७ वैशाख २०८१ शुक्रबार
समाज

भीरकोटमा प्रभावकारी बन्दै 'प्रधानमन्त्री रोजगार कार्यक्रम'

भीरकोट नगरपालिकाद्वारा प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि सूचीकृतहरु काम गर्दै। तस्बिरः मोहन गुरुङ/नागरिक

स्याङ्जा - स्याङ्जाको भीरकोट नगरपालिकामा प्रधानमन्त्री रोजगार कार्यक्रम प्रभावकारी बन्दै गएको छ। जिल्लाका ११ वटा स्थानीय तहमध्ये भीरकोटमा प्रधानमन्त्री रोजगार कार्यक्रम निकै प्रभावकारी रुपमा अघि बढिरहेको रोजगार सेवा केन्द्रका संयोजक बसन्त बस्नेतले बताए। भीरकोटमा प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत ‘कामका लागि पारिश्रमिकमा आधारित सामुदायिक आयोजना’ को कार्यान्वयन भने छुट्टै तरिकाले सञ्चालन भइरहेको बस्नेतको भनाइ छ।
 गत चैत र वैशाख महिनामा बेरोजगारको सूचीमा सूचीकृत १ हजार ४९ जना मध्ये १ सय ३५ जना सूचीकृतहरु प्रत्यक्ष रुपमा कार्यक्रमबाट लाभवन्तित छन्। नगरपालिकाका ९ वडाका वडा अध्यक्षहरु कार्यक्रमलाई उत्कृष्ट र प्रभावकारी बनाउन अहोरत्र खटिएका छन्।

यसै आर्थिक वर्षमा कम्तीमा ३० दिन बराबरको रोजगारी प्रदान गर्ने योजना अनुरुप उनीहरुले ९ वटै वडामा सञ्चालित विभिन्न योजनाहरुसँग सम्बन्धित भएर कार्य गर्दै आएका छन्। भीरकोट आर्थिक वर्ष २०७५÷०७६ का लागि ११ लाख सशर्त अनुदान आएको छ। ११ लाख रुपैयाँ मध्ये एक वडामा न्यूनतम १ लाख देखि १ लाख ५० हजार सम्मको कार्यक्रमका लागि बजेट छुट्याइएको छ।

वडाहरुमा विनियोजित रकमबाट बेरोजगार नागरिकहरु रोजगारी बनुन् भन्ने उद्देश्य रहेको भीरकोट नगरपालिकाका प्रमुख छायाँराम खनालले बताए। ‘रकममा केही अन्तर भएका पनि सोचाई समानुपातिक राखेका हौं,’ प्रमुख खनालले भने, ‘रोजगार बन्ने सबैको अधिकार समान छ।’ खेतीपातीको समय भएकोले सिँचाइँका योजनाहरुमा बढी जोड दिएको उनले जानकारी दिए। सिँचाइँका अलवा बाटो निर्माण र मर्मत कार्यमा सूचीकृतहरुले कार्य गर्दै आइरहेका छन्।

बेरोजगारलाई न्यूनतम रोजगारीको प्रत्याभूति दिन तथा सामुदायिक पूर्वाधारको विकासमार्फत नागरिकको जीवनयापनमा सुधार ल्याउन कार्यक्रमले महत्वपुर्ण भूमिका खेल्ने नगरपालिकाका प्रशासकिय अधिकृत धर्मराज ढुङ्गानाको दावी छ। उनले भने, ‘कार्यक्रममा केही नीतिगत अप्ठ्याराहरु छन्। आगामी आर्थिक वर्ष २०७६/०७७ मा परिमार्जन गनुपर्ने देखिन्छ।’ आयोजना सञ्चालन गर्दा कुल लागतको कम्तीमा ७० प्रतिशत रकम श्रमिकको ज्यालामा खर्च गर्नुपर्ने प्रावधान रहेको छ। सामाग्री खरिदमा ६० र पारिश्रमिकमा ४० प्रतिशत बजेट छुट्याएको खण्डमा आयोजना सञ्चालनमा तथा कार्यान्वयमा सहजता देखिनुका साथै प्रभावकारी हुने देखिन्छ।

सबै वडाहरुले समावेशी रुपमा बजेट पाएपछि आयोजना कार्यान्वयनमा सहज भएको छ। वडा नम्बरमा सडक मर्मत सम्भार र २ मा बाटो निर्माणका लागि योजना डिपीआरको तयारी रहेको छ। वडा नम्बर ३, ४, ६ र ८ ले सिँचाईका खर्च गरिने भएको छ भने वडा नम्बर ५ ले गोरेटो बाटो निर्माण कार्य सम्पन्न गरिसकेको छ। वडा नम्बर ७ ले बालबालिकाका लागि विद्यालय जाने गोरेटो बाटो निर्माणमा खर्च गरिने भएको छ।

वडा नम्बर ९ ले भने सार्वजनिक शौचालय निर्माण सम्पन्न गरिसकेको छ। प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत सूचीकृत वडा नम्बर ८ की गीता रानाले कार्यक्रम निरन्तर भएको खण्डमा आफु जस्तै हजारौं जना प्रत्यक्ष रुपमा लाभवन्ति हुने बताइन्। उनले भनिन्, ‘राज्य घर–घरमा आएको महसुस भएको छ। राज्यबाट हामी जस्तै बेरोजगारहरुको लागि दीर्घकालिन सोँच बनाओस्।’

कार्यक्रमको प्रावधान र प्रारुपअनुसार सम्पूर्ण प्रक्रिया पु-याएर कार्यक्रम सुरु गरिएकोले अन्य स्थानीय तहहरुमा भन्दा केही ढिला कार्यान्वयमा आएपनि सबै वडामा विनियोजित बजेटको काम सकिने भीरकोट रोजगार सेवा केन्द्रका संयोजक बसन्त बस्नेतले बताए। उनले भने, ‘सुरुवाती वर्ष भएकोले केही ढिलाई भएको हो। आगामी वर्ष छिट्टै आयोजनाहरु सम्पन्न हुनेछ।’

प्रकाशित: १० असार २०७६ ०३:२३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App