८ वैशाख २०८१ शनिबार
विचार

बालबालिका अनुशासित बनाउने उपाय

जब बालबालिकालाई दण्डसजाय दिइन्छ तब उनीहरूले त्यसबाट आफूलाई भएको पीडा मात्र मनन गर्छन्, आफूले सुधार गर्नुपर्ने कुरामा उनीहरूको ध्यान जाँदैन। त्यसैले बालबालिकाले फेरि गल्ती दोहो-याउने सम्भावना रहन्छ।

राजन बुर्लाकोटी
व्यवहार सुधार्ने वा सिकाउने नाममा बालबालिकालाई कुटपिट गर्ने, शारीरिक कष्ट दिने वा मानसिक आघात पर्नेगरी होच्याउने, तर्साउने, अपमान गर्ने वा गिज्याउने गरिन्छ। जसलाई अनुशासनका नाममा दिइने दण्डसजाय भनिन्छ। 

अनुशासनका नाममा दिइने दण्डसजाय निम्न प्रकारका छन्ः 

शारीरिक दण्डसजायः साना बालबालिकालाई चुप लगाउन हल्लाउने, थुक्ने, हातमा, गालामा वा शरीरका अन्य भागमा हात वा लट्ठी, कोर्रा, पेटी, जुत्ता, डस्टरजस्ता वस्तुले पिट्ने, झटारो हान्ने, हिर्काउने, चिमोट्ने, उचालेर पछार्ने, समातेर झकझकाउने, तातो वस्तुले डाम्ने, आगोले पोल्ने, तातो पानी खन्याउने, कुखुरो बनाउने, कष्ट हुनेगरी उभ्याउने, साथीलाई पिट्न लगाउने, कान निमोठ्ने, कान समातेर उठबस गराउने, सिस्नो लगाउने, एउटा खुट्टा टेकेर उभिन लगाउने आदि।

मानसिक दण्डसजायः आँखा तरेर हेर्ने, ठूलो स्वरले हप्काउने, अपमानित गर्ने, शौचालय वा एकान्तमा थुन्ने, गाली गर्ने, अरूसँग दाँजेर होच्याउने, गिज्याउने, कमजोर वा नजान्ने भनी हतोत्साहित गर्ने आदि।

बालबालिकालाई के–कस्ता ठाउँमा अनुशासनका नाममा दण्डसजाय हुने गर्छ ?
बालबालिकालाई घर, विद्यालय, दिवा स्याहार केन्द्र, बालगृह, खेल्ने स्थान तथा सार्वजनिक स्थलहरूमा समेत अनुशासन कायम गर्ने नाममा शारीरिक तथा मानसिक दण्डसजाय हुने गर्छ।

सामान्य दण्डसजायले पनि बालबालिकालाई असर गर्छ र ?
सामान्य दण्डसजायले पनि त्रास सिर्जना गर्ने हुनाले बालबालिकाको शारीरिक, बौद्धिक तथा मानसिक विकासमा तत्कालीन र दीर्घकालीन नकारात्मक असरहरू देखा पर्छन्। आवेशमा आएका बेला आफूउपर उचित नियन्त्रण नहुने हुनाले थोरै बल प्रयोग गर्ने उद्देश्य भए पनि गम्भीर चोटपटक लाग्ने, बालबालिकाको अंगभंग हुने र कतिपय अवस्थामा मृत्युसमेत हुने खतरा रहन्छ। साना बालबालिकालाई चुप लगाउन हल्लाउँदा उनीहरूको मस्तिष्कमा चोट पुगी मृत्युसमेत हुन सक्छ। सामान्य भनिएको दण्डसजाय भोग्नुपर्दासमेत बालबालिकाले हीनताबोध र अपमानित महसुस गर्छन्।

दण्डसजायको वातावरणमा हुर्किएका बालबालिकाको मस्तिष्क विकासमा बाधा पुग्ने भएकाले उनीहरूको बौद्धिक क्षमतामा समेत असर पर्छ। उनीहरूमा आत्मविश्वास कम हुने, अभिभावक वा अन्य व्यक्तिसँग सुमधुर सम्बन्ध कायम नरहने, नकारात्मक सोच विकास हुनेजस्ता समस्या आउन सक्छन्। त्यसैगरी बाल्यकालमा दण्डसजायमा पारिएका व्यक्तिले हिंसा र बदलाको भावना लिने गरेको पाइन्छ। बाल्यकालमा हिंसाबाट पीडित व्यक्ति हिंस्रक वा आपराधिक प्रवृत्तिमा संलग्न भएका उदाहरण प्रशस्त छन्।

दण्डसजायले बालबालिकालाई मात्र होइन, सजाय दिनेलाई पनि असर गर्छ। आवेशमा आएर बालबालिकालाई शारीरिक वा मानसिक दण्डसजाय दिने अभिभावक पछि पछुतो मान्छन्। आफ्नो व्यवहारका कारण उनीहरू आफैँ पश्चात्ताप गर्छन् र उनीहरूको मानसिक स्वास्थ्यमा समेत असर पर्ने सम्भावना हुन्छ।

दण्डसजाय नदिए बालबालिका अनुशासनहीन हुँदैनन् र?
कतिपय मानिसलाई बालबालिकालाई डर नदेखाइ माया मात्र दिएर हुर्काए उनीहरू अनुशासनहीन हुन्छन् र भनेको टेर्दैनन् भन्ने लाग्छ। वास्तवमा अनुशासन र दण्डसजायको कुनै सम्बन्ध छैन। वास्तविक अनुशासन बल प्रयोग गरेर हासिल हुँदैन। दण्डसजायका माध्यमबाट क्षणिक रूपमा बालबालिकालाई कुनै व्यवहार गर्न बाध्य पार्न सकिएला तर यसबाट उनीहरूको भित्री स्वभावमा परिवर्तन आएको हुँदैन। डरका कारण अभिभावक वरिपरि भएका बेला एक किसिमको व्यवहार गरे पनि अरू बेला अर्कै व्यवहार गर्छन्।

जब बालबालिकालाई दण्डसजाय दिइन्छ तब उनीहरूले त्यसबाट आफूलाई भएको पीडा मात्र मनन गर्छन्, आफूले सुधार गर्नुपर्ने कुरामा उनीहरूको ध्यान जाँदैन। त्यसैले बालबालिकाले फेरि गल्ती दोहो¥याउने सम्भावना रहन्छ। दण्डसजायको अभ्यासले बालबालिकालाई आफ्नो गल्ती महसुस गराइ सही बाटोमा लाग्न प्रेरित गराउनुको सट्टा डर र त्रासमा हुर्कन सिकाउँछ। उनीहरूले दण्डसजाय दिनेलाई आदर गर्न सक्दैनन्। डर र त्रासका कारण बालबालिका अलमलिन्छन् र सही र गलत निर्णय गर्न झन् असमर्थ हुन्छन्।

दण्डसजाय नदिनु भनेको बालबालिकाको व्यवहार सुधार्न केही नगर्ने भनेको होइन। बालबालिकासँग सञ्चार तथा सकारात्मक माध्यमबाट अनुशासन कायम गर्न सकिन्छ। अनुशासनका लागि विभिन्न तŒव आवश्यक पर्छ, जस्तैः कुनै कुरा गर्न वा नगर्नाका कारण थाहा पाउनु, त्यसको परिणाम बुझ्नु, त्यससम्बन्धी सीप र उत्प्रेरणा हुनु आदि। दण्डसजायका माध्यमबाट अनुशासनका कुनै तत्त्व प्राप्त हुन सक्दैन। बरु दण्डसजाय दिनाले आफूले भनेको जस्तो गराउन हिंसा गर्न सकिने रहेछ भनी बालबालिकालाई गलत सन्देश दिन्छ।

हामी पनि दण्डसजाय भोगेरै यहाँसम्म पुग्न सफल भयौँ त, होइन र?
कुनै पनि व्यक्तिको सफलताको सम्भावना सजिलै मापन गर्न सकिँदैन। दण्डसजाय नभोगेको भए आजको सफलता हासिल हुँदैनथ्यो भन्ने तर्क गरिन्छ। तर दण्डसजाय नभोगेको भए अझ सफल भइन्थ्यो भनेर पनि तर्क गर्न सकिन्छ। विभिन्न अध्ययनले पुष्टि गरेअनुसार डर, त्रास र हिंसाको वातावरणले मानिसको आत्मविश्वास तथा मस्तिष्क विकासमा नकारात्मक असर पार्ने हुनाले दण्डसजायका कारण सफलता प्राप्त भएको तर्कसँग सहमत हुन सकिँदैन।

यस विषयमा के कस्तो कानुनी व्यवस्था छ?
कुनै वयस्क व्यक्तिले अर्को वयस्क व्यक्तिलाई कुटपिट वा गाली गरेमा गैरकानुनी कार्य ठहर्छ, तर बालबालिकालाई कुटपिट वा गाली गरेमा अनुशासन कायम गरेको भनी छुट दिइनु न्यायसंगत हुन सक्दैन। बालबालिकालाई वयस्कको तुलनामा थप संरक्षण आवश्यक पर्छ, तसर्थ कुटपिट तथा गाली बेइज्जतीसम्बन्धी कानुनको संरक्षणबाट बालबालिकालाई वञ्चित गरिनु हुँदैन।

नेपालको संविधानको धारा ३९ ले कुनै पनि बालबालिकालाई घर, विद्यालय वा अन्य जुनसुकै स्थान र अवस्थामा शारीरिक, मानसिक वा अन्य कुनै किसिमका यातना दिन नपाइने व्यवस्था गरेको छ र त्यस्तो कार्य कानुनबमोजिम दण्डनीय हुने र पीडित बालबालिकालाई पीडकबाट क्षतिपूर्ति पाउने हक हुने भनी उल्लेख गरेको छ।

बालबालिका सम्बन्धी ऐन, २०७५ को दफा ६६(२)(घ) ले घर, विद्यालय वा जुनसुकै स्थानमा शारीरिक वा मानसिक दण्ड दिने वा अमर्या्दित व्यवहार गर्ने कार्यलाई बालबालिकाविरुद्धको हिंसा भनी उल्लेख गरेको छ र सोही ऐनको दफा ७२(३)(क) ले त्यस्तो कार्य गर्ने व्यक्तिलाई ५० हजार रूपैयाँसम्म जरिबाना र १ वर्षसम्म कैद हुने व्यवस्था गरेको छ। साथै सो ऐनको दफा ७३(१) मा त्यस्तो कसुरबाट पीडित बालबालिकाको शिक्षा, शारीरिक तथा मानसिक स्वास्थ्य, विकास र परिवारमा पुगेको हानिसमेतको विचार गरी उचित क्षतिपूर्ति कसुरदारबाट भराइदिने व्यवस्था उल्लेख गरिएको छ। सोही ऐनको दफा ६७(१) ले सार्वजनिक वा निजी संस्थामा काम गर्ने व्यक्तिले त्यस्तो कसुर गरेको ठहरे निजलाई प्रचलित कानुनबमोजिम बर्खास्त गरी भविष्यमा बालबालिकासँग प्रत्यक्ष सम्बन्ध राखी गर्नुपर्ने कार्यका लागि वा त्यस्तो निजी संघसंस्थामा नियुक्ति, मनोनित वा निर्वाचित हुन १० वर्षसम्म योग्य नमानिने व्यवस्था गरेको छ।

दण्डसजाय नदिई बालबालिका कसरी अनुशासित बनाउन सकिन्छ त ?
वास्तविक अनुशासन (स्वअनुशासन) हिंसा प्रयोग नगरी मात्र कायम गर्न सकिन्छ। बालबालिकाको उमेर र परिस्थितिअनुसार सकारात्मक अनुशासनका फरक–फरक माध्यम हुन्छन्। सामान्यतया सकारात्मक अनुशासन कायम राख्न निम्न कुरामा ध्यान दिनुपर्छः
१. तत्कालका लागि आफ्नो सजिलो नसोचेर बालबालिकाले दीर्घकालीन रूपमा के सिक्नुपर्छ, उनीहरूको व्यवहार कस्तो हुनपर्छ र के गर्दा उनीहरूलाई राम्रो हुन्छ भनी विचार गर्नुपर्छ।
२.    बालबालिकालाई के गर्न हुने वा नहुने प्रस्ट जानकारी दिनुपर्छ। किन त्यस्तो गर्न हुन्छ वा हुँदैन भनी उनीहरूले बुझ्ने भाषामा बताउनुपर्छ। बालबालिकाबाट अभिभावकले कस्तो व्यवहार अपेक्षा गरेको हो स्पष्ट जानकारी दिनुपर्छ। अभिभावकको व्यवहारले बालबालिकाको सिक्ने प्रक्रिया र समस्या समाधान गर्न सक्ने सीप विकासमा सहयोग पु-याउनुपर्छ। आफ्नो व्यवहारको परिणाम के हुन सक्छ भनी बालबालिकालाई आफैँ सोच्न प्रेरित गर्नुपर्छ।
३.    बालबालिकाले जे जस्तो व्यवहार गरे पनि स्नेह व्यक्त गर्नुपर्छ र बालबालिकाको भावनालाई सम्मान गर्नुपर्छ। यस्तो व्यवहार गर्नाले बालबालिकाले सधैँ अभिभावकलाई आफ्नो नजिक ठान्छन् र बालबालिकासँगको सम्बन्ध सुमधुर हुन्छ।
४.    कुन उमेर समूहका बालबालिकाले कसरी सोच्छन्, कस्तो व्यवहार गर्छन्, उनीहरूको आवश्यकता के हो भनी जान्नु आवश्यक हुन्छ र त्यस्तो आवश्यकताप्रति संवेदनशीलता प्रकट गर्नुपर्छ।
५.    बालबालिकाले सुधार्नुपर्ने व्यवहारबारे उनीहरूले नकारात्मक व्यवहार देखाएका बेलाभन्दा कुरा सुन्ने अन्य उपयुक्त समयमा सम्झाउनु प्रभावकारी हुन्छ।

दण्डसजायले झन् हानि गर्छ त भनियो तर रिस उठेका बेला, थकाइ लागेका बेला, हतार भएका बेला सकारात्मक अनुशासन कहाँ सम्भव छ र?
गल्ती वयस्कहरूले पनि गर्छन् तर जसरी उनीहरूउपर हिंसा स्वीकार्य हुँदैन त्यसैगरी बालबालिकाविरुद्ध हिंसा गर्ने छुट हुन सक्दैन। यदि तपाईंलाई समस्या परेको छ, रिस उठेको छ वा हतार भएको छ र बालबालिकालाई गाली गर्ने वा पिट्ने सोच आएको छ भने याद गर्नुहोस् त्यसबेला बालबालिकालाई महत्त्वपूर्ण सीप सिकाउने अवसर पनि हो।

बालबालिकाले कुनै दिन त्यस्तै अवस्था सामना गर्नुपरेमा उनीहरूले पनि हिंसा गरुन् भन्ने चाहनु हुन्छ वा संयमित भएर व्यवहार गरुन् भन्ने चाहनु हुन्छ? बालबालिकाले अभिभावकको व्यवहारबाटै सिक्ने भएकाले जतिसुकै प्रतिकूल अवस्थामा पनि संयमित भएर व्यवहार गरिएको खण्डमा बालबालिकाले पनि त्यस्तो अवस्थाको सामना गर्न सिक्नेछन्। अभिभावकको जे जस्ता समस्या भए पनि त्यसको रिस बालबालिकामा पोख्नु कदापि न्यायोचित हुँदैन। संसारका सबै समस्या समाधान नहुँदासम्म बालबालिकाले हिंसा सहेर बस्नु पर्ने होइन।

बालसंरक्षण अधिकृत, युनिसेफ नेपाल

 

प्रकाशित: ११ असार २०७६ ०७:२१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App