८ वैशाख २०८१ शनिबार
समाज

शेर्पाको स्मृतिमा बन्ने गुम्बा विवादमा

कपिलवस्तु – २५६३औं बुद्धजयन्तीको अवसरमा गत जेठ ४ गते लुम्बिनीमा पर्यटन उद्यमी स्वर्गीय आङछिरिङ शेर्पाको स्मृतिमा बन्न लागेको बौद्ध गुम्बाको शिलान्यास गरिएको थियो। त्यसपछि व्यक्तिको नाममा गुम्बा बनाउन हुने वा नहुने विषयमा टीकाटिप्पणी सुरु हुनुका साथै विवादित बनेको छ। पर्यटन विकासमा शेर्पाले योगदान दिएको भन्दै हतारमा प्रधानमन्त्रीद्वारा गुम्बाको शिलान्यास गराइएको थियो। त्यो कार्यक्रम कार्यसूचीमा समेत थिएन। साथै शेर्पा प्रधानमन्त्रीनिकट व्यक्ति हुन् भन्दै विवाद सुरु भएको बताइएको छ।

त्यसरी व्यक्तिकै नाममा गुम्बा बनाउन दिनु र प्रधानमन्त्रीले नै शिलान्यास गर्नु गलत रहेको ‘लुम्बिनी बचाउ संघर्ष समिति’का संयोजक रामविकास चौधरी बताउँछन्। ‘लुम्बिनीजस्तो अन्तर्राष्ट्रिय सम्पदामा शेर्पाको नाममा हचुवाको भरमा गुम्बा बनाउन दिनु गलत कदम हो,’ उनले भने, ‘यसरी व्यक्तिकै नाममा गुम्बा बनाउन दिँदै जाने हो भने त्यसको कुनै अर्थ हँुदैन।’ लुम्बिनीमा कुनै संरचना बनाउन इजाजत दिँदा लुम्बिनी विकास ऐन २०४२ तथा जापानी प्राफेसर केन्जो टोङ्गेले बनाएको गुरुयोजनाअनुसार हुनुपर्ने उनी बताउँछन्। लुम्बिनी विकास कोषका कार्यवाहक सदस्यसचिव सरोज भट्टराईले उद्यमी शेर्पाको स्मृतिमा प्रधानमन्त्रीले गुम्बाको शिलान्यास गरेपछि मात्र आफूहरूलाई थाहा भएको बताए।

व्यक्तिको नाममा गुम्बाको शिलान्यास भएको कुराको विरोध भएपछि त्यहाँ राखिएको बोर्ड हटाउन लगाइएको सदस्यसचिव भट्टराईले जानकारी दिए। ‘हामीले त्यहाँ गुम्बा बनाउन सोलुखुम्बुको एक संस्थालाई कोषको निर्णयअनुसार जग्गा उपलब्ध गराएका थियौं, शेर्पाकोे नाममा गुम्बा बनाउन कुनै जग्गा दिएका छैनौं,’ उनले भने। उनका अनुसार सोलुखुम्बुको श्री टासी साङछोलिङ नामक गुम्बालाई नियमअनुसार ८० मिटर लम्बाइ ८० मिटर चौडाइ जग्गा उपलब्ध गराइएको हो। त्यही संस्थाले नै आङछिरिङ शेर्पाको स्मृतिमा गुम्बा बनाउन लागेको उनले बताए। उक्त गुम्बाले नियमानुसार लाग्ने धरौटीसमेत कोषमा जम्मा गरिसकेको छ।

जापानी प्रोफेसर टाङ्गेको गुरुयोजनाअनुसार नेपालसहित विभिन्न १८ देशका विभिन्न संघसंस्थालाई ४२ वटा गुम्बा बनाउन इजाजत दिइएको छ। जसअनुसार २६ वटा गुम्बा मूर्ति बनिसकेका छन् भने ३६ ले सम्झौता गरेको सदस्यसचिव भट्टराईले बताए। ६ वटा संस्था भने गुम्बाका लागि सम्झौता गर्न आएका छैनन्। सम्झौता गर्न नआएकामध्येबाटै कट्टा हुने गरी श्री टासी साङगछोलिङ गुम्बालाई लुम्बिनीमा गुम्बा बनाउन जग्गा उपलब्ध गराइएको हो। लुम्बिनीमा श्रीलंका, मेनमार, थाइल्यान्ड, भारत, अमेरिका, कोरिया, चीन, फ्रान्स, भियतनाम, अस्ट्रिया, क्यानडा, जापान, मलेसिया, जर्मनी र सिंगापुरका संस्थाले गुम्बा बनाउन जग्गा पाएका छन। तीमध्ये श्रीलंका, चीन, म्यानमार र थाइल्यान्ड सरकारले आफ्नै लगानीमा गुम्बा बनाएका छन्। लुम्बिनीमा थाइल्यान्ड र चीनका तीन÷तीनवटा गुम्बा छन् भने कम्बोडियाका दुईवटा रहेका छन्।

प्रकाशित: ११ असार २०७६ ०३:०४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App