coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अन्तर्राष्ट्रिय

श्रीलंकामा जारी संकटकाल लम्ब्याइयो

श्रीलंकाली राष्ट्रपति मैथ्रिपला सिरिसेना।

कोलम्बो – श्रीलंकामा जारी संकटकालीन अवस्थाको समयावधि लम्ब्याइएको छ। श्रीलंकाली राष्ट्रपति मैथ्रीपाला सिरिसेनाले शनिबार देशको संकटकालीन अवस्थाको समयावधि थप लम्ब्याउनुभएको बताइएको छ।

राष्ट्रपति सिरिसेनाले शनिबार एक निर्देशिका जारी गर्दै देशमा लाग्दै आएको संकटकालीन अवस्थाको समयावधि थप लम्ब्याइएको जानकारी दिएको फ्रान्सेली समाचार एजेन्सी एएफपीले उल्लेख गरेको छ। उनले नागरिकको सुरक्षाको अवस्थालाई मध्यनजरगरी संकटकालीन अवस्थाको अवधि थप लम्ब्याइएको पनि सो निर्देशिकामा स्पष्ट गरेका छन्।

गत अप्रिल महिनामा इसाई धर्मावलम्बीको पर्व ‘इस्टर सन्डे’ को मौका पारेर भएका केही आतंककारी हमलामा परी श्रीलंकामा दुई सय ५८ जनाको ज्यान गएको थियो। सो आक्रमण शृंखलाबद्ध रूपमा भएको थियो।  त्यस हमलापछि श्रीलंकामा ठूलो आतंक फैलिएको थियो। शृंखलाबद्ध हमलामा संलग्नको खोजीका क्रममा श्रीलंकामा अहिले पनि कम्तीमा सय जना व्यक्ति जेलमा रहेका छन्।

राजधानी कोलम्बोमा रहेका तीन वटा चर्च र अन्य तीन वटा पाँचतारे होटलमा शृंखलाबद्ध हमला भएको थियो। हुन त मे महिनाको अन्तिमतिर श्रीलंकाली राष्ट्रपति सिरिसेनाले पश्चिमा देशहरुका कूटनीतिज्ञसँग कुराकानी गर्दै देशको शान्ति सुरक्षाको अवस्था पहिलेकै अवस्थामा पुगेर सामान्य भइसकेको भन्दै यही जुन २२ मा सकिने संकटकालको अवस्थाको अवधि नबढाउने बताएका थिए। उनले आज संकटकालीन अवस्थाको समयावधि बढाएकोमा सबैले आश्चर्य मानेको राजधानी कोलम्बोबाट प्राप्त समाचारमा जनाइएको छ।

सार्वजनिक सुरक्षाका लागि संकटकाल फलदायी भएको र आवश्यक पनि देखिएकाले म्याद थपिएको राष्ट्रपति सिरिसेनाले स्पष्ट पारेका छन्। उनले हस्ताक्षर गरेर विशेष राजपत्रमा प्रकाशित सूचनाका अनुसार सेवा प्रवाह र दैनिक जीवनमा सहजता आउने उल्लेख गरिएको छ।  आतंककारीले गत अप्रिल २१ तारिखका दिन आक्रमण गरेका थिए भने राष्ट्रपति सिरिसेनाले त्यसको भोलीपल्ट अप्रिल २२ मा संकटकाल घोषणा गरेका थिए।

सुरुमा एक महिनाका लागि घोषणा गरिएको संकटकाल मे २२ मा एक महिना पूरा भएपछि फेरी एक महिनाका लागि थपिएको थियो। त्यसैलाई निरन्तरता दिदै शनिबार फेरी एक महिनाका लागि संकटकालीन अवस्था थपिएको छ। दुई सय ५८ जनाको ज्यान जाने गरी भएका ती शृंखलाबद्ध आक्रमणको जिम्मेवारी अन्तर्राष्ट्रिय आतकंवादी समूह इस्लामिक स्टेटले लिएको थियो।

प्रकाशित: ८ असार २०७६ ०५:४६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App