८ वैशाख २०८१ शनिबार
समाज

लिमचुङबुङ–हलेसी केबलकार जोड्न सम्भाव्यता अध्ययन, ४ घण्टाको बाटो १५ मिनेटमै

उदयपुर- उदयपुरको लिमचुङबुङ गाउँपालिकादेखि खोटाङको त्रि–धार्मिक तीर्थस्थल हलेसीसम्म केबलकार सञ्चालन गर्न सम्भाव्यता अध्ययन थालिएको छ। उदयपुरकै सबभन्दा अग्लो ठाउँ लिमचुङबुङ ३ को भैयचुङ डाँडा (प्रस्तावित एभरेष्ट भ्यु टप) देखि हलेसी–तुवाचुङ नगरपालिकाको हलेसी धामसम्म‘अफरोड’ आउजाउ सहज गर्न केबलकारको अवधारणा अघि सार्दै सम्भाव्यता अध्ययन थालिएको हो।

लिमचुङबुङ गाउँपालिका अध्यक्ष मेजरकुमार राईले काठमाडौंदेखि आएको केबलकारबारे विज्ञ टोलीले बुधबारदेखि अध्ययन थालेको बताए। उनका अनुसार हलेसी महादेव केबलकार प्रालि काठमाडौंका इन्जिनियर मिलन अधिकारी नेतृत्वको प्राविधिक टोलीले भैयचुङदेखि हलेसीसम्म स्थलगत अवलोकन गरेर अध्ययन गर्नेछ। बुधबारविहान केबलकार सञ्चालनबारे स्थानीय जनप्रतिनिधि, सरोकारवाला व्यक्ति र निकायसँग सामुहिक छलफल गरेपछि टोली स्थलगत अनुगमन अध्ययनमा निस्केको अध्यक्ष राईले बताए।

टोलीले जिपिएस (ग्लोबल पोजिसनिङ सिस्टम) प्रणाली मार्फत र स्थलगत अनुगमन दुवैमार्फत अध्ययन गरिरहेको छ। प्रारम्भिक अध्ययनले टोलीलाई उत्साहित बनाएको र केबलकार सञ्चालन गर्न सकिने देखाएको टोलीलाई उद्धृत गर्दै अध्यक्ष राईले बताए। ‘टोलीले हिजो र आज विहानसम्म  गरेको गुगल र फिजिकल अध्ययनमा भ्युटपदेखि हलेसीसम्म केबलकार लैजान सम्भव देखिएको छ’ टोलीसँगै रहेका अध्यक्ष राईले भने ‘अव टेक्नीकल पाटोबाट सर्भे गर्ने कुरा अघि बढाउनेबारे छलफल सुरु भएको छ।’

टोलीका इन्जिनियर अधिकारीले प्रारम्भिक अध्ययनले केबलकार सञ्चालन गर्न फिजिबल देखिएको बताए। उनका अनुसार अध्ययनले काठमाडौंको चन्द्रागिरीमा भन्दा हलेसीमा सहजै केबलकार सञ्चालन सकिने देखाएको छ। लागतको हिसावले केही महँगो हुनसक्ने देखिए पनि योजना फिजिबल देखिएको अधिकारीले बताए। काठमाडौं फर्केर अध्ययनको नतिजा प्रशोधन गरेपछि यथार्थ लागत र दूरी पत्ता लाग्ने उनको भनाई छ।

लिमचुङबुङले भैयचुङ डाँडामा महत्वाकांक्षी ‘एभरेष्ट भ्युटावर’ योजना अघि बढाएको छ। समुद्री सतहदेखि २ हजार ३ सय मिटर उचाईको सो ठाउँमा ७२ फिट उचाईको कलात्मक र आकर्षक भ्यु टावर बनाएर सगरमाथालगायत ८ वटै हिमश्रृङ्खलाको दृष्याबलोकन गराउने योजना गाउँपालिकाले अघि सारेको छ। गत आर्थिकवर्ष प्रारम्भिक सर्भेक्षण गरेर चालु आव विस्तृत परियोजना प्रतिबेदन (डिपिआर) तयार गरिएकोभ्युटावर योजना निर्माणको काम सुरु भईसकेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत भक्त राईले बताए।

कच्ची सडकले जोडिएका भ्युटावरस्थलदेखि हलेसीसम्मको सडक दूरी ३५ किलोमिटर छ। भ्युटावर निर्माणस्थल भैयचुङदेखि हलेसीसम्मको यो दूरी पार गर्न अहिले साढे ३/४ घण्टा लाग्ने गरेको छ। केबलकार जडान भएमा यो दूरी १५ मिनटमा पार गर्न सकिने अनुमान गरिएको छ। केबलकार जडान गर्न सके सुनसरी, मोरङ, सप्तरी, सिराहा, धनुषा, महोत्तरी, सर्लाली, सिन्धुलीलगायत भारतका भक्तजनलाईसमेत उदयपुर सदरमुकाम गाईघाट हुँदै भ्युटप पुगेर हलेसी दर्शन गर्न सहज हुने योजना दुवै स्थानीयतहको रहेको छ।

 

प्रकाशित: ८ असार २०७६ ०६:४० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App