८ वैशाख २०८१ शनिबार
समाज

सहमतिपछि खुल्यो चाबहिल–साँखु सडक

फाइल फाेटाे

काठमाडाैं– सडक तत्काल बनाउने सहमति भएपछि स्थानीयवासीद्वारा अवरोध गरिएको चाबहिल–साँखु सडकखण्ड आज दिउँसोबाट खुलेको छ।

कागेश्वरी मनोहरा नगरपालिकाले सो सडक तत्काल स्तरोन्नति गर्ने सहमति गरे तापनि सडक निर्माणको काम अगाडि नबढाएको भन्दै स्थानीयवासीले आज बिहानैदेखि सडक अवरोध गरेर आन्दोलनमा उत्रिएका थिए। तत्काल बाटोमा भएको हिलो सोहोर्ने, एक हप्ताभित्र बाटो ग्रेडिङग गरी आवतजावत सहज बनाउने र चाँडो भन्दा चाँडो सडक निर्माणका लागि सम्बन्धित निकायमा पहल गर्ने सहमति गत जेठ २८ गते नगरपालिका र स्थानीयवासीबीच भएको थियो। सहमति अनुसार सडक निर्माणमा विलम्ब गरिएको भन्दै आक्रोशित युवाले आज बिहान सवारी आवागमन ठप्प पार्दै आन्दोलन उत्रिएका थिए।

सहमति अनुसार सडक निर्माण गर्न ढिला भएको स्वीकार्दै नगरपालिकाले सडकको खाल्डा पुर्ने, हिलो सोहोर्ने काम शुरु गरेपछि सवारी आवागमन खुल्ला गरिएको स्थानीय पवोल बज्राचार्यले जानकारी दिए। वैशाख महीनादेखि बौद्ध, जोरपाटी, नारायणटारको विभिन्न ठाउँमा कालोपत्र गर्न थालेको भए पनि थलिबाट साँखु जाने सडकखण्ड अझै कालोपत्र नभएको भन्दै स्थानीयवासीले दुखेसो पोखेका छन्। त्यस्तै बौद्धको गेटसम्म पनि सडक कालोपत्र नभएको भन्दै स्थानीय विनिता कोइरालाले बौद्धबाट जोरपाटी हुँदै थलिसम्म पुग्नका लागि निकै कष्टकरयात्रा गर्नुपर्ने बताइन्। सडकमा खाल्डा र हिलोको बयानगरी साध्य नभएको भन्दै कोइरालाले यस सडकखण्डमा दिनहुँ मोटरसाइकल दुर्घटनामा पर्ने गरेको बताइन्।

सोही सडकखण्डको सलम्बुटारदेखि ईन्द्रायणी, नयाँ पाटी, डाँछी, थलिलगायतका सडकमा ठूल–ठूला खाल्डाखुल्डी रहेका छन्। त्यसको तत्काल निर्माण सम्पन्न गर्नुपर्ने माग स्थानीयको छ। यसअघि पनि बौद्ध, जोरपाटीलगायत क्षेत्रमा सडक निर्माणमा विलम्ब भएपछि यसैगरी प्रदर्शन भएको थियो। सरकारले २०७२ सालमा चाबहिलबाट साँखुसम्म २२ मिटर चौंडा चार लेनको सडक बनाउने योजना ल्याएको थियो। काठमाडौँ उपत्यका सडक विस्तार आयोजनाले २०७२ जेठमा सो सडकखण्डको निर्माणका लागि बोलपत्र आह्वान गरेर असोजमा चार निर्माण व्यवसायीलाई ठेक्का दिएको थियो।

कूल लम्बाइ ११ दशमलव ४६ किलोमिटर सडकखण्डमा चार कम्पनीले समयमै निर्माण नसक्ने भएपछि थप एक कम्पनी गरी पाँच ठेकेदार कम्पनीले सो सडक विस्तारको जिम्मा पाएको थियो। तर अहिलेसम्म उक्त सडकखण्डको निर्माणकार्य सम्पन्न हुनसकेको छैन। रासस

प्रकाशित: ८ असार २०७६ ०९:५५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App