coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

प्रधानमन्त्रीले फेरि भाका सारे- संविधान संशेाधन यही महिनाभित्र

प्रधानमन्त्री निवास बालुवाटारमा बसेकाे कांग्रेस-माअाेवाी केन्द्र र मधेसी माेर्चाकाे बैठकमा सहभागी नेताहरू। तस्बिर: प्रधानमन्त्रीकाे सचिवालय

काठमाडौं–तिहार अगाडि नै संविधान संशाेधन प्रस्ताव दर्ता गराउने बताएका प्रधानमन्त्री पुष्पकमल दाहालले फेरि भाका सार्दै कात्तिक महिनाभित्र  संविधान संशोधन प्रस्ताव संसदमा दर्ता गर्ने बताएका छन्। आइतबार बसेको माओवादी केन्द्र, नेपाली कांग्रेस र मधेसी मोर्चाको बैठकमा प्रधानन्त्रीले कात्तिक महिनाभित्र संविधान संशोधन प्रस्ताव संसदमा दर्ता गराउने बताएका हुन्।

यसघि प्रधानमन्त्रीले अाफ्नाे भारत भ्रमण अगाडि नै संविधान संशाेधन प्रस्ताव संसदमा दर्ता गर्ने बताएका थिए। त्यसपछि प्रधानमन्त्री दसैं अगाडि नै संशाेधन प्रस्ताव दर्ता गर्ने बताएका थिए। दसैं अगाडि पनि संशाेधन प्रस्ताव दर्ता हुन नसकेपछि प्रधानमन्त्रीले तिहार अगाडि दर्ता गर्ने बताएका थिए। तर अाइतबार प्रधानमन्त्रीले कात्तिक महिनाभित्र संशाेधन प्रस्ताव दर्ता गर्ने बताएका हुन्। 

मधेसी मोर्चाका माग विषयमा छलफल गर्न बसेको बैठकमा प्रधानमन्त्री दाहालले  सबै पक्षसँग सहमति जुटाएर कात्तिक महिनाभित्रै संविधान संशोधन प्रस्ताव दर्ता गराउने आश्वासन दिएको बैठकमा सहभागी तराई मधेस सदभावना पार्टीका अध्यक्ष महेन्द्र रायले जानकारी दिए।

 

मधेसी मोर्चाका माग विषयमा छलफल गर्न बसेको बैठकमा प्रधानमन्त्री दाहालले  सबै पक्षसँग सहमति जुटाएर कात्तिक महिनाभित्रै संविधान संशोधन प्रस्ताव दर्ता गराउने आश्वासन दिए

प्रधानमन्त्रीले आफूहरुलाई बारम्बार झुक्याएको भन्दै मधेसी मोर्चाले चर्को असन्तुष्टि व्यक्त गरेपछि प्रधानमन्त्री दाहालले सत्तासाझेदार नेपाली कांग्रेस र सरकारलाई बाहिरै बसेर समर्थन गरेको मधेसी मोर्चाका नेतासँग छलफल गरेका हुन्। प्रधानमन्त्री निवास बालुवाटारमा करिव तीन घण्टा बसेको बैठकमा प्रधानमन्त्रीले मोर्चाका मागप्रति सरकार गम्भीर रहेको भन्दै समस्या समाधान गर्न लागिपरेको बताएको बैठकमा सहभागी नेताहरुले बताएका छन्। 

‘यसअघिको सरकारले मधेसी मोर्चाको कुनै माग छैन भनेर मोर्चालाई आन्दोलन गर्न बाध्य पारेको थियो,’ तमसपा अध्यक्ष महेन्द्र यादवले नागरिकन्युजसँग भने,‘तर आजको बैठकमा प्रधानमन्त्रीले मधेसको समस्या समाधान गर्न सरकार तयार छ। संविधानमा केही त्रुटीहरु छन्। यसलाई सच्याउने दिशामा सरकारले कामा गरिरहेको बताउनु भएको छ। जसलाई मोर्चाले सकारात्मक रुपमा लिएको छ।’

बैठकमा मोर्चा नेतारुले आफूहरुले ११ बुँदे र २६ बुँदे माग पहिला नै सरकारलाई बुझाइ सकेको भन्दै सो विषयमा सरकारको धारणा माग गरेका थिए। जवफमा प्रधानमन्त्रीले आफूले यही महिनाभित्रै मोर्चाको उठाउँदै आएका मागलाई सम्बोधन हुने गरी संशोधन प्रस्ताव दर्ता गराउने बताएका थिए। 

बैठकमा मोर्चाले प्रधानमन्त्रीले बारम्बार संविधान संशोधन गर्ने विषयको भाका सार्दै आएको भन्दै आपत्ति जनाएका थिए। मोर्चाका नेताहरुले प्रधानमन्त्रीले आफू भारत जानु अगाडि नै संविधान संशोधन प्रस्ताव दर्ता गराउने बताएको, त्यसपछि दसैं अगाडि, र तिहार अगाडि प्रस्ताव दर्ता गराउने बताएपनि अहिलेसम्म प्रस्ताव दर्ता नभएको भन्दै असन्तुष्टि जनाएका थिए। जवाफमा प्रधानमन्त्रीले सबै दलको सहमतिमा नै संधिवान संशोधन गर्ने पक्षमा आफू हरेको भन्दै संसदमा पेश गरिसकेको प्रस्ताव फेल नहोस भन्नेतर्फ ध्यान दिँदा केही ढिला भएको बताएको बैठकमा सहभागी एक नेताले जानकारी दिए। 

मधेसी मोर्चाले आफूहरुले उठाएका माग सम्बोधन गर्न संविधानका करिव ४० भन्दा बढी धारा संशोधन गर्नुपर्ने माग राख्दै आएको छ। तर प्रधानमन्त्री दाहालले भने संविधानका मुख्य चारवटा विषय संशोधन गर्दा  मधेसी,थारु, आदिवाजी जनजातिलगायतका माग सम्वोधन हुने सार्वजनिक अभिव्यक्ति दिँदै आएका छन्।

प्रधानमन्त्रीले सीमाकंन, नागरिकता, राष्ट्रिय सभामा प्रतिनिधित्व तथा भाषालगायतका विषमया संविधान संशोधन गरे असन्तुष्ट पक्षको माग पूरा हुने बताएका छन्। आइतबार बसेको बैठकमा पनि प्रधानमन्त्रीले आफूले चार विषयमा संधिवान संशोधन गर्न चाहेको बताएका थिए।

मोर्चाले भने पहिला संविधान संशोधन प्रस्ताव ल्याउन प्रधानमन्त्रीलाई आग्रह गरेका छन्। मोर्चा नेताहरुले अहिले यो वा त्यो पक्षलाई देखाएर सरकार उम्कन नमिल्ने भन्दै पहिला सरकारले नै प्रस्ताव ल्याउनु पर्ने बताएको नेताहरुले बताएका छन्। बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल, कांग्रेस सभापति शेरबहादुर देउवा, मधेसी मोर्चाका नेताहरु महन्थ ठाकुर, राजेन्द्र महतो, महेन्द्र राय, अशोक राईलगायतको उपस्थिति थियो।  

प्रकाशित: १४ कार्तिक २०७३ १३:५२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App