coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

नेकपामा ‘कार्यदिशा’ विवाद चुलिँदै

काठमाडौं - नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को एकीकरण नटुंगिँदै ‘राजनीतिक कार्यदिशा’लाई लिएर तत्कालीन नेकपा एमाले र माओवादी केन्द्रका नेताहरुबीच मतभेद तीव्र बनेको छ। तत्कालीन एमालेसँग नजिक अध्यक्ष केपी ओलीसहितका नेताहरु ‘जनताको बहुदलीय जनवाद (जबज)’को पक्षमा देखिएका छन् भने माओवादीबाट आएका नेताहरु ‘जनताको जनवाद’का पक्षमा देखिएका हुन्।

पार्टीका शीर्ष तहमै जनताको बहुदलीय जनवाद कि जनताको जनवाद हुने भन्नेमा मतभेद देखिएको छ। एकीकरणपछि राजनीतिक प्रतिवेदन प्रकाशन गर्न ढिलाइ भइरहेको अवस्था छ। यसले पनि मतभेद बढाउन बल पु¥याएको छ। शुक्रबार दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहालबीच एकीकरणपछि पार्टीको कार्यदिशा के हुने भन्ने राजनीतिक प्रतिवेदनमा उल्लेख गरिएको जनताको जनवादलाई सच्याएर जनताको बहुदलीय जनवाद राखेर जाने कि भन्ने विषयमा छलफल भएको थियो। छलफलका क्रममा जनताको बहुदलीय जनवादलाई राजनीतिक कार्यदिशा बनाउने भन्ने ओलीको प्रस्तावलाई दाहालले अस्वीकार गरेका छन्। ‘दुई अध्यक्षबीच कुराकानी भएको रहेछ, सचिवालयको बैठकमा त्यसले प्रवेश पाएन’, सचिवालयका एक सदस्यले भने।

उनका अनुसार राजनीतिक कार्यदिशा कस्तो बनाउने भन्ने बारेमा दुवै अध्यक्षलाई दबाब रहेको छ। पूर्वएमालेका नेताले जनताको जनवादबारे कुने दस्तावेज नभएकाले त्यसलाई मान्न नसकिने बताउँदै आएका छन् भने पूर्वमाओवादी नेताले नयाँ सन्दर्भमा जनताको बहुदलीय जनवादलाई मानेर जान नसकिने बताउँदै आएका छन्। पूर्वमाओवादी नेताहरु पार्टी एकताका बेला दुई पार्टीका मुख्य कार्यदिशा ‘जनताको बहुदलीय जनवाद’ र ‘एक्काईसौं शताब्दीको जनवाद’ लाई मुल्तबीमा राखेर जनताको जनवादलाई अघि सार्ने विषयमा अडिग छन्।

तत्कालीन एमालेसँग नजिक अध्यक्ष केपी ओलीसहितका नेता ‘जनताको बहुदलीय जनवाद’को पक्षमा छन् भने माओवादीबाट आएका नेताहरु ‘जनताको जनवाद’का पक्षमा देखिएका छन्।

गत मे १ मा पार्टी अध्यक्ष दाहालले यो विषयलाई बहसकै रुपमा लैजानुपर्ने धारणा सार्वजनिक गरेपछि सचिवालय सदस्य ईश्वर पोखरेलले जनताको बहुदलीय जनवादका विषयमा वकालत गर्दै आएका छन्। केन्द्रीय सदस्य सूर्य थापाले पनि सामाजिक सञ्जालमा लामो स्टाटस लेखेर जबजको वकालत गरेका छन्। तर यस विषयमा पार्टीका वरिष्ठ नेता माधव नेपाल र झलनाथ खनाल मौन छन्। ओलीले गत जेठ ३ गते मदन आश्रित स्मृति दिवसका दिन जबज धर्मशास्त्र नभएको र यसलाई परिमार्जन गरेर जान सकिने धारणा राखेका थिए।

नेकपाका आमन्त्रित स्थायी समिति सदस्य सोमनाथ प्यासीले महाधिवेशनअघि यस्ता छलफल हुनु स्वाभाविक भएको बताए। ‘यो महाधिवेशनसम्मको छलफल हो। यसका बारेमा आउँदो महाधिवेशनले टुंगो लगाउँछ। अहिले जति छलफल भएका छन्, ती व्यक्तिगत रुपमा भएका हुन्। पार्टीले विषयवस्तुलाई खुला गरेको छैन’, प्यासीले भने। उनका अनुसार प्रस्तावित विषयमा व्यक्तिगत धारणा आउँदा एक प्रकारको राजनीतिक बहस प्रारम्भमात्रै भएको हो।

तत्कालीन एमालेभित्र जबजको अगुवाई पार्टी अध्यक्षको हैसियतले ओलीले नै गरिरहेको भए पनि दुई पार्टी एकीकरणका बेला त्यसलाई थाती राखिएको थियो। अहिले ईश्वर पोखेरलबाट लगातार जबजका पक्षमा अभिव्यक्ति सार्वजनिक हुनुलाई पूर्वमाओवादीहरुले अध्यक्ष ओलीकै लाइनका रुपमा बुझेका छन्। जनताको जनवादलाई राजनीतिक प्रतिवेदनबाट हटाउन खोजिएको उनीहरुको आशंका छ। ‘पूर्वएमाले नेताहरुले जबजलाई यथावत् राख्नुपर्ने धारणा सार्वजनिक गरिरहँदा पार्टी अध्यक्ष केपी शर्मा ओली मौन रहे। लामो समयसम्म राजनीतिक प्रतिवेदनसमेत प्रकाशन नहुँदा यसले आंशका जन्माएको छ, जसले गर्दा पूर्वमाओवादीहरु झस्किनु स्वाभाविक हो’, हाल नेकपाको स्थायी कमिटी सदस्यसमेत रहेका पूर्वमाओवादीका एक वरिष्ठ नेताले भने।

एमाले र माओवादीले संयुक्त रुपमा चुनावमा भाग लिँदा जबज नै मूल नीति थियो। यति बेला त्यसलाई स्वीकार गर्न अध्यक्ष दाहाललाई असजिलो भएको र जनताको जनवाद भन्न खोजेको तर्क पूर्वएमाले नेताहरुको छ। तर पूर्व माओवादी नेताहरुले भने यो विषयमा कुनै पनि धारणा सार्वजनिक गरेका छैनन्। पूर्वमाओवादी नेता नेकपाका स्थायी कमिटी सदस्य देवेन्द्र पौडेलले यो विषयलाई बढाउन जरुरी नभएको बताए।

‘बहुदलीय जनवादको विरोध कसैले पनि गरेको छैन। एक समय त्यो ठीक थियो। अब अगाडि बढ्न छलफल गर्नुपर्छ, नयाँ कार्यदिशा बनाउनुपर्छ भन्ने कुरा बेठीक छैन’, पौडेलले भने। उनका अनुसार दुई पार्टी एकता भएपछि समाजवादमा पुग्ने लक्ष्यलाई अगाडि बढाउने क्रममा आएका छलफल सकारात्मक छन्। ‘हामीले त पार्टीमा भएको सहमति, छलफल, विधान र दस्तावेजलाई आधार मान्ने हो, पुरानै स्थानमा फर्कने होइन। अबका दिन समाजवादको लक्ष्यलाई पछ्याउनु छ त्यसकारण जेजति छलफल भएका छन्, राम्रो कर्मका लागि भएका हुन्। यसमा अन्यथा मान्नु हुँदैन’, पौडेलले भने।

तर केन्द्रीय सदस्य सूर्य थापाले आफ्नो फेसबुक स्टाटसमा दस्तावेज नै नभएको जनताको जनवाद भनेर आएको अमूर्त विषयलाई स्वीकार गरेर जान नसकिने उल्लेख गरेका छन्। ‘आजको वस्तुगत यथार्थलाई बुझ्नुपर्छ, रुपरङ र आकार नभएको जनताको जनवाद भनेको के हो’, उनले लेखेका छन्।

प्रकाशित: ९ असार २०७६ ००:४५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App