७ वैशाख २०८१ शुक्रबार
समाज

मूल सडकसँगै डम्पिङ-साइड

नीलकण्ठ नगरपालिकाको डम्पिङ साइटमा फालिएको फोहोर। तस्विर: सरिता/नागरिक

धादिङ - ‘नीलकण्ठ नगरपालिकामा हार्दिक स्वागत छ,’ धादिङ सदरमुकाम नीलकण्ठ नगरपालिकाको प्रवेशद्वारसँगै यस्तै शब्दसहितको होर्डिङ बोर्डका राखिएको छ। तर त्यसैको एक घुम्ती पर छ नगरपालिकाको डम्पिङ–साइट (फोहोर फाल्ने ठाउँ), जहाँ पुग्नासाथ यत्रतत्र छरिएको फोहोरका डंगुर, भुनभुनाइरहेका कीरा–फट्याङग्रा र दुर्गन्घले आगन्तुकलाई राम्रै स्वागत गर्छन्।

कालु पाण्डे मार्गअन्र्तगत पर्ने नगरपालिकाको डम्पिङ–साइट मूल सडक छेउमै छ। यो सडक हुँदै आवातजावत गर्ने जो कोहीको मुखबाट ‘छि ः कस्तो गन्हाएको’ आवाज निस्कने गर्छ। काठमाडौं यात्रा गर्दै गरेकी धादिङकी पूजा श्रेष्ठले भनिन्, ‘नगरपालिकाले धादिङबेंसी बजारको फोहोर व्यवस्थापन त ग¥यो तर डम्पिङ–साइटको व्यवस्थापन गर्न सकेन, माक्स नै लगाएर हिँड्नुपर्ने अवस्था छ।’

हरेक दिन धादिङबेंसी बजारबाट संकलित कुहिने, नकुहिने फोहोर (सडेगलेका खानेकुरा, प्लास्टिक, सिसा, पुराना कपडा, पाोतल आदि) फोहोर त्यहाँ थुपार्ने गरिन्छ। अस्पतालबाट संकलित प्रयोेग गरिएका सुई र अरू फोहोरसमेत त्यहीं लगेर सोेझै फाल्ने गरिन्छ। बजारबाट दैनिक पाँच टन फोहोर संकलन हुने गर्छ, जसको उचित व्यवस्थापन नहुँदा नगरको सौन्दर्य र स्मार्ट सिटी बनाउने परिकल्पनामा दाग लागिरहेको छ।

सिद्धलेक गाँउपालिका र नीलकण्ठ नगरपालिकाको सिमानामा पर्ने च्याडुलाई दुवै पालिकाले संकलित फोहोर थुपार्ने स्थान बनाएका छन्। जंगल क्षेत्रमा पर्ने सो डम्पिङ–साइटको छेउमा खोला छ, जुन खोलाको पानी सिद्धलेकका स्थानीयले खेतीपातीका लागि र वस्तुभाउलाई खुवाउन प्रयोग गर्ने गर्छन्। साँधमा फोहोर विर्सजन गर्दा कतिपय फोहोरहरू सीधै खोलामा पुग्ने गर्छ, जसका कारण दुर्गन्ध फैलने गर्छ। फोहोर बग्दै खेतबारीमा समेत पुग्ने गरेको छ।

बस्तीबाट केही टाढा रहे पनि मानिसको दैनिक जीवनसँग उपभोग्य वस्तुहरूमा प्रत्यक्ष असर पार्दा स्थानीय आजित भएका छन्। पटक–पटक आग्रह गर्दा पनि नगरपालिकाले फोहोर विर्सजनको उचित व्यवस्थापन गर्न बेवास्ता गरेको सिद्धलेकका स्थानीयको आरोप छ। स्मार्ट सिटीको परिकल्पनासहित अघि बढिरहेको नगरपालिकाले फोहोर व्यवस्थापनमा ध्यान नदिँदा नगर क्षेत्रमा प्रवेश गर्ने जो कोहीलाई पनि गिज्याइरहेको भान हुन्छ।

धादिङबेंसी बजारको फोहोरले नीलकण्ठ नगरपालिका–८ र सिद्धलेकका विभिन्न ठाउँ दुुर्गन्धित बनेका छन्। जथाभावी फालिएका फोहोरका कारण एकातिर दुर्गन्ध फैलिएको छ भने अर्कोतिर जनस्वास्थ्यमा समेत प्रतिकूल प्रभाव पारिरहेको छ। बजारको फोहोर व्यवस्थापन भए पनि फोहोर फालिने ठाउँको उचित व्यवस्थापनमा ध्यान नदिइँदा नगर क्षेत्रभित्र प्रत्येक वर्ष वर्षासुरु भएसँगै डेंगुलगायत रोगको संक्रमण देखिने गर्छ।

फोहोर जथाभावी जंगलमा फालिएका कारण गाईबस्तु चराउनसमेत समस्या भएको छ। घाँस–दाउरा गर्न आउने स्थानीय पनि फोहोरका कारण मारमा परेका छन्। जंगलमा फोहोरसँगै म्याद गुज्रिएका विषादी तथा औषधिहरू जथाभावी फालिएकाले सो क्षेत्रमा चरनका लागि ल्याइने पशु चौपायामा रोगको समस्या देखा पर्न थालेको छ। जंगली जनावर र बाँदरहरूले त्यस्ता फोहोरमा फलेका वस्तु खाने गरेकाले बाँदरको भुत्ला झर्ने, बाँदरहरूमा पखालाको समस्या पनि देखा परेको गाउँलेको भनाइ छ। विषादी खानाले बाँदरलगायत जंगली जनावरहरू मर्ने गरेको स्थानीय बताउँछन्।

प्रकाशित: ८ असार २०७६ ०३:२५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App