coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

गौचरण संरक्षणमा विवाद

चितवन - भरतपुर महानगरपालिका–२३ जगतपुरको गौचरण संरक्षणमा स्थानीय र महानगरपालिकाबीच विवाद चर्किएको छ। सार्वजनिक जग्गाको रूपमा रहेको गौचरणको संरक्षण गर्न वडा कार्यालय र महानगरपालिकाको सार्वजनिक जग्गा संरक्षण समिति लागेको छ। गौचरणलाई पर्खाल लगाएर संरक्षण गर्ने तयारी गर्दा बाटोको विषयमा विवाद भएपछि पर्खाल लगाउने काम रोकिएको वडा अध्यक्ष नरिनारायण पौडेलले बताए।

साविक जगतपुर गाविस हुँदादेखि गौचरण संरक्षणबारे बेलाबखत छलफल भइराखेको उनी बताउँछन्। गौचरणको क्षेत्रफल तीन बिगा १९ कट्ठा १७ धुर रहेको छ। गौचरणको चारैतिर करिब १३ सय मिटर लम्बाइको बाटो रहेको छ। कतै आठ मिटर र मोडमा १२ मिटरसम्म चौडाइको बाटोमा प्रयोग गरिएको जमिन सबै गौचरणको भएको उनले बताए। उनका अनुसार गौचरणको २२ कट्ठा जमिन बाटामा प्रयोग भएको छ।

अहिले भरतपुर महानगरले सार्वजनिक जग्गा संरक्षण गर्न अभियान अघि बढाएको छ। गौचरणको धेरै भूभाग बाटाको रूपमा प्रयोग गरिएकाले त्यसलाई संरक्षण गर्न बाटो कायम गर्न महानगरपालिकाले निर्णय गरेको छ। ‘वडा भेलाले चार मिटर सार्वजनिक गौचरणबाट दिने निर्णय गरेको थियो,’ वडाध्यक्ष पौडेलले भने, ‘त्यही निर्णयलाई कायम गर्न वडा कार्यालयले महानगरपालिकालाई सिफारिस गरेको थियो।’

२०७५ साउन ७ गते महानगरपालिकाले ‘वडा नम्बर २३ को गौचरणको जग्गासम्बन्धी विवादमा सो स्थानको सम्बन्धमा मात्र स्थानीयको तर्फबाट दुई मिटर र सार्वजनिक जग्गा गौचरणको तर्फबाट ६ मिटर जग्गा व्यवस्थापन गर्ने’ निर्णय भएको छ। बाटो बनाउँदा आधाआधा दुवै तर्फकाले छाड्नुपर्ने नियम भए पनि यो बाटोबारे महानगर लचिलो बनेको महानगरपालिका प्रवक्ता एवम् सार्वजनिक जग्गा संरक्षण समितिका संयोजक अरुण पीडित भण्डारी बताउँछन्।

महानगर क्षेत्रमा कम्तीमा ६ मिटरको बाटो हुनुपर्ने प्रावधान भएकाले स्थानीयले जमिन उपलब्ध नगराए पनि बाटाको मापदण्ड पूरा हुने गरी निर्णय भएको उनले जानकारी दिए। ‘जनताले दिन तयार नभए पनि अहिले ६ मिटरको बाटो हुन्छ,’ उनले भने, ‘स्थानीयले दुई मिटर दिन चाहे आठ मिटरको बाटो बन्छ, वरिपरिका जनतासँग जनसहभागिता नलिई महानगरपालिकाले यो बाटो पिच गर्छ।’ स्थानीयले बाटोका लागि जग्गा नदिए ६ मिटरको बाटो पिच गरिने उनले बताए।

सार्वजनिक जग्गा संरक्षणमा गत वर्ष बजेटको विरोध भएको थियो भने यसपटक बाटाको विवाद भइरहेको उनले बताए। अहिलेसम्म गौचरणको वरिपरि रहेको बाटाको नक्सा कायम गरिएको छैन। अब सडकको लगत कट्टा गरेर बाँकी जमिन संरक्षण गरिने उनले बताए। गौचरणबाट ६ मिटर चौडाइको बाटोवरिपरि दिँदा करीब १५ कट्ठा जमिन बाटामा जान्छ। ६ मिटरको बाटो कटाएर बाँकी जमिन संरक्षण गर्दा गौचरणमा तीन बिगा पाँच कट्ठाजसो जमिन बाँकी हुने उनको भनाइ छ। ‘हामीले विकासविरोधी काम गरेका छौं र ?’ उनी प्रश्न गर्दै भन्छन्, ‘महानगरले बाटो भत्काइदियो भन्ने होइन। सार्वजनिक जग्गा संरक्षण गरेको हो, यो समग्र महानगरको सम्पत्ति हो।’

महानगरले गरेको निर्णय कायम गरी अघि बढिने उनले बताए। चालू आवमा महानगर र वडा कार्यालयबाट छुट्याइएको ६ लाख रुपैयाँ बजेटबाट गौचरणमा पर्खाल लगाउने काम गर्न लागिएको वडाध्यक्ष पौडेल बताउँछन्। संरक्षणको काम गर्न लागे पनि स्थानीयको अवरोध भएको उनले जनाए।

प्रकाशित: १० असार २०७६ ०३:३९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App