६ वैशाख २०८१ बिहीबार
समाज

मदिरा सेवन गरी घरमा आगजनी, श्रीमतीको जलेर मृत्यु

दार्चुला–नौगाड गाउँपालिका–२ सुण्डमुण्डुमा एक जनाले अत्यधिक मदिरा सेवन गरी आफ्नै घरमा आगजनी गरेका छन्। मदिरा सेवन गरी अन्दाजी ३२ वर्षीय शेरसिंह बडालले घरमा आगो लगाएपछि सामान निकाल्न भित्र गएकी उनकी श्रीमती ३० वर्षीया बिमला बडालको घरभित्रै जलेर मृत्यु भएको छ।

शनिबार राति १२ बजे मदिरा सेवन गरी घर पुगेका बडालले घर परिवारसँग झगडा गरेका थिए। घरमा आएर झगडा गरेपछि पूरै परिवार घर छाडेर जङ्गल भागेको नौगाड गाउँपालिका–२ का वडा सदस्य जयभानसिंह ठगुन्नाले बताए। घरमा कोही नभएको भन्दै बडालले आफू सुत्ने कोठामा गएर आगो सल्काएका थिए।

घरमा आगो बलेको देखेपछि घर छाडेर भागेकाहरु फर्किएका थिए। बडालकी श्रीमती घरभित्रको सामान बाहिर निकाल्न भित्र पसेकी थिइन्। घरभित्रको सामान निकाल्ने क्रममा आगोमा जलेर उनको घटनास्थलमै मृत्यु भएको ठगुन्नाले बताए। आगो लागेको घर भित्रबाट बाहिर निस्कन नसक्दा उनको जलेर मृत्यु भएको हो। बुबा बहादुर बडाल र आमा मङ्गलीदेवी बडाल आगो निभाउने मान्छे खोज्न गाउँ पसेका थिए।

घटनाको अवस्था बुझ्न प्रहरी नायब उपरीक्षक दीपेन्द्रबहादुर शाही घटनास्थल पुगेका छन्। आगो लगाएर परिवारको हत्या गरेको भए पनि के कति कारणले झैझगडा भयो, आगो लगाउने स्थितिसम्म कसरी पुगे भन्ने अनुसन्धानपछि खुल्ने प्रहरी नायब उपरीक्षक शाहीले बताए। आगो स्थानीयवासीले रातभर लगाएर नियन्त्रणमा लिएका थिए। मृतकको शव परीक्षणका लागि जिल्ला अस्पताल ल्याउने तयारी भइरहेको छ। रासस

प्रकाशित: ८ असार २०७६ ०६:०९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App