coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
अन्य

सधैं खुसी दम्पती

नेपाली साहित्य, खेलकुद र चित्रकला विधामा सक्रिय नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान (नाफा) का प्राज्ञ रमेशनाथ खनाल र उनकी श्रीमती रीता खनाल वैवाहिक सम्बन्धमा बाँधिएको ४७ वर्ष भइसक्यो। अहिलेसम्म न त एक अर्कामा मनमुटाव भयो, न रिस राग नै।

यत्तिका वर्षमा दुवैले संघर्षको स्मरण गर्दै प्राज्ञ रमेशनाथ खनाल भन्छन्, ‘दुवैले एक अर्काको भावनाको सम्मान गर्न जानेर होला, आजसम्म खुसीसाथ मिलेर बसेका छौँ।’

लाजिम्पाटस्थित अरुपण आर्ट ग्यालरीकी अध्यक्ष रीता बेलाबखत चित्रकला कोर्न तम्सिन्छन्। छेउमा रहेका खनाल अझ राम्रोसँग गर्न सकिन्छ हौ भनेर उनलाई प्रोत्साहित गरिरहेका हुन्छन्। मूर्तिकलामा रुचि राख्ने रीताले २० वटा जति मूर्ति बनाएर धरानमा प्रदर्शनीसमेत गरेकी थिइन्। विसं. २०४५ सालको भूकम्पमा घर भत्कियो। सबै मूर्तिहरु पुरिएपछि उनले मूर्तिकला बनाउन छाडिदिएको प्राज्ञ खनाललाई दुःख लाग्छ।

विसं. २००५ सालमा धरानमा जन्मिएका रमेश खनाल अर्थात् रमेशनाथ खनाल, बुवा रघुनाथ खनाल र गंगादेवी खनालका एक्लो छोरा हुन्। उनका तीन बहिनीहरु छन्। बुवा रघुनाथ पत्रकार, साहित्यकार, खेलाडी र नगरपालिकाको प्रधानपञ्च भएकाले उनले धेरै विधामा काम गर्न सकेको बताउँछन्। विसंं. २०२१ मा धरान पब्लिक हाई स्कुलबाट एसएलसी दिएका उनी फेल भएका थिए। धरानको महिन्द्र क्याम्पसमा बिकम सिध्याएर त्रिभुवन विश्वविद्यालयमा एमकम गर्न आएका थिए। त्यसबेला उनी ८१ प्रतिशत ल्याएर बोर्डको विद्यार्थी भएका थिए।

खेलकुद
धरानको ब्रिटिस क्याम्पमा मिस्टर धनकुटा कप सिंगापुर बडिबिल्डर गणेश प्रधान आएपछि उनको जीवनको आधार परिवर्तन भयो। उनलाई गुरु बनाएर कलकत्ताबाट सामानहरु मगाएर धरान डाँफे जिम्नाजियम युथ क्लब सञ्चालनमा आयो। विसं. २०२५ सालताका दुई वर्ष प्रशिक्षण लिएपछि विसं. २०२७ सालमा मिस्टर धरान प्रतियोगिताको आयोजना भएको थियो। उनी पहिलो मिस्टर धरान भनेर परिचित छन्। धरानमा विभिन्न गतिविधिमा सक्रिय हुँदा उनी लाहुर जाने ब्रिटिस आर्मीमा पनि भिडे। त्यहाँ फेल भएपछि सेकेण्ड लेफ्टिनेन्टमा जान भिडेका थिए। त्यहाँ पनि टेस्टमा फेल गरिदियो।

त्रिभुवन विश्व विद्यालयमा पढ्न आउँदा उनको ज्यान देखेर सुरुमा सबै तर्सिएका थिए। सबैसँग घुलमिल भएपछि भने ताहाचलस्थित होस्टलमा जिमखाना खुल्यो। त्यसलगत्तै विसं. २०३१ सालमा ठमेलको एमेच्युर एथ्लेटिक्स युनियनले मिस्टर काठमाडौंको आयोजना गर्ने भएको थियो। सो प्रतियोगितामा तेस्रो भएपछि उनी मेचीदेखि महाकालीसम्मका जिल्लामा पुगेर प्रशिक्षण दिने अवसर पाए। ‘जहाँ गए पनि तेल लगाएर बडी प्रदर्शन गर्नुपर्ने हुन्थ्यो। कात्तिकको जाडोको बेला मन्त्रीसँग हुम्ला हिँडेका थियौं। जुम्मामा साँझ बडी प्रदर्शन गरियो। भोलिपल्ट मलाई राक्षस सम्झेर बजार बन्द गरिएछ। त्यो घटनापछि मैले बडी प्रदर्र्शन गर्न छाडिदिएँ। त्यसपछि प्रशिक्षण दिन सुरु गरेको थिएँ।’

७१ वर्षे रमेश खनाल शारीरिक सुगठनका खेलाडी थिए। फाट्टफुट्ट भइरहेको प्रशिक्षणलाई एकत्रित गरेर २०३५ सालमा भारत्तोलन तथा शारीरिक सुगठन संघ स्थापना भयो। त्यसपछि नेपालभर क्लब खोल्ने प्रचलन बढ्यो। २०४८ सालमा राष्ट्रिय खेलकुद परिषद् (राखेप) अन्तर्गत रहेर नेपाल शारीरिक सुगठन संघको स्थापना भएर काम सुरु भयो। त्यसपछि मिस्टर नेपाल नामक शारीरिक सुगठन प्रतियोगिता सुरु भएको थियो।

उनी १९७८ को दशकमा जापानमा आयोजना भएको मिस्टर युनिभर्सको निर्णायक भएका थिए। त्यसबेला हालका हलिउड अभिनेता आर्नोल्ड श्वाजनेगर मिस्टर युनिभर्स घोषित भएका थिए। वल्र्ड क्लास निर्णायकको मान्यता पाएपछि उनी सन् १९७९ मा भारत्तोलनको प्रशिक्षण लिएका थिए।

त्यसबेला धिरेन्द्र सरकारले जीवनकुञ्जमा बोलाएर मनोविज्ञानमा स्नाकोत्तर अध्ययनका लागि तीन वर्ष जर्मन जाने अवसर पाएको एक हप्तामा उनले जर्मन पुगेर अध्ययन सुरु गरिसकेका थिए। ‘अध्ययनको क्रममा पिएचडीको अवसर पाएका थिए। नेपाल फर्किएपछि राखेपको सदस्य सचिव इन्द्रबहादुर शाहीले पछि जानु भनेका थिए। अहिले भने पिएचडी गर्न पाइएन भन्ने थकथक हुन्छ,’ उनी भन्छन्।

राखेपअन्तर्गतको भारत्तोलन संघको अध्यक्षसमेत भएका थिए। इन्टरनेसनल वेटलिफ्टिङ फेडेरेसनको वल्र्ड क्लास निर्णायकको मान्यता पाएका थिए। सन् १९८८ मा आयोजना भएको ओलम्पिकमा वेटलिफ्टिङकोे निर्णायक बन्ने नेपाली उनी मात्र भएको दाबी उनको छ।

चित्रकला
दाजु गोविन्द खनालले (ठूलाबाको छोरा) भित्तामा बनाएको फ्रेस्को आर्टबाट प्रभावित उनले आठ कक्षा पढ्दा लेलिन क्यानेडी र बीचमा आफूसहितको चित्र पेन्सिलले कोरेका थिए। आइकम सिध्याएताका कमल पोखरीको पार्क ग्यालरी सञ्चालक कलाकार रामानन्द जोशी धरानमा भेटिए। उनले काठमाडौं आएर चित्रकला सिकाउने बताएका थिए। टियुमा दिउँसो पढ्थे साँझ पार्क ग्यालरी जान्थे। कलासम्बन्धी तीनवर्षे अध्ययनको क्रममा उनको परिचय किरण मानन्धर, श्यामलाल चित्रकार र हिरालाल डंगोललगायतका कलाका विद्यार्थीसँग भयो।

चारवटा कविता सङ्ग्रह र तीनवटा कथा संग्रह निकालेका उनले अध्ययन सिध्याएपछि फरक शैलीको चित्रकला बनाउन लागी परेका थिए। त्यसताका गीतकार ईश्वर बल्लभले उनलाई अरुपण चित्रकला बनाउने सल्लाहदिएका थिए। त्यसबेला अरुपण चित्रकलाबारे स्वःअध्ययन गरेका थिए। ‘निश्चित विम्ब लिएर बनाइने कला अमूर्तशैली भनेको अरुपण कला हो। यसमा स्वतन्त्रता हुन्छ,’ उनी भन्छन्।

प्रयोगात्मक चित्रहरु बनाउन रुचाउने उनले अहिलेसम्म ३३ पटक एकल चित्रकला प्रदर्शनी गरिसकेका छन्। नेपालमा सबैभन्दा सानो एक इन्चबाई एक इन्चको चित्रकला बनाएको दाबी उनको छ।

विवाह
कमलपोखरीमा डेरामा बहिनीसँग बसिरहेका खनाललाई पहिलोपटक भाउजुले नाता पर्ने बहिनीसँग विवाह गर्न आग्रह गरेकी थिइन्। आग्रह टार्न नसकेपछि उनी भाउजुसँग केटी हेर्न भनेर गएका थिए। केटी नभेटिएपछि सामान्य परिचय गरेर फर्किएका थिए। त्यसको केही दिनपछि लैनचौर मोडमा साथीले परबाट केटी देखाई दिएपछि सरासर गएर ‘तिम्रो नाम के हो ?’ भनेर सोधेको अझ उनी स्मरण गर्छन्।

विसं. २०२९ साल वैशाख २५ मा उनको विवाहमा बालकृष्ण सम, अम्बर गुरुङ र ईश्वर बल्लभलगायतका साहित्यिक व्यक्तित्वहरु जन्ती भएर गएका थिए। विवाहअघि बालकृष्ण समलाई कलमपोखरीस्थित डेरामा लगेर हुनवाला श्रीमतीको फोटो देखाएको प्राज्ञ रमेश खनालले बताए।

भर्खरै पद्मकन्या क्याम्पसमा डिप्लोमा गरिरहेकी २२ वर्षीया रीता खनाललाई त्यसताका विवाहको कुरा थाहा थिएन। ‘क्याम्पस गयो आयो त्यस्तो खालको दिनचर्या थियो। हामीहरु दुईजनालाई चिन्ने मेरो नातेदारले उहाँलाई म देखाइदिएको रहेछ। सामान्य कुराकानी भएको थियो। त्यसको ३ महिनापछि विवाहको कुरा आयो, सुरुमा बुवा मान्नु भएको थिएन। सबै बुझेपछि विवाहको कुराकानी अघि बढेको थियो। कमलपोखरीको डेरानजिक मेरो बुवाको अफिस थियो। त्यही अफिसमा उहाँको परिवार र मेरो भेट भएको थियो।’ सबै कुरा मिलेपछि विवाह भयो।

विवाहलगत्तै नेसनल टे«डिङमा काम गर्न थालेपछि त्यहीँबाट प्राज्ञ खनाल युएनको प्रोजेक्टहरुमा जाने अवसर पाएका थिए। तेस्रो श्रेणीको जागिरबाट दोस्रो श्रेणी प्रमोसनसहित उनी राखेपमा सरुवा भएर पढ्न गएका थिए।

उनीहरुका एउटा छोरा र दुईवटी छोरी छन्। पेशाले वैज्ञानिक उनीहरुका छोरा राजिम अमेरिकाको क्यालिफोर्नियामा श्रीमती र छोरीसहित बसोबास गर्छन्। जेठी छोरी रुरु बेलायतको बैंकमा जागिरे छिन्। कान्छी छोरी रुविना भने अस्ट्रेलियाबाट फर्किएर आफ्नै अफिस खोलेकी छिन्। कहिलेकाहीँ उनी चित्रकला बनाउँछिन्। दशैंताका उनको चित्रकला प्रदर्शनीको आयोजना हुँदैछ।

खनाल दम्पती हरेक शनिबार विगत १५ वर्षदेखि साई केन्द्रमा बिहान डेढ घण्टा आर्ट सिकाउँछन्। उनीहरुको अरुपण आर्ट ग्यालरीमा सरकारी स्कुलका विद्यार्थी चित्रकला सिक्न आउँछन्।

प्रकाशित: ११ असार २०७६ ०९:२६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App