४ वैशाख २०८१ मंगलबार
अन्तर्राष्ट्रिय

इरानलाई ध्वस्त पारिदिने ट्रम्पको चेतावनी

तेहरान – द्वन्द्व सुरु भए इरानलाई ध्वस्त पारिदिने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चेतावनी दिएका छन्। आफूले युद्ध नचाहेको तर यदि इरानका कारण युद्ध सुरु भए तेहरानलाई ध्वस्त पारिदिने राष्ट्रपति ट्रम्पले चेतावनी दिएका हुन्।

शुक्रबार एनबिसीसँग बोल्दै राष्ट्रपति ट्रम्पले अमेरिका वार्ताका लागि तयार रहेको तर इरानलाई आणविक हतियार भने विकास गर्न नदिने पनि जिकिर गरेका छन्। केही दिनअघि मात्रै अमेरिकाको मानवरहित ड्रोनलाई इरानले खसालेको थियो। इरानले आफ्नो ड्रोन खसालेको प्रतिक्रियास्वरुप उसविरुद्ध हुन लागेको हवाई हमला अन्तिम समयमा आफूले रोकेको भन्ने विवरणबारे पनि ट्रम्पले प्रस्ट्याएका छन्। इरानमाथि हवाई हमला गर्दा एक सय ५० इरानी नागरिक मारिनसक्ने जानकारी पाएपछि आफूले तत्काल सो हमला रोक्न निर्देशन दिएको ट्रम्पले एनबिसीसँग बताएका छन्।

‘मलाई मन परेन। मलाई यस्तो कुरामा समानता खोज्जुपर्छ जस्तो पनि लागेन,’ उनले बताए। इरानमाथि आक्रमण गर्ने योजना आफ्नै स्वीकृतिमा सुरु हुनै लागेको बेला सेनाका जर्णेलहरुलाई आफूले कतिको हताहती हुन्छ भनेर सोधको र लगभग १५० जना मारिन्छन् भन्ने जानकारी प्राप्त भएपछि सो आक्रमणलाई रोकेको उनले जिकिर गरे।

गत बिहीबार बिहान इरानी एयरस्पेसभित्र प्रवेश गरेको अमेरिकी मानवरहित विमानलाई आफूले खसालिदिएको तेहरानले गत बिहीबार बताएको थियो। यद्यपि वासिङ्टनले भने आफ्नो मानवरहित विमानलाई अन्तर्राष्ट्रिय एयरस्पेसमै रहेको बेला तेहरानले खसालेको दाबी गरिरहेको छ।

विश्वका छ शक्तिशाली राष्ट्र
संयुक्त राज्य अमेरिका, बेलायत, फ्रान्स,  जर्मनी, चीन र रुस र इरानबीच सन् २०१५ मा भएको आणविक सम्झौताबाट अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले  गत वर्ष एकतर्फी रूपमा हात झिकेदेखि वासिङ्टन र तेहरानबीचको तनाव बढिरहेको छ।

इरानको आणविक कार्यक्रम रोक्ने र त्यसबातप उसविरुद्ध लाग्दै आएको आर्थिक प्रतिबन्ध हटाउनेबारे त्यसबेला सहमति भएको थियो। यद्यपि सन् २०१६ मा अमेरिकामा भएको राष्ट्रपतीय निर्वाचनका बेला उम्मेद्वार रहेकै बेलादेखि ट्रम्पले सो सम्झौताको विरोध गरेका थिए।
उनले तेहरानसँगको सम्झौता पर्याप्त नभएकाले नयाँ खालको सम्झौता आवश्यक रहेको भन्दै गत वर्ष एकतर्फी रूपमा सो सम्झौताबाट हात झिक्दै तेहरानमाथि पुनः आर्थिक प्रतिबन्ध लगाएको छ।

त्यसपछि दुई देशबीच तनाव बढिरहेकै बेला अमेरिकाले अत्याधुनिक हतियारसहित एउटा समूह खाडी क्षेत्रमा तैनाथ गरेको छ। उसले इरानबाट मध्यपूर्वमा रहेका आफ्ना गठबन्धन राष्ट्रमाथि सुरक्षा चुनौती रहेको भन्दै सो समूह तैनाथ गरेको जिकिर गरिरहेकै बेला खाडी क्षेत्रमा उसका केही तेल बोक्ने ट्यांकरमाथि आक्रमण भयो। आक्रमणको पछाडि इरानको हात रहेको अमेरिकी दाबी छ। यद्यपि इरानले भने आफूले कुनै ट्यांकरमा आक्रमण नगरेको जिकिर गरिरहेको छ। तेल ट्यांकरमा आक्रमण हुन थालेको भन्दै अमेरिकाले केही दिनअघि मात्रै पनि थप हजार सेना मध्यपूर्वमा खटाउने निर्णय गरेको थियो।

अमेरिकाको यस्तो कदमपछि तेहरानले पनि सन् २०१५ मा आफ्नो आणविक कार्यक्रमलाई सीमित गर्ने भनेर गरेको प्रतिबद्धताबाट बाहिर निस्कने र युरेनियम प्रशोधनको मात्रालाई बढाउने चेतावनी दिइसकेको छ। यसैबीच इरानबारे निर्णय गर्नका लागि संयुक्त राज्य अमेरिकाले राष्ट्रसंघीय सुरक्षा परिषद्लाई सोमबार बैठक बोलाउन माग गरेको छ।

प्रकाशित: ८ असार २०७६ ०५:५२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App