८ वैशाख २०८१ शनिबार
समाज

‘तुइनेबाजे’ले पाए घर

‘तुइनेबाजे’ घरको चाबी हस्तान्तरण गरिँदै । तस्बिरः नागरिक

धादिङ – २० वर्षदेखि तुइनको लठ्ठा समाउँदै हजाराैंलाई वारपार गराइदिने ‘तुइनेबाजे’को नामले चिनिने शुक्रबहादुर चेपाङले घर पाएका छन्। धादिङको चरौदी र गोरखाको घ्याल्चोक जोड्ने त्रिशुली नदीमाथि रहेको तुइन चलाएरै उनले बिहान बेलुकीको छाक टार्दै आएका छन्।

सहाराविहीन उनको ओत लाग्ने घरसमेत नहुदाँ नदी किनारैमा रात गुजार्दै आइरहेका थिए। उनको यस्तो अवस्था देखेर चर्चित हाँस्यकलाकार कुमार कट्टेल (जिग्री) र अर्जुन घिमिरे (पाँडे) को पहलमा चेपाङका लागि घर निर्माण गरिएको हो।

८० वर्ष पार गरिसकेका चेपाङ आर्थिक अभावकै कारण तुइनका लठ्ठा तान्दै दैनिक गुजारा चलाउँदै आइरहेका छन्। ६ महिनाअघि विभिन्न सञ्चारमाध्यममा तुइनका लठ्ठा समाउँदै गरेका चेपाङको समाचार प्रकाशित भएपछि घर निर्माणका लागि युके निवासी गीता गुरुङ, साइप्रस निवासी कालिका थापा सेढाई, अष्ट्रिया बस्ने कुमार अधिकारी र दुबई बस्ने हरिचन्द्र गिरीले अभियान चलाएका थिए।

आर्थिक अभावका कारण दिनहुँ तुइन तानेर आफ्ना अशक्त छोराको समेत लालनपालन गर्दै आइरहेका छन्। धादिङको बेनिघाट रोराङ गाउँपालिका–७ मा निर्माण गरिएको घर एक कार्यक्रमका बीच हस्तान्तरण गरिएको छ। जिग्री र पाँडेले शुक्रबहादुरको हातको नङ काट्दै नयाँ घरको चाबी हस्तान्तरण गर्दा उनी खुसी भए। ‘घर थिएन, जग्गा थिएन, बस्ने ठाउँ नहँुदा नदी किनारामा रात कट्थ्यो,’ उनले भने, ‘घर पाएँ अब यो उमेरमा तुइन तान्न जाँदिन।’

शुक्रबहादुरका एक छोरा छन्। शारीरिकरूपमा अशक्त उनका छोरा बोल्न र सुन्न सक्दैनन्। सोही छोरा र आफ्नो जीविकोपार्जनका लागि उनले त्रिशूली नदीमा तुइन तान्ने काम गर्दै आएका थिए।

चरोंदीस्थित सहकारीको तरकारी संकलन केन्द्रमा तरकारी ल्याउनका लागि गोरखा जिल्लाका किसानहरुले सो तुइनको प्रयोग गर्दै आइरहेका थिए। तुइनको नजिकै दुईवटा झोलुङ्गे पुल निर्माण भएर प्रयोगमा आउँदा पनि गोरखा जिल्लाको घ्यालचोकका किसानले तुइन हटाउन नदिँदा शुक्रबहादुरले सोही तुइनबाट आउने तरकारी तानेर जीवन निर्वाह गर्दै आइरहेका थिए।

शौचालयसहित एक कोठाको एकतले घर निर्माण गरिएको छ। रोजीरोटीको जोहो गर्ने अन्य विकल्प नभएपछि बुढ्यौलीपनले छोइसक्दा समेत तुइनको लठ्ठा तान्दै आइरहेका चेपाङलाई विभिन्न निकायबाट सहयोग जुटाएर सुरक्षित घर निर्माण गरिएको अभियन्ता श्यामहरि शिवभक्तिले बताए।

खुशी 0%
दुखी 0%
अचम्मित 0%
हास्यास्पद 0%
क्रोधित 0%
अर्को समाचार
Download Nagarik App
Download Nagarik App