६ वैशाख २०८१ बिहीबार
अन्य

बा उता फर्किनुस् त !

दुई सप्ताहअघि एक जना दाइ बिहानै घरमा आउनु भयो। आउँदाआउँदै बाटोमा भएको घटना सुनाउन थालिहाल्नुभयो। उहाँ उमेरमा पचासको हारहारी हुनुहुन्थ्यो। उहाँलाई कसैले दाइ, कसैले अंकल त कसैले बा भनेर सम्बोधन गर्दारहेछन्।

आफ्नो उमेर उति धेरै नभए पनि हजूरबासम्म भन्नेहरुप्रति उहाँको चित्त दुखाइ रहेछ।

उहाँका कुरामा मलाई रुचि जाग्यो अनि भित्री कुरा कोट्याउन चाहेँ। कुराकानीकै क्रममा उहाँले भन्न थाल्नुभयो, ‘होइन, आजकालका केटाकेटीलाई के भा’ हो यो ? जहाँ गयो, त्यहीँ नयाँ नयाँ नाता झुण्ड्याएर आउनु परेको छ, के गाईजात्रा हो यो ?’

उहाँलाई सामान्य बनाउन मैले उहाँतर्फ चिया अघि सारेँ। चियाको सुर्को लिएर केही सहज हुँदै गर्दा फेरि कुरा अघि बढोस् भनेर मैले भनेँ, ‘हामीकहाँ अलि प्रोफेसनलिज्म छैन। कसलाई कहाँ के भनेर सम्बोधन गर्ने भन्ने भेउ पाउँदैनन्। प्रोफेसनालिज्म भइदिएको भए यस्तो हुँदैनथ्यो कि ?’

मेरा कुराले उहाँ अझ उत्साहित हुनुभयो, भन्नुभयो, ‘हो, हो। प्रोफेसनालिज्म चाहिँ छँदैछैन। हुँदाहुँदा एउटा अफिसमा गएको, त्यहाँ पनि ‘बा’ रे ! हैन, अफिसले सम्बोधनका स–साना कुरा पनि सिकाउँदैनन् कि क्या हो ?’

हेर्दा अति सामान्य कुरा छ। जाबो सम्बोधनको कुरा हो। अघिल्तिर उभिएको मानिसलाई हामीले के र कसरी सम्बोधन गर्ने, के नाता लगाउने भन्ने कुराले उसलाई ठूलो चोट परिरहेको हुन्छ भन्ने कुरा हामीले बुझ्दैनौँ। खासगरी ४० देखि ५० उमेरका पुरुष या महिलामा यो समस्याका रुपमा रहेको छ।

यो उमेर भनेको न त जवानीको अवस्था हो, न त वृद्धावस्था नै। त्यसैले यो उमेरका मानिसहरु उमेरप्रति बढी नै गम्भीर हुन्छन्। उनीहरुलाई आफ्नो उमेर बढेको त थाहा हुन्छ तर कसैले त्यसको जनाउ दिए भने चित्त दुखिहाल्छ।

ती दाइले भन्दै थिए, ‘आफूभन्दा पाँच सात वर्ष सानाले पनि अंकल, दाइ र बा भनेर जथाभावी साइनो लगाउन थाले। बिहान कुनै क्लबमा जगिङ र एक्सरसाइज गर्न गयो रिसेप्सनिस्टले गुड मर्निङ अंकल रे ! स्वास्थ्य चेकअप गराउन गयो, डाक्टरले यता फर्कनुस्, उता फर्कनुस् बा रे ! उनीहरुको सम्बोधन सुन्दा त म साँच्चिकै बूढो पो भएछु कि भन्ने लाग्दोरहेछ !’

उनको पीडाको पोयो अझै खुलेको थिएन। उनी अलिकति मोटा पनि छन्, शायद त्यसैले पनि थपे, ‘मान्छे अलिकति मोटो छ भन्दैमा हजूर बा नै भनिदिन त मिलेन नि !’

‘अस्ति छातिमा हल्का पीडा महसुस भयो,’ उनले थपे, ‘मैले घरमा सुनाएँ। सुन्नेबित्तिकै सबैले गंगालाल अस्पताल जान सल्लाह दिए। गइयो पनि। त्यहाँ जाँच्न बसेका डाक्टरले मलाई बूढो नदेखून् भनेर अघिल्लै दिन कालो लगाएँ, चिटिक्क परेँ। डाक्टरको छेउमा बस्नेबित्तिकै उनले भनिहाले– बा, तपाईंलाई कस्तो छ। मेरो त कन्पारो नै तातेको थियो तर केही भनिहाल्न मन लागेन र मुन्टो बटारेर ठीकै छ भनेँ।’

‘अर्को दिन मुटुमा फेरि समस्या देखियो र तत्काल अस्पतालले आकस्मिक कक्षमा पु-याइहाल्यो,’ उनले थपे, ‘मेरी श्रीमतीलाई डाक्टरले सोधे– बहिनी, बालाई के भएर ल्याउनु भयो ? मेरी श्रीमतीलाई चाहिँ बहिनी रे, मलाई चाहिँ बा रे ! डाक्टरजस्तो पढेलेखेको मान्छेको बोल्ने तरिका हो?’

मलाई यस्तो गैरव्यवसायिक बोलीबचन मन पर्दैन भन्ने श्रीमतीलाई थाहा थियो। त्यसैले हतारहतार उनले भनिन्, ‘उहाँ मेरो श्रीमान् हो, तपाईंहरु डाक्टर भएर पनि कस्तो उमेर थाहा नपाउनु भएको?’

हेर्दा र सुन्दा सामान्य लागे पनि यो हाम्रो समाजमा पछिल्लो समय देखिएको असामान्य कुरा हो। धेरैले कपाल फुलेको फुरुष देख्नेबित्तिकै अंकल र हजूर बा भनिदिने यो प्रवृत्ति र महिलालाई आमा, आन्टी र हजूरआमा भनिदिने चलन मौलाएको छ।

दाइको कुरा सुनिसकेपछि मलाई पनि केही वर्षयता गरिने सम्बोधनमा केही परिवर्तन आएको टड्कारो महसुस भयो।

घर–परिवारमा नाता लगाउनु राम्रो हो तर सार्वजनिक तथा व्यवसायिक ठाउँमा नाता लगाउँदा सबैलाई मन पर्छ भन्ने छैन। पचास वर्ष पुगेका व्यक्तिलाई मनमा म अब बुढेसकालतिर धकेलिँदै छु, मेरो व्यक्तित्वमा अलिकति कमीकमजोरी आइरहेको छ भन्ने महसुस नहुने होइन। कसरी यसलाई सन्तुलित गर्ने भन्ने लाग्न थाल्छ। यो भनेको एउटा मिडिल एज क्राइसिस हुने अवस्था पनि हो।

यस्तो अवस्थामा उनीहरु सन्तुलित हुनका लागि जिम जाने, सामाजिक कार्यमा पहिलेभन्दा बढी सक्रिय हुने गर्न थाल्छन् तर त्यो सक्रियतामा असामाजिक व्यवहार र खासगरी सम्बोधनमा ध्यान नदिइँदा उनीहरुमा खल्लोपना बढेर जाने गरेको देखिन्छ।

त्यसपछि मैले केही मध्य उमेरका व्यक्तिहरुसँग यसबारेमा सोधखोज पनि गरेँ। एक जनाले सुनाउनुभयो, ‘जगिङ गरेर आएपछि म घरअगाडि उभिइरहेको थिएँ। दुई जना विद्यार्थी देखा परे। उनीहरुले अंकल फलानो ठाउँ जाने बाटो कता हो भनेर सोधे। मलाई उनीहरुले अंकल भनेको बिल्कुलै मन परेन। तीन वर्षको पनि भएको छैन, अंकल भनिदिने ? मलाई त यस्तो रिस उठ्यो कि उल्टो बाटो देखाइदिएँ।’

जब कसैको सोचविपरीतका कुरा कानमा पर्न थाल्छन्, मान्छे त्यसै बिरामी हुन थाल्छ। कतिपय त उमेर बढ्न थाल्यो भनेर जिम, अस्पताल आदि जान थाल्छन्। झन् त्यहाँ उनीहरुले अंकल र बाको पदवि चाँडो पाउन थाल्छन्। यसले उनीहरुमा चिढचिढाहट बढ्न थाल्छ।

यस्तोमा तपाईं/हाम्रो अघिल्तिर उभिएको मानिस पाको उमेरको छ भने पनि कम उमेरको भनिदिँदा उसको मनमा आनन्द आउँछ भने किन नभन्ने? उनीहरु तपाईंको बुबाको उमेरको छ भने दाइ भन्न मिल्छ वा उसलाई खुसी पारिदिने कुनै शब्द उच्चारण गर्न सकिन्छ भने किन नगर्ने? यस्तो भयो भने हामीले मानसिक रोग कम गर्न भूमिका खेलिरहेका हुन्छौँ। हामीले ५० वर्ष कटेका युवाहरुलाई सहयोग गरिरहेका हुन्छौँ स्वस्थ हुन भने त्यस्तो सहयोग किन नगर्ने?

प्रकाशित: ९ असार २०७६ ०७:५३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App