coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अन्य

सहिद र घाइतेलाई प्रदेश सरकारको भैंसी

उन्नत जातको भैंसी हस्तान्तरण गर्दै प्रदेश २ का भूमि व्यवस्था कृषि एवम् सहकारी मन्त्री शैलेन्द्रप्रसाद साह। तस्बिरः नागरिक

राजविराज– मधेस आन्दोलनका सहिद तथा घाइते परिवारलाई प्रदेश २ का सरकारले जीविकोपार्जनका लागि उन्नत जातको भैंसी प्रदान गर्ने भएको छ। सोही योजना अनुरुप आइतबार सप्तरीको मलेठमा आयोजित एक कार्यक्रममाझ सहादत प्राप्त गरेका सप्तरीका १८ जना सहिद परिवार तथा १६ जना घाइतेका परिजनलाई नगद ३० हजारसहित एक/एक थान भैंसी वितरण गरिएको छ।

प्रदेश २ का भूमि व्यवस्था तथा कृषि एवम् सहकारी मन्त्री शैलेन्द्रप्रसाद साहले सहिद एवम् घाइते परिवारलाई नगदसहित उन्नत जातको भैंसी हस्तान्तरण गरेका हुन्। २०६२ सालदेखि भएको विभिन्न समयका आन्दोलनका क्रममा प्रहरीको गोली लागेर सहिद तथा घाइते भएका परिवारलाई आयश्रोत जुटाउन मद्दत पु¥याउने उद्देश्यले प्रदेश सरकारले उक्त योजना ल्याएको मन्त्री साहले जानकारी गराए।

सप्तरीको मलेठबाट सुरु गरिएको यो कार्यक्रम प्रदेशका सबै ८ वटै जिल्लामा लागू हुने जानकारी गराउँदै मन्त्री साहले भने, ‘सहिद र घाइते परिवारले चुकाएको मूल्य हामी कहिले पनि तिर्न सक्दैनाैं, हामी सधैंभर उहाँहरूको ऋणी रहिरहने छौं, तापनि उहाँहरूलाई जीविकोपार्जनमा थोरै सहजता होस् भनेर प्रदेश सरकारले यस्तो कार्यक्रम ल्याएको छ।’

२०६२ सालदेखि सुरु भएको मधेस आन्दोलनका क्रममा प्रदेश २ मा प्रहरीको गोली लागेर ५८ जनाको मृत्यु भएको छ भने ६४ जना घाइते भएको मन्त्रालयको तथ्यांकले देखाएको छ। दैनिक १० देखि १२ लिटरसम्म दूध दिने उक्त उन्नत जातका भैंसीको रेखदेख, गोठ निर्माण, औषधि र आहाराका लागि नगद ३० हजारसमेत प्रदान गरिएको मन्त्रालयका सचिव विजयकान्त झाले जानकारी दिए।

सो अवसरमा मन्त्री साहले एक सहिद परिवार, एक रोजगार कार्यक्रमअन्तर्गत सहिद परिवारलाई रोजागरी दिइने काम यसअघि नै सकिएको तथा अब प्रदेश सरकारबाट दिन सकिने थप सेवा सुविधा दिन लागिएको बताए। मन्त्रालयले भंैसी लिन चाहने इच्छुक सहिद र घाइते परिवारलाई लक्षित गरी आवेदन माग गरेको थियो। प्राप्त आवेदनको छानबिनपछि सम्बन्धित व्यक्तिलाई भैंसी प्रदान गर्न लागिएको सचिव झाले जानकारी दिए।

प्रकाशित: ९ असार २०७६ ०७:०६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App