coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
कला

पलेँटीमा ‘मुनामदन’ गुन्जन

काठमाडौं – यो महिनाको सांगीतिक कार्यक्रम ‘पलेँटी शृंखला’मा संगीतकार शान्ति ठटालले धुन भरेको ‘मुनामदन’ प्रस्तुत हुने भएको छ। महाकवि लक्ष्मीप्रसाद देवकोटाको कृति ‘मुनामदन’मा शान्ति ठटालले सन् ७० ताका संगीत भरेकी थिइन्। संगीतकार ठटालकै अगुवाइमा सन् १९७७ मा गान्तोकमा यसको प्रदर्शन गरिएको थियो। गीति–नाटककै स्वरूपमा प्रदर्शित यो कृतिका धुन भने बिस्तारै विस्मृतिमा गएका थिए।

पलेँटीका अनुसार गतवर्ष पलेँटीमा सहभागिता जनाउन आएकी शान्तिबाटै कृतिका धुन विस्मृतिमा गएको जानकारी पाएपछि पलेँटीले उनलाई आफ्ना पुराना धुन सम्झन अनुरोध गरेको थियो। पलेँटीको अनुरोधलाई स्वीकार्दै उनले सिक्किमको एकान्त बासमा पुगेर सम्झने काम गरेकी थिइन्। त्यसकै परिणाम स्वरूप संगीतकार ठटालले सिर्जना गरेका ‘मुनामदन’का धुन पलेँटीको अभिलेखालयमा अंकित हुने भएका छन्। गत महिनाको पलेँटीमा नयाँ पुराना संगीत प्रस्तुत गरेकी ठटालले त्यसयता ‘मुनामदन’को संगीत संयोजनमा क्रियाशील ठटाल काठमाडौंमै रहेर आफ्ना धुनहरूलाई परिमार्जन गरिरहेकी छन्।

नेपाली गीति साहित्यमा लोकप्रिय ‘मुनामदन’ले नेपालीभाषीहरूको ठूलो परिवेशलाई प्रभावित गरेको झलक यसपटकको पलेँटीमा स्पष्ट देखिने भएको छ। यो पलेँटीमा दार्जिलिङमा जन्मेर सिक्किमलाई कार्यथलो बनाएकी संगीतकार ठटालसँगै मिरिकमा जन्मेर सिक्किमलाई कार्यथलो बनाएकी विमला सेन्चुरी प्रधान र मनिपुरमा जन्मेकी गायिका मिना निरौला ‘मुनामदन’का हरफमा सुनिनेछन्।

‘मैले उहिल्यै धुन भरेको मुनामदन झण्डै झण्डै भूली सकेकी थिएँ। पलेँटीको अनुरोधले सम्झने प्रयत्न गरेकी छु। यसको रङ भने लोकले गाउँदै आएको मुनामदनकै मौलिक धुनमा आधारित छ’, शान्तिले भनिन्,‘सन् ७७ ताका गान्तोकमा कार्यरत हुँदा यसको प्रस्तुती भएको थियो। त्यतिबेला मुनामदन गीतिनाटकको निर्देशक मै थिएँ।’ ‘मुनामदन’को यो प्रस्तुतिमा दुई महिना पहिलेको पलेँटीमा छन्द कविताहरूको प्रस्तुति गरेर प्रशंसा बटुलेकी भूषिता वशिष्ठ सूत्रधारको रूपमा प्रस्तुत हुनेछिन्। यो पलेँटीमार्फत् काठमाडौंले सिक्किम, दार्जिलिङ र मनिपुरका चेलीहरूको संगम गराउने भएको छ। ‘मुनामदन’मा पलेँटीका संयोजक आभासलगायत बाँसुरीवादक बलराम समालको स्वर पनि सुन्न पाइने छ। नेपालयको ‘आर’शालामा अभ्यासरत शान्ति र उनको समूहलाई वाद्यवादनतर्फ किबोर्डमा दिनेश रेग्मी, तबलामा सन्देश महर्जन, गिटारमा सुरज प्रधान, प्रकसनमा सुन्दर महर्जन र बाँसुरीमा बलराम समालले साथ दिनेछन्। यही जून महिनाको २८, २९ र ३० तारिख अर्थात् असार १३, १४ र १५ गते हुने पलेँटी कालिकास्थानस्थित नेपालयको कार्यक्रमस्थल ‘आर.शाला’मा प्रस्तुत हुनेछ।

प्रकाशित: ९ असार २०७६ ०३:५६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App