coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
राजनीति

'नेपाल हिन्दू राष्ट्र बन्न तयार हुनेछ'

लखनउ (भारत) – भारतको उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले नेपाल हिन्दू राष्ट्रका लागि तयार हुने विश्वास व्यक्त गरेका छन्। लखनउस्थित मुख्यमन्त्री कार्यालय (लोक भवन)मा नेपाली पत्रकारहरुको टोलीसँग  छलफल गर्दै मुख्यमन्त्री आदित्यनाथले नेपाल हिन्दू राष्ट्रका लागि ढिलोचाडो तयार हुने विश्वास व्यक्त गरे।

‘हरेक देशको पहिचान हुन्छ। नेपालकोे पहिचान कुन रुपमा छ?’ उनले प्रश्न गरे, ‘विश्वका हिन्दूले नेपाललाई हिन्दू राष्ट्रका रुपमा चिन्छन्। दुनियाँको भावनालाई समेट्न नेपाल तयार हुनेछ’, उनले भने।

नेपाल हिन्दू राष्ट्र हुँदा विश्वभरका हिन्दूको नेपालसँग भावनात्मक सम्बन्ध हुने र ३ करोड जनसंख्या भएको नेपालले विश्वका सय करोड हिन्दूको तागत प्रयोग गर्न सक्ने मुख्यमन्त्री आदित्यनाथको भनाई छ।

नेपालले हिन्दू राष्ट्रमार्फत धार्मिक पर्यटनलाई विस्तार गर्न सक्ने उनले बताए। ‘पशुपतिनाथ दर्शन कहाँ जाने, नेपाल। मुक्तिनाथ कहाँ पर्छ नेपालमा, अन्य सांस्कृतिक धरोहर पनि नेपालमै छन्। विश्वका हिन्दूको यो तागतलाई धार्मिक पर्यटनको विकाससँग जोड्न सकिन्छ’, उनले भने। धर्म निरपेक्षतालाई ब्रिटेनले समेत नमानेको उदाहरण दिँदै उनले थपे, ‘ब्रिटेनका प्रधानमन्त्री बाइबलमा सपथ खान्छन्। धर्मनिरपेक्ष भने पनि त्यो देशको पहिचान कहीँ न कहीँ धर्मसँग जोडिन्छ। विश्वकै पुरानो प्रजातान्त्रिक मुलुक ब्रिटेनमा समेत यस्तो अवस्था छ, नेपाल त हिन्दू बाहुल्य देश हो।’ नेपालले हिन्दू राष्ट्रको एजेण्डामा पुनर्विचार गर्ने उनको अपेक्षा छ।

मुख्यमन्त्री आदित्यनाथले नेपालको सुख र समृद्धिको अभियानमा भारतको सदैव साथ रहने बताए। नेपाल र भारतबीच साझा सांस्कृतिक विरासत रहेको भन्दै उनले नेपाली मुलको व्यक्ति आफूहरुको सबैभन्दा विश्वसनीय मित्र भएको टिप्पणी गरे। ‘भारतबाटै छुट्टिएको पाकिस्तान, बंगलादेशका नागरिकसँग त्यति निकटता छैन्, जति नेपालसँग छ। यो किन भयो भन्दा नेपाल र भारतको आत्मा एउटै, विरासत एउटै, आस्था एउटै छ।’

आफूहरुले नेपाली नागरिकलाई परिवारको सदस्यका रुपमा लिने गरेको भन्दै मुख्यमन्त्री योगीले साझा सांस्कृतिक विरासतले हरेक भारतीय र नेपालीलाई भावनात्मक रुपमा जोडेको उल्लेख गरे। योगीले नेपाल र भारत मिलेर अघि बढे एसियामा एक ताकत हुने जिकिर गरे।

सीमा व्यवस्थित बनाइने 

मुख्यमन्त्री योगीले नेपाल भारत सीमा क्षेत्रमाा नेपालीमाथि हुने दुर्व्यवहार पूर्ण रुपमा नियन्त्रण गर्ने प्रतिबद्धता जनाए। ‘नेपालीमाथि दुर्व्यवहार हुनुहुँदैन, रोक्नुपर्छ। यो कुराले दुई देशको सम्बन्धमा असर पार्नुहुँदैन’, उनले भने।

आफूले मुख्यमन्त्री हुने वित्तिकै सीमा क्षेत्रमा नेपाली नागरिकलाई दुःख दिने गतिविधि नियन्त्रण गर्न प्रहरी प्रशासनलाई निर्देशन दिएको र कार्यान्वयन भइरहेको जानकारी गराउँदै उनले आवतजावत व्यवस्थित बनाउन आफैं सीमा निरीक्षणमा जान लागेको बताए। ‘सीमाको अवस्थाबारे हामी प्रत्येक महिना समीक्षा गर्छाैं’, उनले भने, ‘सीमालाई थप व्यवस्थित बनाउन, नेपालीलाई दुःखको अवस्था सिर्जना हुन नदिन म आफै छिट्टै सीमा भ्रमणमा जाँदैछु।’

उनले कुनै पनि बहानामा नेपाल तथा भारतीय नागरिकले सीमामा दुःख पाउन नहुने भन्दै तर त्यसको आवरणमा सम्बन्ध विगार्न प्रयत्न गर्ने बाधक तत्वलाई दुबै देशले चिन्नुपर्ने आवश्यकता औल्याए। उनले सीमामा दुबै देशको भन्सार व्यवस्थित बनाउन भारत सरकारसँग कुरा गरेको पनि जानकारी गराए। मुख्यमन्त्री योगीले नेपालको पशुपतिनाथ र उत्तर प्रदेशको गोरखपुर पीठबीच अन्यान्योश्रित सम्बन्ध रहेको भन्दै यसलाई मध्यनजर गर्दै गोरखपुर काठमाडौं बस सञ्चालन गर्न लागेको जानकारी दिए। ‘धेरै सहरमा नेपाल भारत बस सञ्चालन भइरहेको छ। अब गोरखपुर काठमाडौं सञ्चालन गर्दैछौं। नेपालका भक्तजन गोरखपुर आउँछन्, यहाँका काठमाडौं जान्छन्’, उनले भने।

नेपालमा सुख समृद्धि आए भारतका लागि गर्वको कुरा हुने भन्दै योगीले नेपालको विकासमा भारतको सदैव रचनात्मक सहयोग हुने स्पष्ट पारे। नेपालको तीव्र विकासका लागि केही समयअघि आफूले नेपालको उद्योगी व्यवसायीलाई बोलाएर छलफल गरेको स्मरण गर्दै शान्ति र स्थिरताले नै विकास अघि बढ्ने उनको भनाई छ।

प्रकाशित: ८ असार २०७६ ०३:३१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App