुन्छ।

बिरुवाअनुसार मूल्य
यो फूलको विशेषतालाई हेर्ने हो भने ‘जेरानियम’ को मूल्य महँगो देखिँदैन। काठमाडौं उपत्यकालगायतका पुष्प नर्सरीमा प्रतिगोटा जेरानियमको बीरुवाको मूल्य ६० रुपैयाँदेखि चार सयसम्म पर्ने गरेको पाइन्छ।

सानो पोलीमा भएको ‘जेरानियम’को बिरुवाको नर्सरीमा किन्दा करिब ६० रुपैयाँ पर्ने रोजडेलका राईले बताए। राईका अनुसार गमलामा फूलेको ‘जेरानियम’ फूलको बिरुवा भने ३/४ सय मूल्य पर्छ। तर एकपटक किनिसकेपछि एउटै बिरुवामा १० वर्ष फूल फुलाउन सकिने मल्लले बताए। यो बहुबर्षीय फूल हो।

हाइब्रिडको तुलनामा स्थानीय जातको जेरानियम सस्तो पर्ने नर्सरी व्यवसायी बताउँछन्। अन्य धेरै फूलको तुलनामा धेरै वर्ष यसको आयु हुने भएकाले यो फूललाई सस्तो फूलका रुपमा नर्सरी व्यवसायी चित्रित गर्छन्।

आयातित
‘जेरानियम’ फूल नेपालको वास्तविक स्थानीय फूल नभई आयातित फूल हो भन्छन्, पूर्व वैज्ञानिक मल्ल। यो फूल नेपालमा कहिले भित्रियो भन्ने एकिन नभए पनि भारतबाट भित्रिएको उनको अनुमान छ। बेलायत हुँदै भारतबाट नेपाल प्रवेश गरेको मल्लको अनुमान छ। ‘जेरानियम’ फूल नेपालमा लाहुरेले भिœयाएको अनुमान छ। कतिपय फूल यस्ता छन्, जुन विदेशमा कार्यरत नेपाली लाहुरेले लाहुरबाट फर्किँदा विदेशबाट भिœयाएको पाइन्छ। तर यो फूल नेपालका शहर बजारमा मात्रै हैन गाउँगाउँ भित्रिने क्रममा छ। फुलाउन सजिलो छ  रोप्न सजिलो छ। सुन्दर फुल्छ।  

खुशी 0%
दुखी 0%
अचम्मित 0%
हास्यास्पद 0%
क्रोधित 0%
अर्को समाचार
Download Nagarik App
Download Nagarik App