coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
कला

ट्रेन्डिङका गीतहरु नै मेरा रोजाइका गीत

‘ए मेरो हजुर २’, ‘यात्रा’ फिल्ममा अभिनय गरेका कलाकार हुन्  सलिनमान बनियाँ। मोडलिङ क्षेत्र हुँदै फिल्ममा अभिनय गरिसकेका सलिनमानसँग भोला अधिकारीले गरेको क्याजुअल कुराकानीः

पहिलोपटक क्यामेरा फेस गर्दाको अनुभव कस्तो थियो ?
मैले क्यामेराअगाडि अभिनय गरेको थिइनँ। स्कुल, कलेजमा हुने विभिन्न प्रतियोगितामा भाग लिँदा अगाडि बोल्न  गाह्रो लाग्दैनथ्यो। पहिलोपटक फिल्मको सुटिङ गर्दा नै क्यामेरा अगाडि अभिनय गरेको थिएँ, त्यतिखेर केही नर्भस भएँ। बाहिर  बोलेजस्तो अभिनय क्यामेरामा गर्न भने गाह्रो नै भयो।

तपाईं कलाकार नभएको भए के बन्नु हुन्थ्यो?
म यही बन्छु भन्ने लक्ष्य भने राखेको थिइनँ। तर, मेरो भित्री इच्छा भने बिजनेसमेन बन्ने थियो। सायद म बिजनेस गरेर नाम कहलाउँथेँ होला। तपार्इंले यतिखेर मलाई कलाकारको रुपमा नदेखेर बिजनेसमेनको भूमिकामा देख्नुहुने थियो होला।  घर परिवारमा मलाई कलाकारभन्दा बिजनेस गरोस् भन्ने चाहना थियो। सोचेअनुसार नहुँदो रहेछ।

कस्तो प्रेरणाबाट कलाकार बन्न आउनुभयो?
मैले नाम लिनु पर्दा अभिनेत्री झरना थापा दिज्यु र सुहाना थापाकै प्रेरणाले फिल्म लाइनमा आएको हो। मेरो प्रेरणाको स्रोत उहाँहरुलाई नै दिन चाहन्छु। उहाँहरुले नै मलाई यो क्षेत्रमा ल्याउनुभएको हो।

कसरी भेट भयो त?
म र सुहाना थापा मिल्ने साथी थियौँ। सुहानाले उनकी ममीलाई मेरो फोटो देखाइछिन्। उनले मेरो लुक्सलाई मन पराउनु हुँदो रहेछ। उनले मेरो फोटो उनकी आमा अर्थात् अभिनेत्री झरना थापालाई देखाएपछि मलाई घरमा बोलाउनु भयो। त्यो बेलामा  झरना थापाको टिमले फिल्म बनाउन लाग्नुभएको रहेछ। मेरो लुक्स चल्छ भनेर उहाँले मलाई घरमा बुझ्नका लागि  बोलाउनुभएको रहेछ।

उहाँहरुले मलाई एक्टिङ गर्नुपर्छ तिमीले सक्छौ भन्नुभयो। पहिलोपटक अभिनयका लागि तयार भएँ। उहाँहरुले सक्छौ भनेर आँट दिएपछि मेरो कलाकार बन्ने यात्रा तय भएको थियो। मेरो प्रेरणाको स्रोत नै अभिनेत्री झरना थापा हो। उहाँले मलाई ब्रेक दिनुभएको थिएन भने म यसरी तपाईंको अगाडि कलाकार भएर बोल्न पाउने थिइनँ होला।

कस्ता खालको फिल्म हेर्न मन पर्छ ?
मलाई एक्सन मुभीहरु हेर्न मन पर्छ। मैले हेर्ने फिल्म लभ स्टोरीभन्दा पनि एक्सन मुभी नै हुन्। एक्सन फिल्म प्रायः  नछुटाइ हेर्छु।

तपाईंले गीतहरु सुन्नु,प-यो भने कस्ता खालका गीत सुन्नुहुन्छ ?
मैले हेर्ने, सुन्ने गीतहरु यही खालका भनेर छुट्याएको भने छैन। ट्रेन्डिङमा आएका गीतहरु प्रायः मेरो रोजाइमा पर्ने गीतहरु हुन्। घरमा बस्दा कुन गीत ट्रेन्डिङमा परेका रहेछन् भनेर हेर्छु। जुन गीत अगाडि आउँछ त्यही गीत म एकपटक हेर्छु, सुन्छु। अझ बढी म ‘ढिचुक ढिचुक’ म्युजिक भएका गीतहरु सुन्न मन पराउँछु। यस्तै रमाइला गीतहरु मेरा रोजाइमा पर्ने गीतहरु हुन्।

आफूले गर्न चाहेको तर गर्न नसकेको अधुरो काम के होला?
आफू अभिनय क्षेत्रमा भएर होला अधुरो काम नै अभिनय जस्तो लाग्छ। आफूले गर्न खोजेको तर दर्शकको मन जित्न सकेको छैन। त्यसैले मेरो अधुँरो काम नै अभिनय हो। कला क्षेत्रमा लागेपछि अभिनय राम्रो गर्छु भन्ने नै हुन्छ। राम्रो अभिनय गर्छु भनेर लागि पर्छु तर सकेको छैन। मेरा लागि अधुरो काम नै  यही हो। यही गर्छु भनेर मैले अधुँरो काम छोडेको छैन।

आफूले काम गरेर पाएको पहिलो कमाइ कति थियो?
दश हजार। मैले मोडलिङबाट सुरुवात गरेको हुँ।

कला क्षेत्रमा के गर्ने इच्छा छ?
अरुको भन्दा फरक अभिनय गर्ने मन छ। राम्रो चलचित्र दर्शकलाई दिने मेरो इच्छा  छ। कोसिस गरिरहेको छु।

जीवनको त्यस्तो समय तपाईं फेरि जिउन चाहनु हुन्छ?
मलाई अहिलेको समय नै एकदम रमाइलो लाग्छ। किनभने यो भन्दाअगाडि मलाई दर्शकले यति धेरै माया दिनुभएको थिएन। मैले फिल्म खेलेको पनि थिइनँ। यो भन्दा अझ रमाइलो पल  प्लस टु पढ्दाको थियो। जुन समयमा मलाई फर्कन मन लाग्छ।

कस्तो कुराले तपाईंलाई खुसी बनाउँछ?
मैले अभिनय गरेको फिल्मले चर्चा पाउँदा। यो भन्दा अर्को खुसी के नै हुन्छ होला र? मेरो अभिनयको तारिफ र गाली खाँदा नै मलाई खुसी लाग्छ। कसैले मेरो प्रशंसा गरिदियो भने अझ खुसी हुन्छु।

कस्तो कुराले चित्त दुख्छ?
मिहिनेतसाथ आफूले गरेको काममा कसैले खोट लगाइदियो भने एकदमै चित्त दुख्छ। आफूले कति मिहिनेतले काम गरेको हुन्छ अर्कोले खोट लाइदियो भने लास्टै चित्त दुख्छ।

अलिक फरक खालको प्रश्न? तपाईं सुतिरहेको कोठामा अचानक भूत प्रकट भयो भने के गर्नुहुन्छ?
पहिला म चुपचापसँग हेर्छु होला। किनभने त्यसले मलाई के गर्न खोज्दैछ? मलाई आक्रमण गर्न खोज्दैछ कि? किन मेरो कोठमा आयो होला भनेर विचार गर्थेँ होला। देख्ने बित्तिकै त के पो गर्न सकिएला र हैन। एकैचोटी कराउन पनि सकिँदैन होला।

यदि तपार्ईं नेपालको प्रधानमन्त्री बन्नुभयो भने पहिलो काम के गर्नुहुन्थ्यो?
देशमा रहेको गरिबी हटाउनेतिर लाग्छु। नेपालमा गरिब कति छन्। तिनीहरुलाई रोजगार सिर्जना गरेर काममा लगाइदिन्थेँ होला। कहिलेकाहीँ बाटोमा मान्छेहरु सुतिरहेको देख्छु? तिनीहरुलाई बस्ने व्यवस्था मिलाइ दिन्थेँ।

तपाईंलाई के देख्दा दुःख लाग्छ?
बाटोमा हिँड्दा खान नपाएर माग्न बसेको देख्दा मलाई साह्रै दुःख लाग्छ। मेरो देशका मान्छे कति गरिब रहेछन् भन्ने लाग्छ। हामी कति नाजुक अवस्थामा रहेछाैँ भन्ने मनमा लाग्छ।

प्रेम प्रस्ताव कत्तिको आउँछ?
मलाई पछिल्लो समय प्रेम प्रस्ताव धेरै नै आउँछ। म पहिला यति राम्रो थिइनँ। जब म फिल्म खेल्न थालेँ त्यसपछि मलाई धेरै युवतीले प्रेम प्रस्ताव राख्ने गरेका छन्।  म प्लस टुमा पढ्दा मलाई कसैले वास्ता गर्दैनथे। दुईवटा फिल्म खेलेपछि युवतीहरु मेरो पछि लागेका छन्।

तपाईंको गोप्य कुरा के हो जुन दर्शकलाई थाहा छैन?
गोप्य कुरा गोप्य नै हुनुपर्छ। यहाँ भनेपछि त गोप्य कुरा के नै रहन्छ र? सायद मेरो कर्ली कपाल होला। हेर्दा सिल्की देखिन्छ तर मेरो कपाल कर्ली छ। यही होला?

आफूभित्रको कमजोरी के हो जस्तो लाग्छ?
म एकदमै ज्ञानी छु। सबैसँग मिलनसार छु। अरुलाई म छिटो विश्वास गर्छु र धोका पाउँछु। मेरो कमजोरी नै अरुलाई छिटो विश्वास गर्नु हो।

तपाईँ सबैभन्दा बढी रोएको क्षण?
सायद पहिलो फिल्म खेल्दा नै होला। चलचित्र ‘ए मेरो हजुर २’ मा  रुनु पर्ने एउटा सिन थियो। सुरुमा मलाई रुनै आएन। मैले रुनका लागि कति कोसिस गर्दा पनि रुन सकिनँ । निर्देशक झरना थापाले आफ्नो प्रेमिका अर्कैले भगाएर लग्यो कसरी रुन्छौ भन्नुभयो। त्यसो भन्दा त बेस्सरी रोएँछु। सिन सकिँदा पनि रोइरहेँछु। पछि मलाई हेरेर सबैजना गलल्ल हाँसे।  

प्रकाशित: ९ असार २०७६ १०:०९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App