coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
अर्थ

अलैंचीका बिरूवा मर्न थाले

मरेको अलैंचीको बोट देखाउँदै बाक्सिला सिक्तेलीका किसान जीवन सुनुवार। फाइल तस्बिरः दमन/नागरिक

खोटाङ–रोगका कारण अलैंची मर्न थालेपछि खोटाङको जन्तेढुंगा गाउँपालिका–४ डम्बर्खु शिवालयका किसान श्याम राई चिन्तित छन्। पात सुक्नेदेखि बोट नै मर्ने समस्याका कारण राईको अलैंचीको हरियाली बगान अहिले खंग्रङ्ग बनेको छ।

केही वर्षयता अलैंचीको भाउ निरन्तर भाउ ओरालो लागिरहेका बेला अलैंचीको बोट सुक्दा किसानमा थप निरासा छाएको अलैंची खेती गर्दै आएका स्थानीय श्याम राईले बताए। पात पहेंलो हुने, सुक्ने, कालो छिर्के लाग्ने, फुर्के हुने, गुवा कुहिने, बोट नै मर्ने लगायत समस्याले केही वर्षयता खोटाङका अलैंची किसान मारमा परेका छन्। अलैंची बगान सुकेर सोत्तर बन्न थालेको छ। रोगका कारण कतिपय किसानका अलैंची उत्पादनको मात्रा बर्सेनि घटिरहेको छ।

विशेषगरी केपीलासगढी गाउँपालिकाको सुंदेल, फेदी, खार्ताम्छा, बाक्सिला, बासपानी, ऐसेलुखर्क गाउँपालिकाको बाकाचोल, राखाबांदेल, ऐसेलुखर्क, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको पाथेका, नेर्पा, दोर्पाचिउरीडाँडा, साकेला गाउँपालिकाको रतन्छा, बाँझेच्यानडाँडा, मात्तिम, खोटेहाङ गाउँपालिकाको सावाकटहरे, लिकुवापोखरी, इन्द्रेणीपोखरी, चिप्रिङ, जन्तेढुंगाको चिसापानी, डम्बर्खु शिवालयलगायत ठाउँमा लगाइएका अलैंचीमा रोग देखिएको हो।

पात पहेंलो हुने, सुक्ने, कालो छिर्के लाग्ने, फुर्के हुने, गुवा कुहिने, बोट नै मर्ने लगायत समस्याले केही वर्षयता खोटाङका अलैंची किसान मारमा परेका छन्।

 

अलैंचीमा सबैभन्दा बढि समस्या जिल्लाको केपीलासगढी र ऐसेलुखर्क गाउँपालिकाका उत्तरी क्षेत्रमा देखिएको अलैंची व्यवसायी संघ खोटाङका अध्यक्ष बीरबहादुर तामाङले बताए। ‘एक–दुई दशकदेखि अलैंची खेती हुँदै आएको उत्तरी क्षेत्रमा अलैंचीको बोटमा समस्या देखिएको छ,’ केपीलासगढी गाउँपालिका–१ फेदीका वडाध्यक्षसमेत रहेका तामाङले भने, ‘अलि पछि खेती सुरु गरिएको दक्षिणी क्षेत्रमा लगाइएको अलैंचीमा अलि कम समस्या छ।’

भाउ घटे पनि अलैंची निकासीबाट जिल्लामा हरेक वर्ष करोडौं रकम भित्रिन्छन्। कतिपय एउटै वडाबाट करोडभन्दा बढिको अलैंची निकासी हुने गरेको छ। अलैंची खेतीबाट जिल्लाका सयौं किसानको आर्थिक स्थितिमा परिवर्तन आएको छ। गाउँमा राम्रो ठाउँमा मन लागेको खाने लाउने र बस्ने वातावरण बनाएका छन्। कतिपयले आफूलाई सहरबजारमै स्थापित गराएका छन्। अन्य बालीको तुलनामा बढी आम्दानी लिन सकिने भएकाले केही दशकयता जिल्लाका कृषक अलैंचीतर्फ आकर्षित हुनेक्रम बढ्दो छ। तर, अलैंचीमा देखा परेको रोगको हल नभए अलैंचीको आम्दानी कथामा सीमित हुने अवस्था आइसकेको अध्यक्ष तामाङले बताए।

जिल्लामा २०६५ मा अलैंचीमा सामान्य समस्याकारुपमा देखा परेको पात सुक्ने, पातमा छिद्रा पर्ने, बोट पहेंलो हुने, बोट सुक्ने, मुना नआउने, खुम्ले किरा र पहेंलो कमिला लाग्ने लगायत समस्याले २०६७ पछि उग्ररुप लिएको किसानको भनाइ छ। रोगका कारण अलैंची उत्पादन दोब्बर–तेब्बरका दरले घटिरहेको छ। धान, गहुँलगायत अन्नबाली उत्पादन हुँदै आएको उर्वर खेतबारी मासेर अलैंची लगाएका किसान रोगको प्रकोप देखिएपछि दोधारमा छन्।

प्राविधिक ज्ञान नहुँदा अलैंचीमा समस्या

खोटाङका अलैंचीका अगुवा किसानले भने प्राविधिक ज्ञान अभावले अलैंची बगानमा रोगको प्रकोप देखिएको बताउँछन्। हाल पश्चिम वा दक्षिण मोहडा फर्केको ठाउँमा रोपिएका र बलौटे माटोमा लगाइएका अलैंचीमा समस्या देखिएको खुप्तुङ कृषि फर्म इन्द्रेणी पोखरीका सञ्चालक इन्द्र नारथुंगेले बताए। ‘अलैंची रोप्नका लागि किसानलाई भूगोलको छनौटमै ज्ञान छैन। जहाँतही अलैंचीको बिरुवा रोप्ने लहड छ,’ नारथुंगेले भने, ‘चिस्यान भएको पूर्वी मोहडा फर्केको ठाउँमा मात्र अलैंची रोप्नुपर्नेमा जथाभावी रोप्ने गर्दा समस्या निम्तिएको हो। बलौटे माटोमा रोप्दा पनि अलैंचीमा विविध समस्या देखिएको पाइएको छ।’

भूगोलअनुसार अलैंचीको जात छनौटमा ज्ञान नहुँदा पनि अलैंचीमा समस्या निम्तिने गरेको अलैंचीका अगुवा किसानको अनुभव छ। लेकमा फल्ने अलैंचीलाई बेंसीमा रोप्दा वा बेंसीमा फल्ने अलैंचीलाई लेकमा लगाउँदा पनि अलैंची व्यवसाय नफस्टाउने गरेको नारथुंगेले बताए। ‘जहाँ पायो त्यहाँबाट बेर्ना लिएर रोप्दा पनि समस्या निम्तिने गरेको पाइएको छ,’ उनले भने, ‘बेंसीमा रोप्नुपर्ने अलैंचीलाई लेकमा रोप्दा कहिल्यै बेलामा पाक्दैन, लेकमा रोप्नुपर्ने अलैंचीलाई बेंसीमा रोप्दा बिरुवा सप्रन्छ तर फल्नेबेला मरेर जाने गरेको छ।’

अलैंची व्यवसायी संघ खोटाङका अध्यक्ष वीरबहादुर तामाङले पनि मौसम र प्राविधिक ज्ञानकै कमीले अलैंची बालीमा समस्या देखिएको बताए। तामाङका अनुसार उचित पानी, गोलमेल र मल नहाल्दा अलैंचीको बोटमा समस्या देखिएको हो। ‘अलैंची रोपेदेखि कहिल्यै मल हालिन्न। उचित पोषण पुगे अलैंचीमा देखिएको धेरै समस्या हटेर जान्छ,’ तामाङले भने, ‘जलवायु परिवर्तन र मौसम प्रतिकूल हुँदा पनि अलैंची प्रभावित छ।’

मलजल नपुगेका ठाउँका अलैंचीमा गुवा कुहिने, गवारो लाग्ने, कालो हुने, सलक्क बढ्नुपर्नेमा पात फुर्के हुने, त्यसपछि दाना नलाग्ने र लागे पनि नपाक्ने समस्या देखिएको छ। बगानका बाक्लो झाडीलाई गोडमेल नपुग्दा लाग्ने ढुसीका कारण अलैंचीको पात पहेंलो हुने र बोट नै मर्ने गरेको अगुवा किसानको अनुभव छ।
जिल्लाका ३४ भन्दा बढी वडामा उत्पादन हुने अलैंची भोजपुर, धनकुटा, धरान र झापाको बिर्तामोड हुँदै भारत निकासी हुने गरेको छ। मसला, जडीबुटी तथा औषधिकारुपमा प्रयोग गरिने अलैंचीको खेती जिल्लाको ६४ वडाको एक हजार एक सय ५० हेक्टर क्षेत्रमा गर्न सकिने सम्भावना छ।

प्रकाशित: ८ असार २०७६ ०६:१९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App