coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

माल्दिभ्सबाट भारत आउन नेपालीलाई भिसा नचाहिने

काठमाडौ – अबदेखि माल्दिभ्सबाट भारत आउने नेपालीलाई भिसा नचाहिने भएको छ। भारत र माल्दिभ्सबीच सम्बन्धमा सुधार आएसँगै त्यहाँबाट भारत आउने नेपालीलाई अनिवार्य गरिएको भिसा प्रावधान हटाइएको हो। भारतले चीन, पाकिस्तान, हङकङ, मकाउ र माल्दिभ्सबाट भारत जाने नेपालीलाई अनिवार्य भिसाको व्यवस्था गरेको थियो। सामान्यतः भारत र नेपालबीच भिसा आवश्यक नपर्ने भए पनि पछिल्लो समय भारतले आफूसँग राम्रो सम्बन्ध नभएका मुलुकबाट भारत जान चाहने नेपालीलाई भिसा अनिवार्य गरेको थियो।

भारत र माल्दिभ्सबीच निवर्तमान राष्ट्रपति अब्दुल्ला यमिन गयुमको कार्यकालमा तिक्ततापूर्ण सम्बन्ध रहेको थियो। नोभेम्बर २०१८ पछि राष्ट्रपतिमा इब्राहिम मोहम्मद सोलेह आएपछि भारतसँगको सम्बन्धमा सुधार आएको छ। माल्दिभ्सँगको सम्बन्ध सुधारकै कारण भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले दोस्रो कार्यकाल सम्हालेपछि पहिलो विदेश भ्रमण माल्दिभ्सबाट सुरु गरेका थिए। भारतले नेपालीलाई भिसा अनिवार्य गरेका चीन, पाकिस्तान, हङकङ र मकाउसँग पनि भारतको सुमधुर सम्बन्ध छैन। ‘भारतले आफ्नो सम्बन्ध राम्रो नभएका मुलुकबाट भारत आउने नेपालीलाई भिसा अनिवार्य गरेको हो।

अहिले त्यो सूचीबाट माल्दिभ्सलाई हटाएको छ,’ भारतस्थित नेपाली दूतावास स्रोतले भन्यो। भारतले आफ्नो अध्यागमन पार गरी विभिन्न मुलुक जाने नेपालीलाई भारतस्थित नेपाली दूतावासको सिफारिस पत्र पनि अनिवार्य गरेको छ। दूतावासको सिफारिस अनिवार्य गरिएका मुलुकमा साउदी अरेबिया, कतार, कुवेत, युनाइटेड अरब इमिरेट्स, ओमन बहराइन, इराक, लिबिया र लेबनान छन्।

प्रकाशित: ८ असार २०७६ ०३:०७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App