८ वैशाख २०८१ शनिबार
समाज

हट्दै छाउपडी प्रथा, गोठबाट घरमा सरे महिला

जुम्ला– हिमा गाउँपालिका ४ की सिद्धा शाही महिनावारी भएको समयमा घरभित्र बस्छिन्। त्यति मात्रै होइन महिनावारी भएको समयमा गोठमा बस्दा हुुन सक्ने खतराका बारेमा गाउँका महिलालाई सचेत गराउँछिन्। महिनावारी हुन थालेको २७ बर्षमा अधिकांश समय गोठमा बस्दै आएकी शाही अहिले घरमै सुरक्षित रुपमा बस्न थालेकी हुन्।  

एक बर्षअघि सम्म हरेक पटक महिनावारी हुँदा ५ दिन गोठमा बसेकी उनी अहिले गाउँमा छाउपडी प्रथा हटाउने अभियानमा जुटेकी छिन्। ‘महिनावारी भएको समयमा गोठमा बस्दा निकै जोखिम मोल्नुपर्ने अवस्था थियो, चिन्ता हुन्थ्यो’, उनले भनिन्, ‘अहिले घरमा बस्न थालेपछि ढुक्क भयो।’ अहिले प्याड आफैं बनाउँदै आएका छन्। महिनावारी हुँदा भोग्नु परेको समस्याका बारेमा जानकार छन्। उनले थपिन्, ‘ग्रामिण क्षेत्रका महिला आफ्नो स्वास्थ्यका लागि आफैं सचेत हुन थालेका छन्। यो राम्रो पक्ष हो।’

हरेक महिना आमा समूहमा हुने औपचारिक छलफल र मेलापातमा छाउपडी प्रथाबारे छलफल हुन्छ। जसका कारण छाउपडी मान्ने संख्या कम हुँदै गएको छ। महिनावारी हुँदा घरभित्र बसे देवी देवताले सराप्ने, बोट विरुवा छोए पाप लाग्ने वा सुक्ने र गाइभैँसीको दुध दही खान नहुने परम्परा छ। ‘अन्धविश्वासले महिलाको स्वास्थ्य धरापमा छ’, शाहीले भनिन्, ‘छुई हुुँदा घरमा बस्न थालेपछि स्वास्थ्य अवस्थामा सुधार आएको छ।’

यहाँका महिलाहरु अहिले छोरीचेलीलाई महिनावारी हुँदा गोठमा बस्न पठाउँदैनन्। ‘घरमै बस्ने वातावरण बनाएर सरसफाईमा जोड दिएका छौं’, हिमा ३ की सेतु योगीले भनिन्, ‘छुई प्रथाबिरुद्धको अभियानलाई गाउँमा घनिभूत बनाउँदै लगेका छौं।’ 

‘जब समूह र घरमा स्वास्थ्य सवालका बारेमा गाउँमा छलफल हुन थाल्यो, तबदेखि नै छाउपडी प्रथाका बारेमा महिला सचेत हुन थाले’, उनले भनिन्, ‘छुई नियमित प्रक्रिया हो, यो समयमा आराम र पोषिलो खानेकुरा खानु पर्छ भन्ने मान्यता स्थापित गर्न थालेका छौँ।’

यहाँका महिलाले घरमै सफा कपडाबाट प्याड बनाउन पनि सिकेका छन्। महिनावारी हुँदा हरेक महिलाले सफा प्याडको प्रयोग गर्छन्। जसले गर्दा जीवनशैलीमा सुधार आएको छ। महिनावारी भएको बेला सुख्खा खानेकुरा खाने, प्याड प्रयोग गर्ने, पातलो ओछ्यानमा सुत्न नहुने गरी ब्यवस्थापन गर्न सिकेका छन्। गोठमा बस्दा किरा फट्यांग्राका कारण स्वास्थ्यमा संक्रमण बढ्ने खतरा हुन्छ। 

हिमा गाउँपालिकाका स्वास्थ्य संयोजक क्षेत्रबहादुर महतले परम्परागत रुढीबादी महिनावारी संस्कार हटाउन स्वयम् महिला नै लाग्नु पर्नेमा जोड दिए। उनले महिनावारी हुँदा छाउ गोठमा नगएर नियमित सरसफाइ गरी घरभित्र बस्नुपर्नेमा जोड दिए।  

हिमा गाँउपालिकाकी उपप्रमुख हिमाली रोकाया गाउँपालिकामा छाउपडी गोठ मुक्त अभियान थालेको बताउँछिन्। उनले भनिन्, ‘पहिलो चरणमा छुई गोठमुक्त अभियान थाल्छौं, त्यसपछि परिवारमा सचेतनाका क्रियाकलाप गर्छौं। आगामी बर्षमा छुई प्रथा न्युनिकरण अभियानको वर्षका रुपमा अघि बढाउने लक्ष्य छ।

गाउँपालिकाले स्वास्थ्यका क्षेत्रमा अनिवार्य १० प्रतिशत बजेट बिनियोजित गर्नेछ। जसबाट स्वास्थ्य, सरसफाई सुधारसँगै छाउपडी गोठ मुक्त अभियान चलाउन खर्च गरिने छ। महिलाहरु विस्तारै परिवर्तन हुँदै गएको बताउँदै रोकायाले कुरीति अन्त्य गर्न अब धेरै समय पर्खिन नपर्ने बताउँछिन्।  

प्रकाशित: ९ असार २०७६ ०९:२३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App