४ वैशाख २०८१ मंगलबार
समाज

बेथितिविरुद्ध उजुरी माग्दै मेयर

इलाम -  सूर्याेदय नगरपालिकाको बेखी र मेची राजमार्ग जोड्ने बाइपास कच्ची सडक स्तरोन्नतिको काम सकेर ठेकेदार कम्पनीले नगरलाई जिम्मा दिन खोज्यो। नगरपालिकाका जनप्रतिनिधिसहित प्राविधिकको टोलीले आयोजना निरीक्षण ग¥यो। ठेकेदारको काम ‘चित्त नबुझेपछि’ नगरले सबै भत्काएर फेरि निर्माण गर्न लगायो। त्यसपछि सडकमा नाली निर्माण, सोलिङ र ग्राभेलको काम गुणस्तरीय भएको छ।

वडा नं. ५ र १४ मा भएका सडक निर्माणका काममा पनि त्यही प्रक्रिया दोहोरियो। निर्माणकर्ताले काम सकेको भन्दै अन्तिम भुक्तानी लिन खोज्दा नगरले अनुगमन ग¥यो। निर्माणमा चित्त नबुझेपछि काम दोहो¥याउन लगाइयो। नगरको चेतावनीपछि ती सडकको काम पनि सुधारियो। गुणस्तरीय सडक निर्माण भए। यी दुई उदाहरण हुन्। नगरको लगानीमा चालू आर्थिक वर्ष २०७५÷७६ मा वडा–वडामा सञ्चालन भएका विकासे कामको जनप्रतिनिधि र प्राविधिकले अनुगमन गरिरहेका छन्। मेयर रणबहादुर राईको सक्रियताका कारण अनुगमन प्रभावकारी बनेको छ। उपप्रमुख संयोजकत्वको योजना अनुगमन समितिले विकासे कामको नियमित अनुगमन गरिरहेकै छ। तर फुर्सद मिल्ने र अरू कुनै कार्यक्रममा जाँदा बाटो मिल्ने भए मेयर आफैं अनुगमनमा पुग्छन्, काम कस्तो हुँदैछ हेर्छन्, चित्त नबुझे तुरुन्त पुनर्निर्माण नै गराउँछन्।

आफ्नो काममा हुने गरेका आलोचना र टिप्पणी हत्तपत्त स्विकार्न नचाहने जनप्रतिनिधिका कारण देशका कतिपय स्थानीय तहमा ‘तनाव’ छताछुल्ल भइरहेको छ। तर सूर्याेदयका मेयर भने गुणस्तरहीन आयोजनाको कामबारे उजुरी गर्न आफैं नगरवासीलाई आह्वान गरिरहेका छन्, हौस्याइरहेका छन्। उनले गत बुधबार सामाजिक सञ्जालमा लेखेको यस्तै ‘स्टाटस’ अहिले चर्चाको विषय बनेको छ।

मेयर राईले सामाजिक सञ्जालमार्फत नगरवासीलाई चित्त नबुझेका काममा उजुरी गर्न आग्रह गरे। उनले फेसबुकमा लेखेका छन्, ‘नगरवासीमा विनम्र अनुरोध ! हामी जनप्रतिनिधि, कर्मचारी, विभिन्न समितिबाट भ्याएसम्म सबै ठाउँमा भएको आयोजनाको अनुगमन गर्ने काम भइरहेको छ। विभिन्न ठाउँमा प्राविधिक लागतअनुसार काम नगरेको हुनाले रद्द गर्ने काम पनि भइरहेको छ। तर सधैं हाम्रो नजरमा तल दिएका जस्ता काम नपर्न पनि सक्छ। त्यसैले म सम्पूर्ण नगरबासीलाई अनुरोध गर्छु, यी आयोजना हाम्रा सम्पत्ति हुन्। यिनलाई हेर्ने दायित्व पनि तपाईं–हाम्रै हो। हाम्रो आँगन र टोलमा बनिरहेका बाटाहरू कतै तल दिएकोजस्तो त छैन, आयोजनामा शंका लागेमा नगरपालिकाको प्राविधिकलाई जानकारी गराइदिनुहुन अनुरोध गर्छु।’

मेयर राईले यो ‘स्टाटस’ सँगै गुणस्तरहीन काम भइरहेका केही तस्बिरसमेत सार्वजनिक गरेका छन्। बिहीबार अपराह्नसम्ममा उनको यो स्टाटसमा ७२ ‘कमेन्ट’ आएका छन्। आएका कमेन्टमध्ये सबैजसोमा विकास निर्माणमा भइरहेको बेथिति सच्याउन नगरले चालेको कदमको प्रशंसा गरिएको छ। कतिपयले नगरलाई विकासे काममा हुनेगरेको बजेट दुरुपयोग रोक्न आग्रहसमेत गरेका छन्। ‘विकासे काममा हुनेगरेको बेथिति सुध्रिनु आवश्यक त छ नै, जनप्रतिनिधि स्वयंले आफ्नै काममा उजुरी गर्न नगरवासीलाई सार्वजनिक आह्वान गर्नु अत्यन्त सकारात्मक प्रयास हो,’ सूर्याेदयकै बासिन्दा अग्रज पत्रकार केदार शर्मा भन्छन्, ‘मेयरको प्रयासलाई एकात्मक राज्यप्रणालीबाट संघीय शासनमा गएको देशमा स्थानीय सरकारले नागरिकप्रति देखाएको जवाफदेहिताको उदाहरण मान्नुपर्छ।’

मेयर राईले सामाजिक सञ्जालमा मात्र होइन, आयोजना निर्माण भएको स्थलका बासिन्दालाई पनि उसैगरी उत्साहित गर्दैछन्। राई सर्वसाधारणलाई प्रत्यक्ष भनिरहेका छन्, ‘तपाईंको क्षेत्रमा हुने विकास तपाईंका लागि हो, त्यसैले तपाईंले तिरेको करको रकम खर्चेका आयोजना गुणस्तरीय बनाउन खबरदारी गर्ने जिम्मा पनि तपाईंकै हो। नगरले निर्माण गरिरहेका आयोजनाको काममा शंका लागे तुरुन्त हामीलाई उजुरी गर्नुस्।’

मेयर राईले चालू वर्ष सञ्चालन भएका ३३ मध्ये सबैजसो आयोजनाको अनुगमन गरिसकेको बताए। उनका अनुसार दर्जनभन्दा बढी आयोजनाको काम चित्त नबुझेर सच्याउन चेतावनी दिइएको छ। ‘कतिपय आयोजनाको काम पिटिक्कै चित्त नबुझेर रद्द नै गरिदिएका छौं,’ राईले भने, ‘इस्टिमेटको स्तर नपुगेका आयोजना कुनै हालतमा पास गर्नेछैनौं। आफ्नो गाउँ–ठाउँमा भइरहेको काम चित्त नबुझे तुरुन्त नगरमा उजुरी गर्न स्थानीयलाई पुनः आग्रह गर्छु।’

सूर्याेदय नगरले चालू वर्ष ९० प्रतिशत पुँजीगत बजेट खर्च हुने अनुमान गरेको छ। ‘गत वर्ष कानुन बनाउन धेरै समय बित्यो, कर्मचारी अभाव पनि समस्या थियो,’ मेयर राईले भने, ‘यो वर्ष काम गर्न सहज छ, पुँजीगत बजेटमा राम्रो प्रगति हुन्छ।’ उनले कृषि क्षेत्रमा नगरले सञ्चालन गरेका आयोजनाको प्रगतिप्रति आफू सन्तुष्ट रहेको पनि बताए। ‘नगरले अनुगमनमा गरेको कडाइले अब ठेकेदारलाई पनि न्यून रकममा ठेक्का जानुहुँदैन भन्नेमा सचेत गराएको छ,’ उनले भने, ‘अब न्यून रकममा जानेबित्तिकै ठेकेदारले काम गर्न नसक्ने अवस्था आउनेछ, विकासे कामको गुणस्तरमा कुनै सम्झौता हुनेछैन।’ उनले विकास आयोजनाका प्रत्येक काममा प्राविधिकलाई नियमित हेरालु राखेर अनुगमन गरिरहेको पनि बताए।

सूर्याेदय नगरले यसअघिदेखि नै टोलटोलमा गएर नगरबासीको गुनासो सुन्ने ‘गुनासो चौतारी’ अभियान चलाइरहेको छ। प्रत्येक साताजसो चलिरहेको गुनासो चौतारीमा पनि नगरले गरिरहेका कामको खुलेर समीक्षा भइरहेको छ। ‘मेयरसहितका जनप्रतिनिधि हाम्रा काममा कुनै गुनासो भए राख्नू भन्दै टोलमै आउनु त अहिलेको समयमा दुर्लभजस्तै लाग्थ्यो, सूर्याेदय नगरले चाहिँ त्यही काम सहज ढंगले गरिरहेको छ,’ समालबुङका विमल तामाङ भन्छन्, ‘सर्वसाधारणको गुनासो सुन्न आएका बेला जनप्रतिनिधिलाई धेरै विषयमा सचेत गराउने अवसर मिल्छ।’

प्रकाशित: ८ असार २०७६ ०२:५३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App