coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
समाज

अघोषित लोडसेडिङले हैरान

भक्तपुर – भक्तपुरको जगाती क्षेत्रमा पछिल्लो एकदुई महिनादेखि दैनिक लोडसेडिङ हुँदै आएको छ। घोषित रुपमा लोडसेडिङ नभए पनि यहाँ छिनछिनमा बत्ती जाने गरेको छ। एकदुई मिनेटदेखि पाँचसात मिनेटको दौरानमा दैनिक दर्जनौं पटक बिजुली जानेआउने गरेको छ।

स्थानीयका अनुसार यहाँ यसरी नै बिजुलीको जुहारी चल्ने गरेको छ। छिनमा आउने र छिनमा जाने गरेर दिनमा दर्जनौं पटक बिजुली आउने र जाने गरेको उनीहरुले बताए। ‘दैनिक दर्जनौं पटक लोडसेडिङ भइरहेको छ,’ उनीहरुले भने। उनीहरुका अनुसार झन्डै एक दुईमहिना अगाडिदेखि नै बत्ती नगएको कुनै दिन नै छैन, दैनिक कुनै न कुनै बेला बत्ती गइहाल्छ।

कहिले बढी त कहिले कम पटक मात्रै भए पनि दैनिक बत्ती निभ्ने गरेको उनीहरुले बताए। भक्तपुर लिवालीका रामसुन्दर शिल्पकार घोषित रुपमा लोडसेडिङ नभए पनि छिनछिनमा हुने अघोषित लोडसेडिङले आफूहरु हैरान भएको बताउँछन्। ‘हामी समान्य सिकर्मी काम गर्ने नै असाध्यै पीडित छौं भने अरु ठूलाठूला उद्योग चलाउनेहरु के भए होलान् ?’ उनको प्रश्न छ। छिनछिनमा बिजुली बत्ती जाँदा काममा बाधा पुग्ने गरेको उनले बताए। काठका कामका लागि छिनछिनमा मेसिन चलाउनुपर्ने भएर समस्या हुने गरेको उनले बताए।

भक्तपुर गोल्मढीकी लक्ष्मीप्यारी कवाँ पनि दैनिक बत्ती जाँदा असाध्यै समस्यामा परेको सुनाउँछिन्। ‘दिनमा त ठिक छ तर राति पनि बिजुली जाँदा हैरान भएका छौं,’ उनले भनिन्, ‘राति बिजुुली गएपछि मैनबत्ती किन्न जाँदा पनि कही कुनै पसलमा पाइँदैन अनि त झन् समस्या हुन्छ।’ घोषित रुपमा लोडसेडिङ नहुने भएकाले पसलेहरुले मैनबत्ती बेच्न छोड्दा थप समस्या हुने गरेको उनको भनाइ छ। भक्तपुर उद्योग वाणिज्य संघका अध्यक्ष रामप्रसाद प्रजापतिले लोडसेडिङले स्वभाविक रुपमा उद्योग व्यवसायीलाई नकारात्मक प्रभाव पार्ने गरेको बताए। बिद्युतबिना उद्योग व्यवसाय सञ्चालन गर्न नसकिने भएकाले लोडसेडिङले व्यवसायीलाई नकारात्मक असर पार्नु स्वभाविक भएको प्रजापतिको भनाइ छ।

भक्तपुर चेम्बर अफ कमर्सका अध्यक्ष न्हुच्छेरत्न मानन्धर अघोषित लोडसेडिङले थप समस्या पार्ने गरेको सुनाउँछन्। ‘पहिलापहिला घोषित लोडसेडिङ हुने भएकाले पहिला नै जेनेरेटर राखेर हुन्छ कि के गरेर हुन्छ काममा बाधा नपुग्ने गरी मिलाराखेको हुन्थ्यौं,’ अध्यक्ष मानन्धरले भने, ‘तर अहिले अघोषित लोडसेडिङ हुँदा केही पनि म्यानेज गरिएको हुँदैन। यसले बिजुली जाने बेला काम भई श्रम मात्रै खेर जाने गरेको छ।’

नेपाल विद्युत प्राधिकरण भक्तपुर वितरण केन्द्रका प्रमुख प्रज्ज्वलमान श्रेष्ठ हावाहुरीका कारण यस्तो समस्या आएको हुनसक्ने बताउँछन्। छिनमा आउने र छिनमा जाने लोडसेडिङ यही कारणले हुने प्रमुख श्रेष्ठले जनाए। तर पीडितहरु भने हावाहुरी नआए पनि छिनछिनमा बिजुली जाने गरेको बताउँछन्। बिहान, राति जुनै बेला पनि जहिले पनि बत्ती जाने गरेको उनीहरु बताउँछन्।

प्रकाशित: ८ असार २०७६ ०३:२३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App