coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
अर्थ

मुआब्जाका लागि १० करोड

चिप्लेमा बाँध बनाउँदा डुबानमा पर्ने आफ्नो जग्गा देखाउँदै स्थानीय नारायणदत्त पौडेल। तस्बिरः नगेन्द्र/नागरिक

सुर्खेत–राष्ट्रिय गौरवको भेरी–बबई बहुउद्देश्यीय डाइभर्सन आयोजनाले प्रभावित क्षेत्रका बासिन्दालाई चालु आर्थिक वर्षभित्रै मुआब्जा वितरण गर्ने तयारी थालेको छ। यसका लागि १० करोड रुपैयाँ विनियोजन गरिएको छ।

दोस्रोपटक प्रभावित क्षेत्रको सर्भे गरेको आयोजनाले अर्को साता प्रमुख जिल्ला अधिकारीलाई प्रतिवेदन बुझाउने छ। पछिल्लो सर्भेले १३ हेक्टर दर्ता जमिन र आठ हेक्टर ऐलानी जमिन डुबानमा पर्ने देखाएको छ। यस्तै, स्थानीयका ११ वटा घर पनि प्रभावित क्षेत्रभित्र परेका छन्। पाँच वर्षअघि गरिएको सर्भेमा आठ हेक्टर जमिन मात्रै डुबानमा पर्ने उल्लेख थियो।

भेरी नदीको पानीलाई भेरीगंगा नगरपालिका–९ को चिप्लेदेखि भेरीगंगा नगरपालिका–१ को हात्तीखालमा खसालेर ४८ मेगावाट विद्युत् उत्पादनका साथै बाँके र बर्दियाका ५१ हजार हेक्टरमा सिँचाइ सुविधा पु¥याउने उद्देश्यले सुरु गरिएको आयोजनाले सुरुङ निर्माणको काम सम्पन्न गरिसकेको छ। टनेल बोरिङ मेसिन (टिबिएम)मार्फत सुरुङ निर्माण सम्पन्न गरेको दुई महिनापछि आयोजनाले मुआब्जा वितरण प्रक्रिया सुरु गरेको हो।

चिप्लेमा बाँध निर्माण गर्दा माथिल्लो तटीय क्षेत्रको २१ हेक्टर जमिन र ११ वटा घर डुबानमा पर्नेछन्। आयोजनाले प्रभावित क्षेत्रका बासिन्दालाई चालु आर्थिक वर्षभित्रै मुआब्जा वितरण गर्ने जनाएको छ। ‘हाम्रोतर्फबाट सम्पूर्ण तयारी पूरा गरेका छौं, प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा रहेको समितिले मूल्य निर्धारण गरेबमोजिम मुआब्जा वितरण गछौं,’ आयोजनाका सिनियर डिभिजनल इन्जिनियर (सिडिई) श्रीप्रसाद शाहले भने, ‘चालु आर्थिक वर्षभित्रै मुआब्जाको टुंगो लगाउने तयारीमा हामी छौं।’ आयोजनाले प्रभावित क्षेत्रका जनतालाई मुआब्जा वितरणका लागि १० करोड रुपैयाँ छुट्ट्याएको छ।

सरकारी दररेट, चलनचल्तीको मूल्य, जग्गाको क्षेत्र र भौतिक संरचनालगायतलाई आधार मानेर मुआब्जा निर्धारण गरिने उनले बताए। मुआब्जाको टुंगो लगाएपछि मात्रै ड्याम (बाँध) निर्माण सुरु गरिने उनले बताए। ‘ड्याम निर्माणका लागि सिँचाइ विभागमार्फत् टेन्डर प्रक्रिया अघि बढेको छ, उनले भने, ‘टेन्डर प्रक्रियाको टुंगो लाग्नुअघिनै मुआब्जा वितरण सम्पन्न गर्छौं।’ 

आयोजनाले चिप्लेमा बाँध (ड्याम) निर्माण गर्दा लेकबेसी नगरपालिका–१ का गेहेन्द्र पाण्डेको एक घर, मिलसहित एक बिघा जमिन डुबानमा पर्छ। मुआब्जाको टुंगो नलाग्दा उनी अन्योलमा छन्। ‘दोस्रोपटक सर्भे सम्पन्न भएको सुनेका छौं, कहाँ कति जमिन प्रभावित क्षेत्रमा प-यो थाहा छैन,’ पाण्डेले भने, ‘उचित मुआब्जा नपाउँदासम्म प्रभावित क्षेत्र आयोजनालाई हस्तान्तरण गर्दैनौं।’ स्थानीयले चलनचल्तीको मूल्य अनुसार मुआब्जा पाउनुपर्ने माग गरेका छन्।

भेरीको चिप्लेमा ड्याम निर्माण गर्दा भेरीगंगा, लेकबेसी र गुर्भाकोट नगरपालिका क्षेत्रका बासिन्दा प्रभावित हुन्छन्। सुक्खायाममा भेरी नदीमा ८० क्युमेक पानी हुन्छ। चिप्लेमा १५ मिटर अग्लो ड्याम निर्माण गर्दा बर्खामा माथिल्लो तटीय क्षेत्रको ठूलो जमिन प्रभावित हुने स्थानीयको भनाइ छ।

प्रकाशित: ८ असार २०७६ ०५:५३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App