coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
अर्थ

‘निजगढ विमानस्थलमा सरकारको उदासिनता’

निजगढ विमानस्थलबारे वीरगन्जमा आइतबार आयोजित कार्यक्रम। तस्बिर : रितेश त्रिपाठी/नागरिक

वीरगन्ज - देशकै विकासको लागि महŒवपूर्ण हुने भनिएको निजगढ विमानस्थल निर्माणमा सरकार उदासिन भएको सरोकारवालाले आरोप लगाएका छन्। वीरगन्जमा आइतबार आयोजित कार्यक्रमका सहभागीले यस्तो आरोप लगाएका हुन्। गत वर्षसम्म निकै चर्चामा रहेको यस विमानस्थलबारे संघीय सरकारको ०७६÷७७ को बजेटले ठोस रुपमा केही सम्बोधन नगरेपछि यस्ता आरोप उब्जिएका हुन्।

नेपालमा पर्यटकीय तथा हवाई यातायात व्यवस्थापनका दृष्टिकोणले सबैभन्दा प्रभावकारी बताइएको यस विमानस्थलको अवधारणा २०५२ देखि आएको हो। त्यतिबेला नेपाल सरकारले एनइपिआइसिओ÷आइआरएडी कम्पनीलाई अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका लागि प्रारम्भिक अध्ययन सर्वेक्षण गर्ने जिम्मा दिएको थियो। उक्त संस्थाले नेपालमा सम्भावित आठ ठाउँमा सर्वेक्षण गरेपछि निजगढलाई सबैभन्दा उपयुक्त ठहर गर्दै प्रतिवेदन बुझायो। करिब २४ वर्षको अन्तरालपछि पनि सबैभन्दा उपयुक्त देखिएको ठाउँमा विमानस्थल बनाउनेतिर सरकारको पहलकदमी नभएको र अरु योजनालाई प्राथमिकता दिइएको सरोकारवालाले ठहर गरे।

‘समग्र देशको विकासका निम्ति निजगढ विमानस्थलको महŒव छ, सरकारले यसलाई प्राथमिकताको योजनामा राख्नुपर्ने हो,’ वीरगन्जका नगरप्रमुख विजय सरावगीले भने, ‘कम पर्यावरणीय क्षतिमा यस विमानस्थललाई बनाउन सकिन्छ, सरोकारवालाको हैसियतले हामीसँग सरकारले यसबारे अहिलेसम्म छलफल गरेको छैन, कुन मोडेलमा र कसरी यो योजना बनाउन सकिन्छ त्यसमा ठोस नीति तय गर्नमा ढिलाइ हुनु हुँदैन।’ उनले विदेशी लागानीमा उनीहरुले नै सञ्चालन गर्ने गरी विमानस्थल बनाउन दिनुहुँदैन भन्ने मत राखे। लगानीको बदला ठाउँ नै विदेशीको कब्जामा पर्न सक्ने खतरा रहेको नगरप्रमुख सरावगीले औंल्याए।

कांग्रेस नेता अनिल रुँगटाले निजगढ विमानस्थल बनेपछि देशको पर्यटन व्यवसायमा टेवा पुग्ने र प्रदेश २ तथा वीरगन्ज क्षेत्रको पर्यटन व्यवसायले निकै फड्को मार्ने बताए। उनले पूर्वका देशबाट पश्चिम र पश्चिमबाट पूर्व जाने ठूला उडानको ट्रान्जिट विमास्थलका रुपमा निजगढ विमानस्थल एसियाको एउटा महŒवपूर्ण थलो बन्ने दावी गरे।
प्रारम्भीक अध्ययनकै बेला जग्गाको उपयुक्तता, धावनमार्गका लागि आवश्यक क्षेत्रफल, भौगोलिक अवस्थिति, एयर रुट, एयर स्पेस, वन्यजन्तु संरक्षित क्षेत्रसँगको दूरी, देशका महŒवपूर्ण सहरसँगको नजदिकी, जग्गा मुआब्जा लागतलगायत विविध पक्षको अध्ययन गरेर सुरुकै प्रतिवेदनले निजजगढलाई सबैभन्दा उपयुक्त भनेको निजगढ विमानस्थल निर्माण योजनाका प्रमुख ओम शर्माले बताए।

होटेल तथा पर्यन व्यवसायि संघ, पर्सा र पर्यटन पत्रकार संघ पर्साको आयोजनामा भएको कार्यक्रममा यहाँका प्रमुख जिल्ला अधिकारी नारायण भट्टराईले विमानस्थल निर्माणको विषयलाई अगाडि बढाउन ठोस पहलकदमी आवश्यक रहेको बताए।पत्रकार महासंघ पर्साका अध्यक्ष श्याम बञ्जाराले राजनीतिक प्रतिबद्धता आवश्यक रहेको बताउँदै दबाब बढाउँदै लैजानुपर्नेमा जोड दिए। कार्यक्रमको अध्यक्षता होटेल तथा पर्यन व्यवसायी संघ, पर्साका अध्यक्ष हरी पन्तले गरेका थिए।

प्रकाशित: ९ असार २०७६ ०४:२७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App