coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
कला

‘भाका न नक्कल हुन्छ, न चोरी गरिन्छ’

काठमाडौं – ‘बोलमाया’ बोलको गीतबाट चर्चामा आएका गायक प्रकाश सपुतको अहिलेको गीत ‘गलबन्दी च्यातियो’ यतिबेला निकै चर्चामा छ। गीतले दर्शकको संख्या दिनानुदिन कमाइरहँदा गायक शम्भु राईले प्रकाशको गीतको लय आफ्नो गीत ‘आउ नाचौं साथी हो’सँग मिलेको दाबी गरेपछि ‘गलबन्दी’ गीतको चर्चा झनै चुलिएको छ।

गायक प्रकाश र शम्भुबीच गीतको लय मिलेको र नमिलेको विषयमा विवाद भइरहँदा यो विषयले सोमबार बसेको प्रतिनिधिसभा बैठकमा पनि प्रवेश पाएको छ। नेपाली कांग्रेसका नेता मीनबहादुर विश्वकर्माले गायक प्रकाश सपुत र गायिका शान्तिश्री परियारको बचाउ गरेपछि गीतको विवादले संसदमा प्रवेश पाएको हो।

‘विगत केही दिनदेखि के बालक, के तरुण, के युवा, के वृद्धा सबैको मुखमा हरपल गुनगुनाइरहने धुन बनेको छ–‘गलबन्दी च्यातियो तिमीले तानेर। नेपाली सांगीतिक इतिहासमा यति छोटो समयमा डेढ करोड दर्शक बनाउनु चानचुने कुरा होइन। संसारभरी नेपाली मनले मात्रै होइन, विदेशी मनले पनि यही धुन गुनगुनाइरहेका छन्। यो अवस्थामा सरकारको सम्बन्धित निकायले उनीहरूलाई उच्च सम्मान गर्नुपर्नेमा सत्तारुढ दलकै भातृसंस्थामा आवद्ध कलाकार शम्भु राईले मेरो लय नक्कल गरेको भनी मुद्दा हालेछन्’, उनले भने, ‘हामीले ख्याल गर्नुपर्ने कुरा के भने लोकभाका भनेकै पूर्वजहरूले गाउँदै उनीहरूका अनुयायीले पछ्याउँदै पुस्तौंपुस्तासम्म जीवित राख्नु हो। एक दिन, एक पटक, एक कलाकारले कुनै एक समयमा गाएको, गाउने वा रेकर्ड गरिएको गीत लोकभाका हुन सक्दैन। गाउँघर, रोदीघर, रत्यौली वा मेलापातमा जाँदा स्वतःस्फूर्त रूपमा गाउने भाका नै लोकभाका हो। यो भाका न नक्कल हुन्छ, न चोरी गरिन्छ।’

कुनै पनि सिर्जना सार्वजनिक भए त्यसमा मेरो आपत्ति छैन। तर कुनै स्रष्टाको सिर्जनालाई विना अनुमति आफ्ना सिर्जनामा प्रयोग गर्न पाइँदैन्।

उनले गायक प्रकाशले गाएको उक्त भाका कसैसँग मेल नखाने दाबी गरे। ‘शम्भु राईसँग मेल खाने त कुरै भएन। तर, विडम्बना एक सामान्य कलाकारले अति मन छुने स्वर, शैली र छायांकनसमेत गरी प्रस्तुत गरेको गीतमा एक फरक भूगोल, फरक परिवेश, फरक शैली र फरक कालखण्डमा उस्तैउस्तै गीत मैले पनि गाएको थिएँ, नक्कल भयो भनी मुद्दा हाल्न पुग्नु एक प्रतिष्ठित कलाकारका लागि लज्जाको विषय बन्नु पर्ने हो’, विश्वकर्माले भनेका छन्, ‘तर, उल्टै शम्भु राई र उनका मतियारहरूले सामाजिक सञ्जालको दुरुपयोग गरी प्रकाश सपुतलाई जातीय भेदभावका दृष्टिले अति नीच गालीगलौज गर्ने र उनलाई हतोत्साही बनाउन निरन्तर लागि परेको देखिन्छ। त्यतिमात्रै होइन, संविधान, कानून र सामाजिक सद्भावको बर्खिलाप हुने गरी सिंगो दलित समुदायलाई अपमानित हुने गरी उनीहरूमाथि नीच ढंगले जातीय भेदभाव र अपमान गरेको हुनाले साइबर कानून, जातीय छुवाछुट तथा कसूर सजाय ऐन र संविधानको धारा २४ अन्तर्गत उनीहरूलाई तत्काल कानूनी दायरामा ल्याउन माग गर्दछु।’

यता गायक राईले आफूले सांसद विश्वकर्माले बोलेको कुरा सुनेको बताए। ‘मैले उहाँले बोलेको कुरा सुनें। कुन भावनाले भन्नुभयो त्यो त मलाई थाहा भएन। सायदै त उहाँलाई गीतको ढाँचा, संगीतको बारेमा त्यति जानकारी छैन होला। मैले आवाज उठाएको स्रस्टाको सिर्जनाको कुरा हो। तर माननीयज्यूले कुरा बुझ्नु भएको रहेनछ’, गायक राईले भने, ‘त्यही संसदले स्रष्टाको बौद्धिक सम्पत्तिको सुरक्षाको लागि ऐन नै पास गरेको छ। कुनै पनि सिर्जना सार्वजनिक भए त्यसमा मेरो आपत्ति छैन। तर कुनै स्रष्टाको सिर्जनालाई विना अनुमति आफ्ना सिर्जनामा प्रयोग गर्न पाइँदैन्। मेरो भनाई पनि यही हो।’

आफूलाई सांसद्ले सत्तारुढ दलको भातृसंस्थामा आबद्ध कलाकार भनेकामा आपत्ति जनाउँदै कलाकार कसैको सदस्य नभई सिंगो राष्ट्रको गहना हुने बताए। ‘प्रकाशजी र मबीच केही असहमति छ। मैले यो विषयमा रजिस्टारको कार्यालयमा उजुरी पनि दर्ता गरेको छु। तर उजुरी दर्ता गर्दैमा प्रकाशजी र मबीचको सम्बन्ध बिग्रिएको छैन। हामी अझै पनि सौहार्दपूर्ण वातावरणमा छलफल गरिरहेका छौं।’ उनले भने।

प्रकाशित: १० असार २०७६ ०३:५० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App