७ वैशाख २०८१ शुक्रबार
समाज

उपभोक्ता समिति अवैधानिक भन्दै खारेजीको माग

उपभोक्ता समिति अपारदर्शी भएको भन्दै खारेजीको मागसहित निकालिएको जुलुस। तस्बिरः नागरिक


सिरहा – प्रदेश र वडास्तरीय योजना सञ्चालनका लागि अपारदर्शी ढंगले उपभोक्ता समिति गठन गरिएको भन्दै औरही गाउँपालिका–४ का वडावासी आन्दोलित भएका छन्। अपारदर्शी र अवैधानिक उपभोक्ता समिति खारेज गरी पारदर्शी गर्नुपर्ने उनीहरूको माग छ।

प्रदेश २ सरकार, भौतिक पूर्वाधार विकास मन्त्रालय जनकपुरधामबाट औरही गाउँपालिका–४, इटाटारका लागि स्वीकृत योजनाहरूमा अपारदर्शी ढंगबाट उपभोक्ता समिति गठन गरेको स्थानीय अगुवा सुरेन्द्र यादवको आरोप छ। योजनाहरूको उपभोक्ता समिति गठनमा किचलो भइरहेकै बेला असार ४ गते भौतिक पूर्वाधार विकास कार्यालय सिरहामा सम्झौता गर्न बोलाइएको उपभोक्ता समिति अपारदर्शी ढंगबाट गठन भएको भनेर लिखित निवेदननै कार्यालयमा दर्ता गराउँदा पनि सुनवाइ नभएको उनले बताए। विरोधकाबीच पूर्वाधार विकास कार्यालयले उपभोक्ता समितिसँग सम्झौता गरेपछि निवेदनको बोधार्थ जिल्ला प्रशासन कार्यालयमा समेत दर्ता गराएको उनले बताए।

वडा नम्बर ४ इटाटारको महादेव मन्दिर(मठ) जीर्णोधारका लागि प्रदेश सरकारको भौतिक पूर्वाधार मन्त्रालयबाट स्वीकृत ५० लाख रुपैयाँको सचिवमा रञ्जीत यादवलाई राख्ने सहमति भए पनि उनको नाम हटाएर अर्कैको नाम राखेर सम्झौता गरेपछि वडावासी आन्दोलित भएका छन्।

प्रदेश सरकारबाट यस वडामा आएको योजनामध्ये नवकाटोलदेखि हुलाकी सडकसम्म पक्की ढलानका लागि ७५ लाख, गागन खोलादेखि भारतीय सिमानासम्मको सडकमा माटो ग्राभेलका लागि २० लाख रुपैयाँको बजेट सञ्चालनका लागि गठन गरिएको उपभोक्ता समितिमा विवाद छ।

वडाध्यक्ष उपेन्द्र यादवले उपभोक्ता समितिको विवाद झिकेर केही व्यक्तिहरूको समूहले विकास रोक्न खोजेको बताए। पूर्ण पारदर्शिता अपनाएर उपभोक्ता समिति गठन गरिएको उनको भनाइ छ। गठनका बेला सहमति गर्ने तर, सम्झौता भइसकेपछि विवाद झिक्ने प्रवृत्ति विकास विरोधी भएको उनको भनाइ छ।

प्रकाशित: ८ असार २०७६ १२:११ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App