८ वैशाख २०८१ शनिबार
समाज

प्रहरी कारबाहीमा मारिएका कुमार पौडेलको गृहजिल्ला सर्लाही ठप्प

मंगलबार मध्यान्ह सुनसान पूर्व–पश्चिम राजमार्ग स्थित हरिवन बजार। (तस्बिर: टंक/नागरिक)

सर्लाही - नेत्र विक्रम चन्द विप्लव नेतृत्वले नेकपा आह्वान गरेको नेपाल बन्दका कारण सर्लाही ठप्प भएको छ। प्रहरी कारबाहीमा आफ्ना जनकपुर व्यूरो सदस्य एवं सर्लाही इन्चार्ज कुमार पौडेल मारिएको विरोधमा विप्लवले बन्द आव्हान गरेको हो।

जिल्लामा मोटरसाईकल बाहेक कुनैपनि सवारी साधन चलेका छैनन्। पूर्व–पश्चिम राजमार्ग स्थित लालबन्दी, नवलपुर, हरिवन, नयाँरोड, बागमती लगायत प्रमुख व्यापारिक केन्द्रका औषधी पसल र साना चियापसल बाहेक सम्पूर्ण पसलहरु समेत बन्द छन्। सार्वजनिक सवारी साधन नचलेका कारण सदरमुकाम मलंगवासहित दक्षिणी क्षेत्रका बरहथवा, ईश्वरपुर जस्ता ठूला व्यापारिक केन्द्रहरु समेत ठप्प छ।

विगतमा विप्लवले आव्हान गरेको बन्दमा आधासरो पसलहरु खुल्ने तथा साना सार्वजनिक सवारी साधन चल्ने गरेपनि मंगलबार भने बजार तथा यातायात पूर्ण रुपले ठप्प छ। जिल्ला निवासी विप्लव नेता पौडेलको प्रहरी कारबाहीमा मृत्यु भएको विरोध स्वरुप आयोजना गरिएको बन्द भएकाले सम्पूर्ण क्षेत्रले आ–आफ्ना व्यवसाय बन्द गरेको एक व्यापारीले बताए। ‘आफ्नै जिल्ला निवासीको मृत्यु भएको छ, त्यो पनि जिल्ला भित्रै प्रहरी कारबाहीमा’, एक व्यापारीले भने, ‘यसअघिका बन्दमा त त्यति वास्ता गरिदैन थियो, तर आज भने श्रद्दानजली’ स्वरुप पनि पसल बन्द गरियो।’

जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रतितसिंह राठौरले बन्दका क्रममा जिल्लामा कुनै अप्रिय घटना नभएको बताए। ‘अहिलेसम्म जिल्लाको अवस्था शान्तिपूर्ण रहेको छ’, प्रनाउ राठौरले भने, ‘सुरक्षाव्यवस्था कडाई गरेका छौं।’

बिहीबार दिउँसो २ बजे सर्लाहीकै लालबन्दी नगरपालिका–१ लखन्देही खोलादेखि पूर्व र चन्द्रपुर जंगल पश्चिम सडकमै प्रहरीको गोली लागेर बामगती नगरपालिका–२ निवासी ४७ वर्षीय पौडेलको मृत्यु भएको थियो। प्रहरीले भने गस्ती टोलीमाथि आक्रमण गरेपछि जवाफी कारबाहीमा पौडेलको मृत्यु भएको बताउँदै आएको छ भने विप्लव माओवादी पार्टी र मृतक पौडेलका आफन्तले नियन्त्रणमा लियर कारतापूर्वक हत्या गरिएको आरोप लगाउँदै आएका छन्।

प्रकाशित: १० असार २०७६ ०७:३२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App