८ वैशाख २०८१ शनिबार
कला

चाम्लिङ शब्दकोष तयार पारिँदै

चाम्लिङ राई भाषाको शब्दकोष निर्माणका लागि खोटाङमा आयोजित अन्तरक्रियाका सहभागी । तस्बिर : दमन/नागरिक

खोटाङ - चाम्लिङ राई भाषाको वृहत शब्दकोष निर्माणका लागि खोटाङमा भाषा वक्ता तथा श्रोतव्यक्तिसँग अन्तरक्रिया गरिएको छ । भाषा आयोगको प्राविधिक सहयोग, दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाको संयोजन र किरात राई चाम्लिङ खाम्बातिम केन्द्रीय समितिको अगुवाइमा निर्माण सुरु गरिएको चाम्लिङ राई भाषाको शब्दकोष निर्माणका लागि गत शुक्रबार सो भाषाका विज्ञ एवं वक्तासँग अन्तरक्रिया गरिएको हो ।

चाम्लिङ भाषा सम्बन्धी विभिन्न पुस्तिका प्रकाशन भइसकेको भए पनि चाम्लिङ भाषाको वृहत शब्दकोष भने अहिलेसम्म प्रकाशन भएको छैन् ।

चाम्लिङ राई भाषाको मानकसहितको शब्दकोष निर्माणको कामलाई अन्तिम रूप दिनका लागि सरोकारवाला पक्षसँग अन्तरक्रिया गरिएको चाम्लिङ राई भाषा शब्दकोष निर्माण समितिका सदस्य तिलक चाम्लिङले बताए । ‘हामीले गत असोज १९ गते सम्झौता गरेर चाम्लिङ राई भाषाको शब्दकोष निर्माणको काम थालेका हौं’, सितिमि मासिकका सम्पादकसमेत रहेका चाम्लिङले भने, ‘हामीले शब्दकोषको काम अन्तिम चरणमा पु¥याएका छौं । हालसम्मको प्रगतिबारे जानकारी दिन र सच्याउनुपर्ने ठाउँमा आवश्यक सुझाव लिनका लागि अन्तरक्रिया आयोजना गरिएको हो ।’ चाम्लिङ भाषाको संरक्षण र सम्बद्र्धन गर्दै सोही भाषामा प्रावि तहसम्मको पठनपाठनका लागि शब्दकोष निर्माणको काम थालिएको हो ।

प्राध्यापक डा। तारामणि राई, डा। कैलास राई, पूर्व जिल्ला शिक्षा अधिकारी झुमप्रसाद राई र चाम्लिङ सम्मिलित शब्दकोष निर्माण समितिले शब्दकोषको मानक र प्रक्रिया पु¥याएर ५ हजार ४० शब्दको चाम्लिङ राई भाषाको शब्दकोष निर्माण अन्तिम चरणमा पु¥याएको जनाएको छ । हालसम्म संकलन गरिएका र प्रकाशन गरिएका चाम्लिङ भाषाका शब्दकोषमा पाइएका अधुरो र अपुरो प्रक्रियालाई पूरा गरेर शब्दकोष निर्माणको काम गरिएको सदस्य चाम्लिङले बताए । नगरपालिकाकै सभाहलमा भएको कार्यक्रममा शब्दकोष निर्माण समितिले भाषा आयोगका उपसचिव भरतराज त्रिपाठी र दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाका मेयर दीपनारायण रिजाललाई शब्दकोषको एक–एक प्रति पाण्डुलिपी हस्तान्तरण गरेको छ ।

शब्दकोष निर्माण समितिले खोटाङको हलेसी, दिक्तेल, रतन्छा, उदयपुरको बलम्तालगायतका ठाउँका श्रोतव्यक्तिसँगको कुराकानी तथा यसअघि प्रकाशन भएका चाम्लिङ शब्दकोषलगायतका आधारमा शब्दकोष निर्माणको काम अन्तिम चरणमा पु¥याएको हो । समितिले हाल तयार पारिएको शब्दकोषलाई भाषाका वक्तासँग ट्याली पनि गरिरहेको जनाएको छ । संघीयताको कार्यान्वयनसँगै मातृभाषाबाट पठनपाठनको बाटो खुलेपछि चाम्लिङ भाषाको शब्दकोषको काम अघि बढाइएको हो । चाम्लिङ भाषा सम्बन्धी विभिन्न पुस्तिका प्रकाशन भइसकेको भए पनि चाम्लिङ भाषाको वृहत शब्दकोष भने अहिलेसम्म प्रकाशन भएको छैन् ।

प्रकाशित: ८ असार २०७६ ०६:११ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App