८ वैशाख २०८१ शनिबार
अन्तर्राष्ट्रिय

‘बढ्दो अमेरिका विरोधी धारणा प्रमुख कारण’

अमेरिकी विदेशमन्त्री माइक पोम्पेओ।

नयाँ दिल्ली – अमेरिकी विदेशमन्त्री माइक पोम्पेओले आउँदो बिहीबार गर्ने भनिएको श्रीलंका भ्रमण अन्तिम समयमा आएर रद्द भएको छ। विदेशमन्त्री पोम्पेओले आउँदो बिहीबार कोलम्बोको भ्रमण गर्ने कार्यतालिका रहेको थियो। श्रीलंकामा स्थापना गर्न प्रस्तावित अमेरिकी सैन्य शिविरविरुद्ध बढ्दो जनभावनाका कारण अन्तिम समयमा आएर उनको भ्रमण रद्द भएको बताइएको छ।

कोलम्बोस्थित अमेरिकी मिसनले भने विदेशमन्त्री पोम्पेओको कार्यतालिका नमिलेका कारण जुन २७ मा हुने भनिएको भ्रमण रद्द भएको बताएको छ। गत अप्रिलमा श्रीलंकामा भएका आत्मघाती आक्रमणका पीडितलाई सहानुभूति प्रकट गर्न पोम्पेओ कोलम्बो आउन लागेको बताइएको थियो। कोलम्बोस्थित मिसनले विदेशमन्त्री पोम्पेओले ‘निकट भविष्यमै श्रीलंकाको भ्रमण गर्ने आशा गरेको’ पनि उल्लेख गरेको छ।

कार्यतालिका नमिलेर पोम्पेओको भ्रमण रद्द भएको कोलम्बोस्थित अमेरिकी मिसनले बताए पनि श्रीलंकामा बढ्दो अमेरिका विरोधी धारणाका कारण भ्रमण रद्द भएको बताइएको छ। ‘जी–ट्वान्टी’ सम्मेलनका लागि जापानको ओसाका जानुपूर्व भारत भ्रमणमा रहेकै बेला पोम्पेओले छोटो समय कोलम्बोको भ्रमण गर्ने कार्यतालिका यसअघि सार्वजनिक गरिएको थियो।
कोलम्बोमा रहँदा उनले श्रीलंकाली प्रधानमन्त्री रनिल विक्रमासिंघेसँग प्रतिआतंकवाद र इन्डो–प्यासिफिक क्षेत्रलगायतका विषयमा छलफल गर्ने अनुमान गरिएको थियो। हिन्द महासागर क्षेत्रमा बढ्दो चिनियाँ प्रभावलाई रोक्न संयुक्त राज्य अमेरिकाले श्रीलंकामा रणनीतिक उपस्थिति जनाउन खोजिरहेको छ।

प्रकाशित: ११ असार २०७६ ०४:२७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App