७ वैशाख २०८१ शुक्रबार
समाज

जमिन भासिँदा भवन भत्कियो

पर्वत - लगातारको वर्षाले जमिन भासिँदा जिल्ला समन्वय समिति (जिसस) पर्वतको भवन भत्किएको छ । जिससको भवनमा रहेको जिल्ला आपत्कालीन कार्य सञ्चालन केन्द्रका दुई वटा कार्यकक्ष पूर्णरूपमा चर्किएर क्षति पुगेको हो । जिल्ला प्रशासन कार्यालयको विपत् व्यवस्थापन समितिअन्तर्गत सञ्चालनमा आएको जिल्ला आपत्कालीन कार्य सञ्चालन केन्द्र बिहान ५ बजेको समयमा जमिन भासिएपछि भत्किएको प्रहरीले जनाएको छ ।

सशस्त्र प्रहरी चण्डीका गणमा कार्यरत हवल्दार नरबहादुर भण्डारी सुतिरहेको अवस्थामा उक्त भवन भत्किएको हो । भवनबाट धुलो माटो खस्न थालेपछि उठेर हेर्दा भवन चर्किएको र कोल्टे परेको देखेपछि भवन भासिएको पत्ता लागेपछि उक्त स्थानमा रहेका सामान हटाएको भण्डारीले बताए ।

पाँच मिनेट मात्र ढिला गरी थाहा भएको भए आफ्नो ज्यानसमेत नरहने उनले बताए । जिससका प्रमुख मनोहर वि पौडेलले कार्यक्रमका सिलसिलामा दक्षिण पर्वतको हुवासमा रहेकाले के–कति क्षति भयो भन्ने यकिन विवरण जानकारी नभएको बताए । उनले सोही ठाउँमा समन्वय समितिको पक्की भवन निर्माणका लागि पहल भइरहेको जानकारी दिए।

उक्त भासिएको भवनको निरीक्षण गर्दै कुश्मा नगर प्रमुख रामचन्द्र जोशीले पानीको निकास नभएका कारण पटकपटक यसरी भवन भत्किने, भासिने गरेकाले त्यसको उचित निकासका लागि व्यवस्था गरिने बताए । जिल्ला विपत् व्यवस्थापन समितिमार्फत थप सहयोगका लागि सङ्घीय तथा प्रदेश सरकारसँग बजेट माग गरी दिगो व्यवस्थापन गरिने उहाँको भनाइ छ । जिससको भवन पटकपटक भासिने गरेको छ । विगतमा पनि जिल्ला अनुसन्धान कार्यालय रहेको भवन भासिएको थियो ।
 

प्रकाशित: ८ असार २०७६ ०७:५६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App