७ वैशाख २०८१ शुक्रबार
अन्य

अस्पतालद्वारा बिरामी लिन आनाकानी

दमकको सर्पदंश उपचार केन्द्रमा उपचारका लागि आएका बिरामी। यो उपचार केन्द्रमा वर्षायाममा दैनिक ५ देखि १० जना बिरामीले उपचार सेवा पाउने गरेका छन्। तस्बिरः युवराज/नागरिक

दमक– सर्पको डसाइबाट गम्भीर बिरामीहरूका लागि अस्पतालले भेन्टिलेटरमा राख्न अस्वीकार गर्ने गरेको छ। विषालु सर्पको टोकाइबाट बिरामी भएकाको उपचारमा अस्पतालले आइसियु सेवा दिन नमान्ने गरेको हो।

पूर्वमा सर्पको डसाइको राम्रो उपचार हुने भनेर परिचित नेपाल रेडक्रस सोसाइटी उपशाखा दमकमा आउने गम्भीर बिरामीलाई अस्पतालले सुविधा दिनै मान्दैन। उपशाखा दमकका सभापति प्रकाश बुढाथोकीका अनुसार भेन्टिलेटरमा राख्ने अवस्थामा रहेका बिरामीहरूलाई अस्पतालले राख्न अस्वीकार गर्ने गरेको छ। ‘भेन्टिलेटरमा राख्ने बिरामी एकदमै गम्भीर अवस्थामा हुन्छ, तर अस्पतालले बेड नभएको भनेर फर्काउने गरेको छ’, उनले सुनाए, ‘धेरै नाम चलेका र प्रतिष्ठित अस्पतालले पनि यस्तो गर्ने गरेका छन्।’

‘दमकको रेडक्रसमा दैनिक ५ जनासम्म सर्प डसाइका बिरामी आउँछन्। त्यसमध्ये १० प्रतिशत भने उच्च विषालु सर्पले डसेका बिरामी हुन्छन्, सर्पदंश उपचार केन्द्रका प्राविधिक खेम अधिकारीले भने, ‘गम्भीर प्रकृतिका बिरामीले भने भेन्टिलेटर पाउनै मुस्किल हुन्छ।’ यस वर्षको चैतदेखि असारको पहिलो सातासम्म २ सय ३६ जना बिरामीले उपचार पाएका छन्। अधिकारीका अनुसार चैतदेखि असोजसम्म सर्प डसाइको प्रकोप अत्यधिक हुने गर्छ। जेठमा त मासिक १ सय जना बिरामी आएका थिए।

भेन्टिलेटरमा बिरामी राख्न नपाएको समस्या त उपशाखाका एम्बुलेन्स चालक लक्ष्मी मिश्रलाई धेरै पटक परेको छ। जटिल अवस्थामा रहेको बिरामीलाई अस्पतालसम्म पु¥याउँदा भेन्टिलेटरमा बेड नभएको भनेर उनले धेरै पटक बिरामी फर्काएका छन्। ‘अस्पतालले जोखिम मोल्न चाहँदैन, त्यसै पनि सर्पले डसेका बिरामी भेन्टिलेटरमा राख्न अवस्था एकदमै जटिल पनि हो’, उनले भने, ‘तर भर्ना नलिएपछि धेरै अस्पताल दौडाउनु पर्छ।’

यस्तै समस्या भएरै दमक रेडक्रसले अस्थायी भेन्टिलेटर राखेको छ। त्यसले केही घन्टासम्म श्वासप्रश्वास गराउन सक्छ। धेरै पटक बिरामीलाई अस्पतालसम्म पु¥याउँदा बाटैमा ज्यान गएको देखिएपछि हामीले अहिले अस्थायी भेन्टिलेटर राखेका छांै’, सभापति बुढाथोकीले भने, ‘त्यसले अस्पतालसम्म भेन्टिलेटर खोज्दै दौडन सहयोग पु¥याएको छ।’

चालक मिश्रका अनुसार बिरामीसँग तत्काल पैसा नहुने र बिरामीको ज्यान गए अस्पतालमा लफडा हुने भनेपछि धेरै अस्पतालले राख्न मान्दैनन्। धरानको बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा रहेको आइसियू खालि नहुने भएकाले समेत बिरामीले अन्यत्र जानुपर्छ। उनले कहिलेकाहीं त विराटनगरका सबै अस्पतालमा चहार्दा पनि भेन्टिलेटर नपाएको अनुभव पनि सुनाए। ‘कतिमा भेन्टिलेटर छ भनिन्छ तर सर्पले डसेका बिरामी राख्ने भनेपछि अस्वीकार गर्छन्’, उनले भने, ‘यस्तो समस्याले त हामीलाई हैरानै बनाएको छ।’

त्यसो त दमकका ३ वटा अस्पतालमा भेन्टिलेटर नै छ। तर तीनले पनि राख्न अस्वीकार गर्छन्। सभापति बुढाथोकीले धेरै पटक आम्दा र लाइफलाइन अस्पतालमा दबाब दिएरै बिरामी राख्न लगाएको बताए। ‘भेन्टिलेटरमा नराखे बिरामीको मृत्यु हुन्छ, राख्न खोज्दा दिँदैनन्’, उनले बाध्यता सुनाए, ‘हामी कतिपयको जमानी बसिदिएर पनि गरिदिने गरेका छाैं।’ दमकको सर्पदंश उपचार केन्द्रका इन्चार्ज देवी भण्डारीका अनुसार सामान्य केशमा एन्टिस्नेक भेनम नै प्रयोग गरेर बिरामी उपचार गरिन्छ। तर असामान्य अवस्थाका बिरामीलाई भेन्टिलेटरमा राखिनुपर्छ’, उनले भने, ‘वाल करेतले टोकेका बिरामीलाई अनिवार्य भेन्टिलेटर चाहिन्छ, त्यस्तो अवस्थामा भने धेरै समस्या पर्छ।’

गाउँमा सर्पको जोखिम बढी
दमकको सर्पदंश उपचार केन्द्रमा इलाम र पाँचथरको दक्षिण, पश्चिम मोरङदेखि झापाका बिरामीसम्म आउने गर्छन्। धेरैजसो खेतबारीमा काम गर्दा सर्पको टोकाइको जोखिममा पर्ने प्राविधिकहरू बताउँछन्। ‘घरमा यता उति काम गर्दा पनि सर्पले टोक्छ, कृषि कर्म गर्ने किसानहरू बढी मात्रामा सर्पको टोकाइबाट पीडित छन्’, दमक सर्पदंश उपचार केन्द्रका इन्चार्ज भण्डारीले भने, ‘विशेषगरी मोरङका इटहरा, पथरी, टाँडी, केराबारीबाट बढी सर्पको डसाइका बिरामी आउने गर्छन्।’ करेसाबारीको काम गर्दा, बाख्रा, वस्तुको काम गर्दा र बेलुका बाहिर निस्कँदा बढी मात्रामा सर्पको आक्रमणमा परिने गरेको छ।

सरकारले सर्पको उपचारका लागि एन्टी स्नेक भेनमसमेत उपलब्ध गराएको छ। ‘हामीले सबै बिरामीका लागि २ हजार २ सय पचास रुपैयाँ राखेका छौं, त्यसले अरु जोखिमयुक्त बिरामीका लागि समेत समान उपचार खर्च राखेका छौं’, सभापति बुढाथोकीले भने, ‘अविषालु र विषालु सर्पको एउटै मूल्य राखेका हांै।’ उनका अनुसार गोमन सर्प विषालु भए त्यसको उपचारमा ५० हजारभन्दा बढी खर्च आउँछ। तर रेडक्रसले सबै बिरामीका लागि समान रकम लिएर उपचार गर्ने गरेको छ।

सर्पको टोकाइबाट मृत्यु नहोस् भन्नलाई दमक रेडक्रसले ४ सय ५० वटा मोटरसाइकल एम्बुलेन्स तयार पारेको छ। तीनले सर्पको टोकेको ठाउँबाट दमकसम्म उपचारका लागि ल्याउने गर्छन्। ‘सर्पले टोकेपछि मानिसको मृत्यु नहोस् भन्नलाई झापा, इलाम र मोरङमा हामीले मोटरसाइकल स्वयंसेवक राखेका छांै’, बुढाथोकीले भने, ‘तीनले दमकसम्म बिरामीलाई उपचारका लागि ल्याउने गर्छन्।  त्यसले ल्याएपछि दूरीअनुसार रेडक्रसले २ सयदेखि १ हजारसम्म इन्धन खर्च भनेर उपलब्ध गराउने गरेको छ। बर्खाको समयमा बाटो पनि हिलो हुने र सवारी साधन पनि पुग्न नसक्ने अवस्थामा मोटरसाइकल सबैभन्दा उपयुक्त हुन्छ भनेर हामीले राखेका हौं, उनले थपे, ‘त्यसले सर्पका सबै बिरामीहरू अस्पतालसम्म आइपुग्छन्।’

दमक रेडक्रसमा वार्षिक १ हजार ३ सय बिरामी उपचार गर्न आउँछन्। तीमध्ये १० प्रतिशत अतिविषालु सर्पले टोकेका बिरामी छन्। पूर्वमा ९ प्रकारका विषालु सर्प छन्। त्यसमध्ये ६ वटा करेत जातका छन् भने ३ वटा गोमन जातका छन्। रेडक्रसले सर्पको अध्ययन र अनुसन्धानमा सहज बनाउनका लागि सर्पको संग्रहालयसमेत बनाएको छ। त्यसमा विभिन्न ३० जातिका सर्पसमेत राखिएको छ। सर्पलाई नकुहिने फर्मालिन हालेर राखिएको छ।

प्रकाशित: ९ असार २०७६ ०७:२४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App