काठमाडौं - चर्चा र विवादमा रहेको लोक गीत 'गलबन्दी'को विषयले संसदमा समेत प्रवेश गरेको छ। छोटो समयमा निकै चर्चा कमाएको उक्त गीत चोरीको आरोप लागेपछि चुलिएको विवाद संसदमा प्रवेश गरेको हो। नेपाली कांग्रेसका सांसद तथा पूर्व मन्त्री मीनबहादुर विश्वकर्माले संसदमा ‘गलबन्दी’ गीतको विवादका विषयमा बोलेका छन्।
'विगत केही दिनदेखि के बालक के वृद्ध, हरपल सबैको मुखमा गुनगुनाउने धुन बनेको छ 'गलबन्दी च्यातियो तिमले तानेर'। उनले भने, 'नेपाली सांगितिक इतिहासमा छोटो समयमै डेढ करोड दर्शक बनाउने कुरा सामान्य विषय होइन। संसारभरी नेपाली मनले मात्रै होइन विदेशी मनले पनि यही धुन गुनगनाइरहेका छन्।'
नेपालको मौलिक संस्कृतिलाई समृद्ध बनाउने प्रकाश सपुत र शान्तिश्री परियालाई सरकारले सम्मान गर्नुपर्नेमा उल्टै सत्तारुढ दलकै सांगितिक क्षेत्रमा आवद्ध कलाकार शम्भू राइले मेरो लय नक्कल गरेको भनेर मुद्दा हालेको भन्दै उनले असन्तुष्टि जनाए। विश्वकर्माले भने, ‘हामीले ख्याल गर्नुपर्ने कुरा भनेको लोकलय पुर्खाले गाएको गीतलाई पछिल्लो पुस्ताले सिक्दै पछिसम्म जीवित राख्ने हो।’
गलबन्दी गीतको समर्थन गर्दै प्रकाश सपुतले गाएको गीत कुनै भाकासँग नमिलेको दाबी समेत गरे। शम्भू राईले सामान्य कलाकारले गरेको काममा चोरी गरेको भन्नु लज्जास्पद रहेको उनले बताए। राईका मतियारहरुले सामाजिक सञ्जालको प्रयोग गर्दै प्रकाश सपूतलाई अति निच गाली गर्दै जातीय विभेदपूर्ण शब्द प्रयोग गरेको भन्दै विश्वकर्माले निन्दा गरे।
संविधान, सदभाव र कानूनको विरुद्ध हुने गरी दलित समुदायलाई अपमानित गरेको भन्दै कारवाहीको समेत माग गरे। उनले आरोपीलाई कानूनी कारवाहीमा नल्याए सम्पूर्ण दलितहरु आन्दोलनमा उत्रने चेतावनी पनि दिएका छन्।
प्रकाशित: ९ असार २०७६ ०७:३२ सोमबार