coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
राजनीति

संघीय निजामती विधेयक पनि विवादित

काठमाडौं - प्रतिनिधिसभाको राज्य व्यवस्था समितिमा छलफलको क्रममा रहेको संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाको सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक विवाद कायम नै रहेको छ। बैठकले सहमति गरेको भनिएका विषयहरू पनि पुन छलफलका क्रममा आउने खतरा देखिएको छ। संघीय निजामती सेवा विधेयकमाथि छलफल संरचनामा नै विवाद रहेको छ। समिति सदस्य झपटबहादुर रावलले समितिमा भएका हालसम्मका सहमति विधेयकमाथि पूर्ण सहमति हुँदा हेरफेर हुनसक्ने अवस्था आउने देखिएको बताए। उनले कतिपय सहमति भएका विषयमा पनि पुन छलफलको जरुरी देखिएको बताए।

सहसचिवमा ५० प्रतिशत खुलाबाट आउनुपर्ने विषय समितिमा उठेको छ भने कुनै पनि कर्मचारीले दुई ठाउँमा मात्र प्रतिस्पर्धा गर्न पाउने व्यवस्था गर्नुपर्ने आवाज समितिमा उठेको उनले बताए। सचिव भएपछि अवधिको ५० प्रतिशत काम हेरेपछि थप कामगर्ने जिम्मेवारी दिनुपर्ने व्यवस्था राख्ने विषय पनि समितिमा उठेको उनले बताए।

आइतबार बसेको समितिको बैठकमा श्रेणी र तहगत व्यवस्थामा सांसद र सचिवको कुरा बाझिएपछि त्यो विषयमा छलफल रोकिएको छ।

कुमार पौडेल मारिएको विषयमा समितिमा छलफल हुने

राज्य व्यवस्था समितिले दोहोरो भीडन्तका क्रममा प्रहरीको गोलीबाट सर्लाहीमा मारिएका नेकपा विप्लव समूहका नेताकुमार पौडेलका बारेमा गृहमन्त्रीसँग छलफल गर्ने भएको छ। समितिले सोमबार गृहमन्त्रीसँग समितिमा छलफल गर्ने जनाएको छ। बैठकमा नेकपा सांसद जनार्दन शर्माले पौडेलको मृत्यु गम्भीर प्रकृतिको भएको भन्दै गृहमन्त्रालयसँग छलफल गर्नुपर्ने बताएका थिए। ‘संविधान र कानुनभित्र कारबाही गर्न उचित हुन्छ त्यसमा हाम्रो केही आपत्ति छैन।

तर, निर्मम ढंगले मारिएको भन्ने सूचनाहरू जनस्तरबाट बुझेको हुनाले यो मलाई त पञ्चायती बर्बरताको जस्तो कुरा लाग्यो,’ उनले भने। सोमबार गृहमन्त्रीलाई विपद् व्यवस्थापनको तयारीबारे छलफल गर्ने भनेर समितिले बोलाएको थियो। तर, आइतबारको बैठकमा कुमार पौडेलको विषयमा पनि कुरा उठेपछि दुवै विषयमा सोमबार छलफल गर्ने निर्णय भएको छ।

प्रकाशित: ९ असार २०७६ ०१:४८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App