coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

घरभित्रै छाता ओढेर रात बिताउँछन् हुरी पीडित

हुरीले उडाएका सामान व्यवस्थित गरेर राख्दै जुगेडा ‘डि’ गाउँका कल्यान सिंह । तस्बिरः पुष्पराज/नागरिक

जुगेडा (धनगढी)- हुरीले छानो उडाएको १९ दिन बितिसक्दा पनि आर्थिक रुपमा विपन्न सयौं परिवारको छाना बन्न सकेको छैन्। खुला आकाशमुनि बसेका हुरी पीडित परिवारको मनसुन सुरु भएसँगै बिचल्ली भएको छ। कतैबाट राहत नपाएको र आफूसँग पनि पैसा नहुँदा भत्केको घर बनाउन नसकेकालाई वर्षामा ओत कहाँ लाग्ने भन्ने पिरलो भएको छ। छानो बनाउन नसक्दा वर्षाले घरभित्रै त्रिपालले छोपेर राखेका सामानसमेत भिजेर काम नलाग्ने भएका छन्।

घरको छानो उडाउँदा सामानभित्रै राखेर त्रिपालले छोप्दा पनि भिज्न थालेको बताउँदै धनगढी उपमहानगरपालिका–१२ जुगेडा ‘डि’ गाउँका कल्यान सिंहले भने ‘पानी नपर्दा त खुला आकाशमुनि बसेकै थियौं, तर पानी परेपछि भने बिचल्ली भएको छ।’ वर्षामा बालबच्चासहित कहाँ ओत लाग्ने भन्ने ठेगान नभएको उनले पीडा सुनाए। ‘उडेको छानो मर्मतका लागि कहीँबाट जस्तापाताका लागि सहयोगसमेत पाइएन,’ उनले भने, ‘पैसा नहुँदा उडाएको छानो बनाउनै समस्या छ।’ सामान घरभित्रै राखेर छानो उडेको घर रुङ्न थालेको १९ दिन बितिसकेको उनले बताए।

हुरीले उडाएको छानो बनाउन नसक्दा रातभर अर्कैको घरको बरण्डामा बस्दै आएको बताउँदै जुगेडा ‘ए’गाउँका धर्म विकले भने, ‘दिनभर त रुखको छहारीमा बस्छु, राति परेपछि भने छिमेकीको बरण्डामा ओत लाग्छु।’ ‘ए’ गाउँकै अमरबहादुर सिंहले पनि हुरीले जस्तापाता उडाइदिएपछि एक हप्ता खुला आकाशमुनि रात काटें। दुई छोरा, एक छोरी, श्रीमतीसहित खुला आकाशमुनि रात काट्दै आएका उनले छानो छाउने पैसा नभएपछि सामुदायिक वनबाट खर (फुसको छानो) किनेर ल्याए। खरले घर छाएका उनको वर्षातले पानी चुहिन रोकिएन। ‘जस्तापाता उडाएपछि खरले घर छाएँ,’ अमरबहादुरले भने, ‘खरले छाएको घरभित्र पानी पर्दा चुहिने रहेछ।’ पानी पर्दा खर चुहिन थालेपछि घरभित्रै छाता ओढ्न परेको उनले बताए। ‘जसोतसो उडाएको छानोमाथि खरले छाएँ,’ उनले भने, ‘त्यही पनि चुहिन नरोकिएपछि छाता ओढ्नु परेको छ।’ रातिको समयमा पानी पर्दा खरले मेघ छेक्न नसक्दा छोराछोरीलाई उठाएर छाता ओढेर बस्नु परेको पीडा उनले सुनाए।

हुरीले घरको छानोसँगै कापी, किताब र पोसाक उडाएपछि अहिलेसम्म विद्यालय जान सकेका छनैन् जुगेडा ‘डि’ गाउँका नरेश बोहरा। स्थानीय दुर्गा आधारभूत विद्यालयमा अध्ययनरत नरेशले भने ‘हुरीले कापी, किताब र पोसाक उडाइदिएपछि स्कुल जान सकेकै छैन्।’ उनीसँग उनका कक्षा १ मा अध्ययनरत बहिनी ऋतु र शिशु कक्षामा पढ्ने अर्की बहिनी मञ्जु पनि स्कुल जानबाट वञ्चित छन्। घरमा हजुरआमासँगै बस्दै आएका नरेशका बुबाआमा मजदुरीका लागि भारतमा छन्। नरेश विगत दुई वर्षदेखि हजुरआमासँगै जुगेडास्थित घरमै बस्दै आएका हुन्। ‘हुरीले छानोसँगै कापी किताब र लुगाकपडा उडाइदिएपछि समस्या भएको छ,’ उनले भने,‘बुढी बज्यै र आफू कसको सहारामा बस्ने भन्ने समस्या परेको छ।’ घरको छानो जोहो गर्नकै लागि पनि समस्या भइरहेको बताउँदै उनले भने,‘सहयोग गर्ने भनेर नाम टिप्न आएकाहरुले पनि अहिलेसम्म जस्तापातासम्म सहयोग गरेनन्।’

जेठ २३ गते आएको भीषण हावाहुरीले भत्केका ऋण सापट गर्न सक्नेले आफै बनाए पनि अधिकांश विपन्न परिवारले भने अझै छानो हाल्न सकेका छैनन्। जिल्ला प्रशासन कार्यालयले जस्तापाता र त्रिपाल वितरण गरेको भए पनि सबै पीडित कहाँ पुग्न नसकेको उनीहरुको भनाइ छ। कैलालीका प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहराले असहाय, अपाङ्गका घर संघसंस्थाले पुनर्निर्माण गरिरहेको नागरिक न्यूजलाई बताए। ‘सक्नेले आफ्ना घर आफै बनाइरहेका छन्,’ उनले भने, ‘नसक्नेहरुको घर सामाजिक संघसंस्थाले बनाउन थालेका छन्।’

धनगढी उपमहानगरपालिकाका प्रमुख नृपबहादुर ओडले आफ्नो उपमहानगरमा मात्र करिब साढे ७ हजार घर हुरीले भत्केको बताएका छन्। सबै तथ्यांक संकलनपछि घर भत्केकालाई क्षतिपूर्ती दिइने उनले बताए। ‘घरमा पूर्ण क्षति भएकालाई ६ हजार रुपैयाँ र आशिंक क्षति भएकालाई तीन हजार रुपैयाँ दिने निर्णय गरिएको छ ’उनले भने।

प्रकाशित: ९ असार २०७६ १२:१६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App