८ वैशाख २०८१ शनिबार
खेल

आर्मी र पुलिसलाई सफलता

काठमाडौं – विभागीय टोलीद्वय त्रिभुवन आर्मी र नेपाल पुलिस क्लब आइतबार राजधानीमा जारी ललित मेमोरियल यु–१८ च्याम्पियनसिपमा विजयी भएका छन्। अखिल नेपाल फुटबल संघ (एन्फा) मुख्यालयमा भएको दिनको पहिलो खेलमा आर्मीले फ्रेन्ड्स क्लब कुपन्डोललाई २–० ले पराजित गर्दा नेपाल पुलिसले जावलाखेल युथ क्लबलाई २–१ ले हरायो।

आर्मीका लागि विशाल बस्नेतले खेलको चौथो मिनेटमा गोल गर्दै टोलीलाई सुरुआती अग्रता दिलाएका थिए। ३८औं मिनेटमा जय अधिकारीको गोलबाट अग्रता दोब्बर पारेको थियो। पहिलो हाफमा लिएको अग्रतापछि दोस्रो हाफमा डिफेन्सिभ खेल खेलेको आर्मीले थप गोल गर्न सकेन। फ्रेन्ड्सले दोस्रो हाफमा खेलमा फर्किन प्रयास गरे पनि सफल हुन सकेन र पहिलो खेलमा नै पराजित हुन पुग्यो।

आइतबारको पहिलो जितसँगै समूह ‘बी’ मा रहेको आर्मीले जारी प्रतियोगितामा तीन अंक जोड्न सफल भएको छ। उता पराजित फ्रेन्ड्सले हारबाट प्रतियोगिताको सुरुआत गरेको छ। यस्तै आइतबारै सम्पन्न दिनको दोस्रो खेलमा अर्को विभागीय टोली पुलिसलाई जिताउन सन्जु सेन एक्लैले दुई गोल गरे। उनको दुई गोल मद्दतमा पुलिसले जित निकाल्न सफल भएको हो। १६औं मिनेटमा सन्जुले गोल गर्दै पुलिसलाई अग्रता दिलाए पनि ३०औं मिनेटमा जावलाखेलका कप्तान साचु गुरुङले गोल गर्दै खेल बराबरीमा ल्याएका थिए।

पहिलो हाफ १–१ को बराबरीमा सकिएको खेलको दोस्रो हाफको अन्तिम मिनेटमा पुलिसका सन्जुले व्यक्तिगत दोस्रो गोल गर्दै जित सुनिश्चित गरेका थिए। जितसंगै समूह ‘सी’ बाट पुलिसले पनि तालिकामा ३ अंक जोडेको छ। जावलाखेलले भने हारबाट प्रतियोगिताको सुरुआत गरेको छ। एन्फाका पूर्वउपाध्यक्ष ललितकृष्ण श्रेष्ठको स्मृतिमा अखिल नेपाल फुटबल संघ (एन्फा) ले आयोजना गरेको प्रतियोगितामा ‘ए’ डिभिजनका १४ क्लबले प्रतिस्पर्धा गरिरहेका छन्। लिग कम नकआउटका आधारमा सञ्चालन हुने प्रतियोगितामा सहभागी टोलीलाई तीन समूहमा विभाजन गरिएको छ। समूह चरणका विजेता र उपविजेतासहित उत्कृष्ट २ टोलीले नकआउट चरणमा स्थान बनाउनेछन्। प्रतियोगिताको विजेताले ३ लाख रुपैयाँ प्राप्त गर्नेछ भने उपविजेताले १ लाख ५० हजार रुपैयाँ पाउनेछ।

 

प्रकाशित: ९ असार २०७६ ०३:२७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App