६ वैशाख २०८१ बिहीबार
अर्थ

एभरेस्ट होटल दसैंअघि खुल्दै

मिनराज भण्डारी
काठमाडौं - भूकम्पका कारण चार वर्षदेखि बन्द रहेको एभरेस्ट होटल आगामी दसैंअगावै सञ्चालनमा आउने तयारीमा छ।४० वर्षदेखि सञ्चालनमा रहेको पाँचतारे होटल २०७२ मा गएको भूकम्पबाट प्रभावित भएर बन्द थियो। होटलले हालै विभिन्न तहका ५० पदमा कर्मचारी भर्ना गर्न सार्वजनिक रुपमा विज्ञापन गरेको छ।

भूकम्पले होटल बन्द भए पनि कार्यरत कर्मचारी र व्यवस्थापनबीच विवाद थियो। एभरेस्ट होटल आधिकारिक ट्रेड युनियनका अध्यक्ष होम सुवेदीका अनुसार अहिले होटल व्यवस्थापन र पूर्वकर्मचारीको संयुक्त संघर्ष समितिबीच होटल खोल्ने सहमति भएको छ। साउन १ देखि होटल खोल्ने सहमति भए पनि भौतिक पूर्वाधारको काम नसकिएकाले दसैं अगाडिसम्म समय धकेलिएको छ।

‘०७१/७२ सालको बोनस पाउने तथा अहिले संघर्ष समितिमा रहेका कर्मचारीले साढे १२ महिनाको तलब पाउने र त्यही समय अनुसारको सञ्चय कोषको सुविधा पाउने सहमति भएपछि हामी पनि होटल पुनः सञ्चालन गर्ने सहमतिमा पुगेका छौं,’ सुवेदीले भने। सहमति अनुसार होटल बन्द हुनुपूर्व कार्यरत दुई सय ७७ जना मजदुरमध्ये टे«ड युनियनद्वारा गठित सयुक्त संघर्ष समितिमा रहेका एक सय ३१ जनालाई  निःसर्त पुनः काममा फर्काउने गरी अहिले होटल पुनर्निर्माणको काम धमाधम भइरहेको छ।

‘अहिले होटल व्यवस्थापनले कर्मचारी भर्नासम्बन्धी विज्ञापन जारी गरेको छ। कार्यरत पुराना केही साथीमध्ये ५–६ जना सेवा निवृत भइसकेका र केही होटल बन्दपछि अन्त काममा लागेका कारण पुराना कर्मचारी सबै फर्कन सम्भव नभएकाले विज्ञापन गरिएको हो,’ उनले भने।

सहमति अनुुसार होटल साउन १ देखि सञ्चालनमा आउने जनाइए पनि होटल मर्मतसम्भार तथा रंगरोगनको काम जारी रहेकोले दसैंसम्ममा सञ्चालनमा आउनेमा आफूहरु विश्वस्त रहेको उनले बताए। ३२ रोपनी क्षेत्रफलमा फैलिएको होटल पुनर्निर्माण तथा सञ्चालनका लागि जनता बैंकसँग ७५ करोड तथा लुम्बिनी विकास बैंक र अन्य वित्तीय संस्थासँग ऋण लिइएको उनले बताए। भूकम्पका कारण होटलको पाँचवटा पिलरमा समस्या भएपछि जापानी विशेषज्ञ टोली मियामोटोले मर्मतको काम गरेको थियो।

अहिले होटलका पाँचवटा पिलर रेट्रोफिटिङ गरिएको छ। वैशाख १२ को भूकम्पपछि हरियो स्टिकर पाएर सञ्चालनमै रहेको होटलमा वैशाख २९ गतेको भूकम्पपछि रातो स्टिकर लगाइएको थियो। होटल २०७२ जेठ १४ बाट पूर्ण रुपमा बन्द थियो।

होटल बन्द भएपछि सयौं मजदुरले रोजगारी गुमेको भन्दै आन्दोलन घोषणा गरेर धर्ना बसेका थिए। २०३७ सालमा उद्योग विभागबाट सञ्चालन स्वीकृति लिएर भारतीय नागरिक मकबुल अहमद लारीले होटल सञ्चालनमा ल्याएका थिए।
२०६१ जेठ १ गते उनको मृत्यु भएपछि लारी परिवारमा सेयर सम्बन्धी विवाद सुरु भएको थियो। मकबुलका छोरा मुजब्फर लारीले बुुवाको नाममा रहेको सेयर पाउनुपर्ने भन्दै काठमाडौं जिल्ला अदालतबाट सुरु गरेको सेयर विवादसम्बन्धी मुद्दा सर्वाेच्चसम्म पुगेको थियो।

इन्भेस्टमेन्ट बैंकमार्फत मकबुल अहमद लारीले आफ्ना भतिजा बुहारीलाई सेयर बेचेकोे पैसा भुक्तानी भएको देखिएपछि सर्वाेच्चले मकबुलका भतिजा बुहारी मस्कुर अहमद र भतिजा बुहारी निम्जा अहमद लारीको पक्षमा फैसला गरेको थियो।

होटल सञ्चालकले भूकम्पको कारण देखाउँदै अनुगमनमा आएको हान सहितको सरकारी टोलीलाई रातो स्टिकर टाँस्न लगाएको आरोप लगाउँदै मजदुरले परिवारिक विवादका कारण आफ्नो रोजीरोटी गुम्न नहुने माग राख्दै आएका थिए। रातो स्टिकर टाँसिएको करिब तीन वर्षपछि पुनःनिर्माण सुरु गरिएको थियो।

प्रकाशित: ९ असार २०७६ ०४:१३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App