७ वैशाख २०८१ शुक्रबार
अर्थ

धादिङका ५ स्थानीय तहले ल्याएनन् बजेट

धादिङ – धादिङको पाँच स्थानीय तहले तोकिएको मिति असार १० गते नीति तथा कार्यक्रम र बजेट ल्याउन सकेनन्। दुई नगरपालिकासहित १३ वटा स्थानीय तह रहेको जिल्लाको धुनीबेसी नगरपालिका, गल्छी गाउँपालिका, रुविभ्याली गाउँपालिका, त्रिपुरासुन्दरी गाउँपालिका र गंगाजमुना गाउँपालिकाले नीति तथा कार्यक्रम र बजेट ल्याउन नसकेका हुन्। 

राजधानी काठमाडौँसँग जोडिएको धुनीबेसी नगरपालिकाले तोकिएको समयमा नीति, तथा कार्यक्रम र बजेट ल्याउन सकेनन्। नगर कार्य समितिका सदस्य काली मिजारको असामयिक मृत्यु भएका कारण नगरसभा नबसेको नगरका मेयर बालकृष्ण आचार्यले जानकारी दिए। नगरसभाको तयारी भएपनि असामयिक मृत्युका कारण केही समय पर धकेल्लिएको छ। 

गल्छी गाउँपालिकाको पनि नीति तथा कार्यक्रम, बजेट प्रस्तुत गर्ने मिति धकेल्लिएको छ। गाउँपालिकाका अध्यक्ष कृष्णहरि श्रेष्ठ अमेरिका भम्रणमा गएका कारण गाउँसभा हुन नसकेको उपाध्यक्ष राधा तिमिल्सीनाले बताइन्। ‘सम्पूर्ण तयारी भइसकेको छ’, उनले भनिन्, ‘गाउँसभाको तयारीमा छौँ, अध्यक्ष अमेरिकाबाट र्फकनुभए लगत्तै नीति तथा कार्यक्रमहरु प्रस्तुत गर्नेछौँ।’

मंगलबार गाउँसभा गर्नका लागि तयारी गरेको त्रिपुुरासुन्दरी गाउँपालिका गाउँपालिकाको पनि गाउँसभा स्थगित भएको छ। नेत्रविक्रम चन्द्र समूहले आयोेजना गरेको बन्दका कारण सभा केही दिनका लागि धकेल्लिएको अध्यक्ष शम्भू थापाले बताए। टाढा टाढावाट वडा अध्यक्ष, वडा सदस्य तथा कार्यपालिकाका सदस्यहरु आउनेपर्ने भएको र बन्दका कारण सवारी साधन नचल्दा गाउँसभा नै स्थगित गर्नुपरेको अध्यक्ष थापाले बताए।

उत्तरी धादिङमा पर्ने सबैभन्दा विकट रुविभ्याली गाउँपालिकाले पनि आवश्यक तयारी नपुगेको भन्दै नीति तथा कार्यक्रम र बजेट समयमा नै प्रस्तुत गर्न सकेनन्। तयारी नपुगेको र भौगोलिक विकटताका कारण देखाउँदै गाउँसभा गर्न नसकेको गाउँपालिकाका अध्यक्ष चेरुङ तामाङले बताए।

उत्तरी धादिङकै गंगाजमुना गाउँपालिकाले पनि तोकिएको मितिमा गाउँसभा गर्न सकेनन्। नीति तथा कार्यक्रम र बजेट तयारी नभएको भन्दै केही दिनपछि गाउँसभा बस्ने अध्यक्ष बलबहादुर अधिकारीले बताए।

स्थानीय सरकार सञ्चालन ऐन, २०७४ र सरकारी वित्तीय व्यवस्थापन ऐन, २०७४ को व्यवस्थाअनुसार प्रत्येक स्थानीय तहले असार १० गतेभित्र बजेट ल्याइसक्नु पर्ने कानुनी व्यवस्था भए पनि आवश्यक समन्वयको अभावमा बजेट ल्याउन नसकेको स्थानीय तहहरुले बताएका छन्।

जिल्लाको अन्य ८ स्थानीय तहले भने गाउँ/नगर सभा मार्फत नीति तथा कार्यक्रम र बजेट प्रस्तुत गरेका छन्। जिल्लाको बेनिघाट रोराङ गाउँपालिकाले कुल ५६ करोड, ७८ लाख ५७ हजार, गजुरी गाउँपालिका ६२ करोड ८२ लाख, ५१ हजार, सिद्धलेक गाउँपालिकाले भने नीति तथा कार्यक्रम पारित भएपछि बजेट प्रस्तुत गरिने बताएको छ। नीलकण्ठ नगरपालिका, थाक्रे गाउँपालिका, ज्वालामुखी गाउँपालिका, खनियाबास गाउँपालिका, नेत्रावती डावजोेङ गाउँपालिकाले पनि नीति तथा कार्यक्रम र बजेट प्रस्तुत गरेको छ।

स्थानीय तहहरुले जनताको आयस्रोत बृद्धि, सडक निर्माण, खाद्य सुरक्षा, स्वाच्छ खानेपानी, स्वास्थ्य, शिक्षा, कृषि, पूर्वाधार विकास र सुशासनलाई मुख्य आधार मानेर नीति तथा कार्यक्रम र बजेट विनियोजन गरेका छन्।
 

प्रकाशित: ११ असार २०७६ ०२:३८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App