७ वैशाख २०८१ शुक्रबार
समाज

मर्चवारको तीन वटै गाँउपालिकामा प्रधानमन्त्री रोजगार कार्यक्रम

भैरहवा– मर्चवारमा रहेको तीन वटै स्थानीय तहमा एकै पटक प्रधानमन्त्री रोजगार कार्यक्रम शुरु भएको छ। मर्चवारी गाउँपालिका, सम्मरीमाई गाउँपालिका र कोटहीमाई गाउँपालिकामा एकै पटक कार्यक्रम सुरु गरिएको हो।

स्वदेशभित्र रोजगारीका पर्याप्त अवसरहरुको सिर्जना र कामलाई सम्मान गर्ने संस्कृतिको विकास गरी रोजगारीका लागि विदेश जानुपर्ने वाध्यात्मक अवस्थाको अन्त्य गर्ने उद्देश्यसहित कार्यक्रम ल्याइएको छ। मर्चवार गाउँपालिकाको सबै वडामा १५ जनाका दरले बेरोजगारलाई रोजगारी दिने उद्देश्यसहित पहिलो चरणमा काम सुरु गरिएको छ। यसको सुरुवात वडा नम्बर ४ र ५ बाट भएको छ।

एक कार्यक्रमकाबीच मर्चवारी गाउँपालिका अध्यक्ष केशवनन्द बनियाले कार्यक्रमको शुुभारम्भ गरेका छन्। उनले न्यूनतम रोजगारी प्रदान गर्ने गरि लागु भएको प्रधानमन्त्री रोजगार कार्यक्रमले स्थानीय तहको विकासमा महत्वपूर्ण योगदान गर्ने बताए। स्थानीय स्तरको युवा उर्जा आफ्नै गाउँ ठाउँ बनाउनमा खर्च हुने बताउँदै उनले यसले आय आर्जनकै लागी युवाहरु विदेशिने क्रममा सुधार ल्याउने बताए। 

जनशक्तिको अभावमा रोकिएको स्थानीय तहको विकास अब यो कार्यक्रममार्फत पुरा हुने मर्चवारी गाउँपालिकाको प्रमुख प्रशासकिय अधिकृत खेतबहादुर खत्रीले बताए। उनले कार्यक्रम अन्र्तगत छनौट भएका श्रमिकलाई गाउँपालिकामा रहेको सडक मम्र्मतसम्भार, पोखरी निर्माणलगायत विभिन्न सचेतनामूलक कार्यमा समेत खटाईने जानकारी दिए।

यसको लागी प्रत्येक वडाबाट पहिलो चरणमा १५ जनाको दरले श्रमिक छनौट गरिएको गाउँपालिकाका रोजगार कार्यक्रम संयोजक आशुतोष त्रिपाठीले बताए। 
यस्तै सम्मरीमाई गाउँपालिकामा समेत प्रधानमन्त्री रोजगार कार्यक्रम सुरु भएको छ। गाउँपालिकाको ३ नम्बर वडाबाट यसको सुरुवात गरिएको छ। गाउँपालिकामा १ हजार ६ सय ८१ जनाले रोजगारका लागी निवेदन दिएको रोजगार संयोजक श्यामकला गैरेले जानकारी दिइन। उनले वडा नम्बर ३ का १९ जना बेरोजगारलाई माटो पटानलगायतका काममा लगाई कार्यक्रमको सुरुवात गरिएको जानकारी दिइन। 

प्रत्येक वडामा सुचिकृत बेरोजगारहरु मध्ये पहिलो चरणको लागी बेरोजगार छनौट गरि काममा लगाउने उनले जानकारी दिइन। कार्यक्रमको उदघाटन गर्दै सम्मरीमाई गाउँपालिका अध्यक्ष जितेन्द्रनाथ शुक्ल (बब्लु)ले अब सम्मरीमाईको युवा शक्ति सम्मरीमाईमै खर्चिने बताए। उनले अहिलेसम्म सुस्त गतिमा रहेको विकास निर्माणका काममा आफ्नै गाउँठाउका युवाले चासो लिने भएकोले यसले अब गति लिने दावी गरे।

त्यस्तै रुपन्देहीकै कोटहीमाई गाउँपालिकाले पनि प्रधानमन्त्री रोजगार कार्यक्रम लागु गरेको छ। मर्चवारको लाईफ लाईनको रुपमा रहेको मर्चवार लिफ्ट सिंचाई आयोजनाको नहर मम्र्मत गरि रोजगार कार्यक्रम सुरु गरिएको गाउँपालिकाकी रोजगार संयोजक अर्चना काफ्लेले जानकारी दिइन।

मर्चवारमा रहेको नहर, कुलो, बाटो मम्र्मतलगायतको काममा कार्यक्रमबाट छनौट भएका श्रमिकहरुलाई परिचालन गरिने योजना रहेको काफ्लेले बताइन। उनले कार्यक्रमको लागी १ हजार ६ सय जनाले निवेदन दिएकोमा गाउँपालिकामा बसेको कार्यपालिकाको बैठकले १ हजार ४ सय ४६ जना बेरोजगार सुचिकृत गरिएको उनले बताइन्। यी मध्ये पहिलो चरणमा प्रत्येक वडाबाट २८ जनाको दरले काममा लगाउने उनले जानकारी दिइन।

रोजगारीको हकसम्बन्धी ऐन, २०७५ ले प्रत्येक स्थानीय तहमा रोजगार सेवा केन्द्रको स्थापना गरी बेरोजगारहरुको पहिचान र सूचीकरण गर्ने र रोजगार सेवा केन्द्रमा सूचीकृत भएका बेरोजगार व्यक्तिहरूलाई एक आर्थिक वर्षमा न्यूनतम एक सय दिनको रोजगारी प्रत्याभूति गरिने व्यवस्था गरेको छ। यसरी न्यूनतम रोजगारी प्रदान गर्न नसके सरकारले हरेक बेरोजगार परिवारलाई एक जना श्रमिकले एक सय दिन काम गर्दा प्राप्त गर्ने न्यूनतम पारिश्रमिकको ५० प्रतिशत रकम निर्वाह भत्ता दिनु पर्ने व्यवस्था छ। सूचीकृत बेरोजगार व्यक्तिहरुलाई न्यूनतम रोजगारी सुनिश्चित गर्न व्यवसायिक कृषि, सिंचाई, खानेपानी, नदी नियन्त्रण, वन, पर्यटन, यातायात पूर्वाधारलगायतका सार्वजनिक निर्माण तथा अन्य सार्वजनिक कार्यहरुमा परिचालन गर्न सकिनेछ।

सरकार, प्रदेश सरकार र स्थानीय तहहरुका सार्वजनिक निर्माण तथा सार्वजनिक क्षेत्रका अन्य कार्यक्रमहरुमा पर्याप्त संख्यामा थप रोजगारी सिर्जना गर्ने गरी समन्वयात्मक र योजनावद्ध ढंगले उनीहरुको कार्यान्वयन गर्ने प्रबन्ध गर्न प्रधानमन्त्री रोजगार कार्यक्रम संचालनमा ल्याईएको छ।

खुशी 0%
दुखी 0%
अचम्मित 0%
हास्यास्पद 0%
क्रोधित 0%
अर्को समाचार
Download Nagarik App
Download Nagarik App