८ वैशाख २०८१ शनिबार
राजनीति

विप्लवको बन्द : देशभरबाट ७ पक्राउ, २० ठाउँमा शंकास्पद वस्तु

काठमाडौं- – नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाको बन्दका कारण आज देशका विभिन्न जिल्लाको जनजीवन प्रभावित भएको छ। विभिन्न ठाउँमा शंकासपद वस्तु फेला परेका छन्। प्रहरीले देशभरको सुरक्षा व्यवस्था कडा बनाएको छ।

बन्दको क्रममा देशभरबाट ७ जना पक्राउ परेका छन्। प्रहरी प्रवक्ता विश्वराज पोखरेलका अनुसार कास्की, मकवानपुर, पश्चिम रुकुम र काठमाडौंबाट उनीहरुलाई पक्राउ गरिएको हो। काठमाडौंको सुकेधाराबाट सोमबार बिहान ३७ वर्षका भागिरथ राईलाई पक्राउ गरिएको उनले बताए। यस्तै देशका विभिन्न २० स्थानमा शंकासपद बस्तु भेटिएको पनि उनले बताए।

काठमाडौंलगायत देशभर अन्य समयभन्दा कम गाडी चलेका छन्। लामो दूरीका गाडीहरु चलेका छैनन् भने छोटो दूरीका गाडीहरु आंशिकरूपमा सञ्चालनमा आएका छन्। काठमाडौं उपत्यकामा शैक्षिक संस्थाहरु ठप्प देखिए पनि यातायातका सधान निर्वाधरुपमा गुडिरहेका छन्। बन्दको प्रभाव उपत्यकामा देखिएको छैन।

मोरङ संवाददाता विनोद सुवेदीका अनुसार मोरङको  दुई स्थानमा राखिएको बम डिस्पोज गरिएको छ। मोरङ बुढी गंगा—४ स्थित कोसी राजमार्गमा राखिएको बम र पूर्व पश्चिम राजमार्ग स्थित उर्लावारी —४मा राखिएको बम नेपाली सेनाको टोलिले डिस्पोज गरेको हो। बिराटनगरमा बन्दका क्रममा मोरङमा छिटफुट रुपमा मात्रै सवारीसाधनहरू सञ्चालन भइरहेका छन्। मोरङका शैक्षिक संस्थाहरू भने  पूर्ण रुपमा बन्द भएका छन् । 

धादिङ संवाददाता सरिता श्रेष्ठका अनुसार बन्दले पृथ्वी राजमार्ग सुनसान भएको छ। बन्दका कारण राजधानी प्रवेश गर्ने र राजधानी हुँदै पूर्व पश्चिम जाने सवारी साधन चल्न सकेको छैन्। दैनिक दश हजार भन्दा बढी सवारीसाधन आवातजावत हुने राजमार्गमा छिट्टफुट्ट मात्रै सवारी साधन चलेको ट्राफिक प्रहरी कार्यालय गजुरीका प्रमुख हेमराज घिमिरेले बताए।

उदयपुर संवाददात महेश्वर चामलिङ राईका अनुसार सदरमुकाम गाईघाटमा सुतली बम भेटिएको छ। सदरमुकाम त्रियुगा नगरपालिका १२ आदर्श टोल स्थित वडा कार्यालय नजिकै फेला परेको बम सुरक्षाकर्मीले निस्कृय पारेका छन्।

नगरपालिकाको प्रस्तावित ‘नगर नमूना मार्ग’ डिएमगेट–लक्ष्मीपुर–पोर्ताहा खण्डको डिएम गेटदेखि सुम्निमा चोकबीचमा पर्ने वडा कार्यालय र नेस्पेक उदयपुर कार्यालय नजिकै विहान ५ बजे स्थानीयले शंकास्पद बस्तु देखेर प्रहरीलाई खवर गरेकाथिए। प्रहरी टोली पुगेर हेर्दा सुतली बम देखेपछि नेपाली सेनाको डिस्पोजल टोली बोलाएर बजे निस्कृय पारेको जिल्ला प्रहरी प्रमुख एसपी वीरबहादुर बुढामगरले बताए।

यस्तै जिल्लाको पश्चिम कटारी बजारमा शंकास्पद बस्तु फेला परेको छ। कटारी नगरपालिका ३ भगवति मन्दिर नजिकै कपडा पसल छेउमा कालो झोला भेटिएको र त्यस भित्र शंकास्पदबस्तु रहेको भन्दै सेना बोलाइएको छ।

रोल्पा संवाददाता दिनेश सुवेदीका अनुसार नेत्र बिक्रम चन्द विप्लव नेतृत्वको नेकपाले घोषणा गरेको नेपाल बन्दका कारण रोल्पाको जनजीबन प्रभाबित बनेको छ। बन्दका कारण छोटो तथा लामो दुरीका सवारी साधन चल्न सकेका छैनन् भने सदरमुकाम लगायतका सबै बजार पुर्ण रुपले बन्द छन्। शैक्षिक सस्था समेत बन्द गराईएको छ। 

बन्दमा जिल्लामा कुनै घटनाहरु नहोस भनेर सुरक्षा व्यवस्था कडा पारिएको प्रहरीले जनाएको छ। रोल्पा प्रहरी प्रमुख डिएसपि दिपक खड्काका अनुसार बन्द शान्तपूर्ण रहेको छ। सर्लाही जिल्ला इन्चार्ज कुमार पौडेलको मृत्युको बदलमा विप्लव समूहले मंगलबार नेपाल बन्द आह्वान गरेको हो।

बन्दको कार्यक्रम सफल बनाउन  विप्लबका कार्यकर्ताहरुले रामेछापको मन्थली बजार क्षेत्र नजिकै मंगलबार विहान ग्यासको सिलिन्डरमा आगो लगाइ बम झै गरी विस्फोट गराएका छन्।

बमको झै आवाज निस्किएर विस्फोट भएपछि मन्थली आसपासका क्षेत्रमा त्रास फैलिएको छ। विस्फोट पश्चात विस्फोट स्थलको निरीक्षण गर्दा टायरमा आगो बालेर ग्यासको सिलिण्डर राखेर विस्फोट गराई त्रास फैलाउनका निम्ति उक्त कार्य गरिएको पाइएको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रमुख प्रहरी नायब उपरीक्षक सन्तोष कुमार भट्टराईले जानकारी दिए।

बर्दिया संवाददाता निर्मल घिमिरेका अनुसार बन्दको दिन मंगलवार बर्दियाका दुई ठाउँमा प्रेसर कूकर बम फेला परेको छ। पूर्वपश्चिम राजमार्गको कतरनिया र गुलरिया स्थित डिभिजन बन कार्यालय नजिकको सडकमा बम फेला परेको हो। बम भेटिएको ठाउँलाई प्रहरीले घेरेर बसेको छ। बम भेटिएपछि फाट्टफुट्टमा चलेका सवारी साधन ठप्प भएका छन्। लामो वा छोटा दुरीका सवारी साधन चल्न नसक्दा बन्दको प्रभाव पूर्ण रुपमा परेको छ।

 

प्रकाशित: १० असार २०७६ ०६:३७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App