coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
खेल

प्रतिबन्धपछि सुखद यात्रा

लन्डन – लामो समयको प्रतिबन्धपछि राष्ट्रिय टोलीमा फर्किन  संघर्ष गरेका डेविड वार्नरले जारी विश्वकपमा भने राम्रो प्रदर्शन गरिरहेका छन्। अस्ट्रेलियाले विश्वकपमा सुखद सुरुआत गर्दा वार्नरका लागि पनि राम्रो हुने संकेत बनेको थियो। अफगानिस्तानमाथि सहज जित निकाल्दा अस्ट्रेलियाका लागि वार्नरले ८९ रनको अविजित इनिङ खेलेका थिए।

तर, वेस्ट इन्डिजसँगको दोस्रो खेलमा भने वार्नरको ब्याटिङ चल्न सकेन। उक्त खेलमा उनी ३ रनमै पवेलियन फर्किए। भारतसँगको तेस्रो खेलमा अस्ट्रेलियाले नतिजा गुमाए पनि वार्नरले ५६ रनको अर्धशतकीय योगदान दिए। त्यसलगत्तै पाकिस्तानविरुद्ध उँचो प्रदर्शन गरेका वार्नरले शतकीय योगदान दिँदै अस्ट्रेलियालाई महत्वपूर्ण जित दिलाए। उक्त खेलमा उनले १ सय ७ रनको इनिङ खेलेका थिए।

श्रीलंकासँगको खेलमा वार्नर २६ रनमै आउट भएका थिए। यद्यपि, बंगलादेशविरुद्धको खेलमा भने उनले आक्रामक इनिङ खेल्दै पुनः आफ्नो लय राम्रो रहेको साबित गरे। उक्त खेलमा उनले १ सय ६६ रनको शतकीय योगदान दिएका थिए।

जारी विश्वकपका ६ खेलमा वार्नरले ८९.४० को औसतले ४ सय ४७ रन बनाइसकेका छन्। जसमा उनको समान दुई शतक र अर्धशतक सामेल छ। उनले १ सय १२ एकदिवसीय खेलमा १६ शतक र १९ अर्धशतक गरेर ४ हजार ७ सय ९० रन बनाइसकेका छन्। एकदिवसीय क्रिकेटमा १२औं वरीयताका ब्याट्सम्यान रहेका वार्नरले मंगलबार इङ्ल्यान्डविरुद्ध अस्ट्रेलियाको टोलीबाट चुनौती प्रस्तुत गर्दै छन्।

उक्त खेलमा उनले उँचो प्रदर्शन गर्ने आशा अस्ट्रेलियन टोलीले लिएको छ। विश्वकपअघिको वार्म अफ खेलमा पनि वार्नरले इङ्ल्यान्डविरुद्ध राम्रो ब्याटिङ गरेका थिए। उक्त खेलमा उनले ४३ रनको योगदान दिँदा अस्ट्रेलियाले जितसमेत निकालेको थियो।

बलिङले आलोचकको मुख बन्द
लन्डन, असार ९ (एजेन्सी)– जारी विश्वकपमा इङ्ल्यान्डका युवा बलर जोफ्रा आर्चरले निकै उत्कृष्ट बलिङ गरिरहेका छन्। उनले जारी विश्वकपका ६ खेलबाट १५ विकेट लिँदा सर्वाधिक विकेट लिने बलरमा संयुक्त रूपमा मोहम्मद आमिर र मिचेल स्टार्कसँगै आफूलाई उभ्याइरहेका छन्। कुल ५४.५ ओभर बलिङ गरेका आर्चर ७ मेडनसहित ४.९० को किफायती रनरेटमा छन्।

विश्वकपमा अन्तिम चरणको छनोटमा इङ्ल्यान्डको टोलीमा स्थान बनाएका आर्चरले जारी विश्वकपलाई उत्कृष्ट बनाउँदै आफ्ना आलोचकहरूको समेत मुख बन्द गरिदिएका छन्। तीव्र गतिका बलर आर्चरलाई इङ्ल्यान्डको टोलीमा राखिँदा छनोटकर्ताले निकै आलोचनाको सामना गर्नुपरेको थियो। यद्यपि, आर्चरले ती सबै आलोचना आफ्नो बलिङ मार्पmत बन्द गरिदिए।

पाकिस्तानविरुद्ध इङ्ल्यान्ड हार बेहोर्दा बाहेक अन्य पाँच खेलमा भने आर्चरको प्रदर्शन उचो रहेको छ। बाँकी पाँचै खेलमा उनले समान ३ विकेट लिँदा किफायती बलिङसमेत गरेका छन्। व्यवसायिक क्रिकेट लिगमा आशालाग्दो प्रदर्शन गरेपछि यसै वर्ष मात्र आर्चर राष्ट्रिय टोलीमा परेका थिए।

गत मेमा आयरल्यान्डविरुद्धको खेलबाट राष्ट्रिय टोलीमा डेब्यु गरेका आर्चरले यसबीच ९ खेलमा १८ विकेट लिएका छन्। यसमध्ये पछिल्ला ७ खेलमा मात्र १६ विकेट लिइसकेका आर्चरले इङ्ल्यान्डका लागि आफूलाई नम्बर एक तीव्र गतिका बलरको रूपमा प्रमाणित गरिसकेका छन्।

घरेलु टोली इङ्ल्यान्डले मंगलबार आफ्नो सातौं खेलअन्तर्गत अस्ट्रेलियाविरुद्ध चुनौती प्रस्तुत गर्दै छ। उत्कृष्ट लयमा रहेका अस्ट्रेलियन ब्याट्सम्यानका लागि आर्चर मंगलबार निकै कठिन बलर हुन्। उनै आर्चर पनि डेविड वार्नर, एरोन फिन्च र स्टेभन स्मिथजस्ता महत्वपूर्ण ब्याट्सम्यानलाई आउट गर्दै इङ्ल्यान्डको पाँचौं जितको खोजीमा हुनेछन्। 

प्रकाशित: १० असार २०७६ ०२:५३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App