coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

पूर्वमा अनियन्त्रित डेंगु

लार्भा नष्ट गर्ने अभियानअन्र्तगत धरानमा जथाभावी राखिएको टायर जफत गरिँदै। तस्बिर : रोहित/नागरिक

विराटनगर - सुनसरीको धरानबाट सुरू भएको डेंगुको संक्रमण पूर्वी तराईका तीन जिल्लामा फैलिएको छ। डेंगु संक्रमण हुनथालेको एक महिना भइसके पनि अझैसम्म नियन्त्रणमा आउन सकेको छैन।

प्रदेश १ को विराटनगर महानगरपालिकामा डेंगुका चारजना बिरामी फेला परेका छन्। विराटनगरका विभिन्न वडामा डेंगुका बिरामी फेला परेको जिल्ला स्वास्थ्य कार्यालय मोरङले जनाएको छ। विराटनगरमा मात्र हैन मोरङका सातवटा स्थानीय तहमा डेंगुका बिरामी देखापरेका छन्। जिल्ला स्वास्थ्य कार्यालय मोरङका अनुसार हालसम्म मोरङमा २३ जना डेंगुका बिरामी फेला परेका छन्, जसमध्ये १० जना उपचारपछि घर फर्किसकेका छन् भने १३ जना उपचाररत छन्। जिल्ला स्वास्थ्य कार्यालय प्रमुख ज्ञानबहादुर खड्काका अनुसार मोरङको विराटनगर, सुन्दरहरैंचा, ग्रामथान, उर्लावारी, केरावारीलगायतका स्थानीय तहमा डेंगुका बिरामी भेटिएका छन्।

डेंगु नियन्त्रणका लागि जिल्ला स्वास्थ्य कार्यालयले सबै स्थानीय तहलाई सचेतना र ‘सर्च एन्ड डिस्ट्रोय’ अभियान सञ्चालन गर्न पत्र पठाइएको खड्काले बताए। डेंगु रोग सार्ने लामखुट्टे भा“डामा राखेको पानी, ड्रममा जम्मा गरेको, पुराना टायर, फालिएका बोतललगायत वस्तुहरूमा जमेको पानीमा पाइने भएकाले घर वरपर पानी जम्ने वस्तुहरू भए त्यस्ता वस्तुहरूमा डढेको मोबिल हाल्न र जमेको पानी पोख्न पनि स्थानीयलाई सचेत गरिएको खड्काले जानकारी दिए।

मोरङमा डेंगुका बिरामी भेटिने क्रम जारी रहे पनि विकराल अवस्था भने नभएको खड्काले बताए। ‘डेंगु का छिटफुट बिरामी भेटिइरहे पनि डेंगु नियन्त्रणकै क्रममा छ,’ उनले भने ‘विकराल रूप लिने अवस्था देखिँदैन।’ तर सहरी क्षेत्रमा भवन निर्माणको क्रम तीव्र रहेको र भवन बनाउ“दा ड्रममा पानी राख्ने गरिएका कारण यस्तो पानीमा डेंगु सार्ने लार्भा हुर्किन सक्ने भएकाले यसतर्फ पनि ध्यान दिनुपर्ने देखिएको उनले बताए।

मोरङमा सबैभन्दा पहिले डेंगुको बिरामी भेटिएको विराटनगर महानगरपालिकाले डेंगु नियन्त्रणका लागि ‘सर्च एन्ड डिस्ट्रोय’ अभियान सञ्चालन गरेको जनाएको छ। यो अभियानका लागि विज्ञसहितको दुईवटा टोली खटाएर पानी जमेको ठाउ“मा मोबिल हाल्ने र डेंगुका लार्भा नष्ट गर्ने काम गरिरहेको छ। यस्तै लामखुट्टे मार्न मालाथिन फगी स्पे गर्ने कामलाई पनि १९ वटै वडामा सञ्चालन गरिएको महानगरपालिकाको स्वास्थ्य शाखाका अधिकृत एपोलो भगतले जानकारी दिए। डेंगु संक्रमण भएका बिरामीको उपचारका लागि विराटनगरको कोसी अञ्चल अस्पताल र निजी अस्पतालहरूलाई पनि तयारी हालतमा राखिएको छ।

झापामा पटक–पटक डेंगु
झापामा पनि डेंगुका बिरामी भेटिने क्रम जारी छ। लार्भा नियन्त्रणका लागि प्रभावकारी योजना नहुँदा झापामा डेंगु संक्रमितको संख्या बढ्दो छ। झापामा शुक्रबारसम्म मात्रै १४ जना संक्रमित भेटिएका छन्। लामखुट्टेको टोकाइबाट सर्ने यो रोगको संक्रमण यसअघि पनि झापामा पटक पटक देखिएको थियो।

जिल्ला स्वाथ्य कार्यालय झापाका भेक्टर कन्ट्रोल अधिकृत जीवन चौलागाईले डेंगु नियन्त्रण सचेतनाका काम स्थानीय तहले नै गरिरहेको बताए। उनले जिल्लाले समन्वयको काम मात्रै गर्ने उल्लेख गरे। ‘सूक्ष्म रूपमा नियन्त्रणका लागि लार्भा नष्ट गर्ने अभियान चलेकै छ,’ उनले भने, ‘स्थानीय सरकारले आपसी समन्वयमा काम गरे अझै सहज हुने थियो।’

झापामा सबैभन्दा बढी मेचीनगर नगरपालिकामा डेंगु संक्रमित देखापरेका छन्। मेचीनगरमा चारजनामा डेंगु संक्रमण फेला परेको मेचीनगरका स्वास्थ्य शाखा संयोजक शशीकला राईले बताइन्। उनका अनुसार मेचीनगर–१ पाटापुर र वडा नम्बर १० को पशुबजारमा एक÷एकजना डेंगु रोगी फेला परेका छन्। यसअघि मेचीनगर—९ स्थित खुट्टीडाँगी दुर्गा टोलमा आमा–छोरामा डेंगुको संक्रमण देखिएको थियो। चौलागाईका अनुसार स्थानीय सरकारले नै डेंगु नियन्त्रणका लागि लार्भा नष्ट गर्ने अभियान सञ्चालन गर्नुपर्नेछ। ‘डेंगु नियन्त्रणका लागि हामी प्राविधिक सहयोग उपलब्ध भने गराउछौं,’ चौलागाईले भने, ‘तर नियन्त्रणको अभियान अझै प्रभाकारी हुन सकेको छैन।’

झापाको दमकमा दुईजना संक्रमित भेटिएका छन्। संक्रमण भेटिएपछि मात्रै लार्भा नष्ट गर्न थालिएको छ। दमक नगरपालिकाको स्वास्थ्य शाखाका प्रमुख इन्द्र अर्यालले सचेतना र लार्भा नियन्त्रणको काम सँगसँगै बढाएको बताए। उनले डेंगुको संक्रमण थप फैलन नदिन काम अघि बढाएको उल्लेख गरे। झापाको दमक, भद्रपुर, बिर्तामोड, अर्जुनधारा, कन्काई नगरपालिकामा गरी १४ जना डेंगु संक्रमण व्यक्ति फेला परेका थिए। पहिलो पटक सन् २०१२ मा काँकरभिट्टामा फेला परेको थियो।

इटहरीमा सचेतना अभियान
धरानलाई डेंगु प्रभावित क्षेत्र घोषणा गरेर प्रदेश सरकारले विशेष कार्ययोजनासहित डेंगु नियन्त्रणको काम जारी राखेको छ। तर धरानबाहेक इटहरी तथा वरपरका क्षेत्रमा पनि डेंगुका बिरामी बढ्दा छन्। डेंगुका बिरामीको संख्या इटहरीमा छ, रामधुनीमा पाँच, इनरुवामा दुई, बराहक्षेत्रमा दुई र दुहवीमा एक जना पुगेको छ। इटहरीमा दुई साताअघि एकजना डेंगुको बिरामी भेटिएकोमा अहिलेसम्म छजना पुगिसकेको छ। इटहरीमा निरन्तर सचेतना अभियान जारी छ।

‘अब मनसुन सुरु भएकाले गर्दा फेरि घाम लागेपछि डेंगु फैलिने खतरा भएकाले गर्दा सचेतना अभियान जारी छ,’ इटहरी अस्पतालका स्वास्थ्यकर्मी रामकुमार धमलाले भने, ‘पानी परेर रोकिँदा पानी जमेको ठाउँमा लार्भा उत्पादन हुने हुँदा डेंगु संक्रमणको सम्भावना बढी हुन्छ।’ धरानमा डेंगु नियन्णबाहिर गएपछि इटहरीले बेलैमा सर्तकता अपनाउँदै सुरुमै गरिएको नियन्त्रण प्रयास सफल भएको उपमहानगरपालिकाकी उपमेयर लक्ष्मी गौतमले बताइन्। इटहरीसँगै रामधुनी, इनरुवा, बराहक्षेत्र र दुहवीमा पनि डेंगु रोग नियन्त्रणका लागि सेचतनामूलक कार्यक्रम जारी छ। यी स्थानमा सचेतना कार्यक्रम गर्न जिल्ला स्वास्थ्य कार्यालयको विशेष टोली खटिएको छ।

‘धरानमा जस्तो सुनसरीका कुनै पनि स्थानमा आतिनुपर्ने अवस्था छैन तर पनि सबै क्षेत्रमा सचेतता अपनाउनुपर्छ,’ जिल्ला स्वास्थ्य कार्यालयकी अधिकृत सुलोचना चौधरीले भनिन्। डेंगु भएमा उच्च ज्वरो आउने, बान्ता हुने, शरीरका जोर्नी दुख्ने, प्लेटलेसको कमीले शरीर निलो हुने, रातो डाम बस्नेलगायत लक्षण देखापर्छन्।

धरानमा घटे बिरामी
डेंगु ज्वरोले प्रकोपको रूप लिएपछि एक साताभित्र शून्यमा झार्ने लक्ष्य लिएर धरान उपमहानगरपालिका विशेष कार्ययोजनासहित लागिपरेको शनिबार एक साता भयो। एक सातामा जनपथ, सशस्त्र, नगर प्रहरीसहितको टोली वडास्तर र टोलस्तरमा गठन भएको सर्च एन्ड डिस्ट्रोय अभियानमा लागेको थियो। कार्यवाहक मेयर मञ्जु भण्डारी सुवेदी आफैंले पनि विभिन्न वडा र टोलमा पुगेर बेलाबेला अभियानको अनुगमन पनि गरिन्। तर लक्ष्यअनुसार डेंगुलाई शून्यमा झार्न सकिएको छैन। लक्ष्यअनुसार डेंगु नियन्त्रित हुन नसके पनि एक सातामा धेरै सुधार आएको छ। बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एक सातामा देखिएको पोजेटिम बिरामीको तथ्यांक विगतमा एक दिनमै पोजेटिम देखिएको भन्दा कम छ। यसले बिस्तारै डेंगुको प्रकोप कम हुँदै गएको चिकित्सकहरु बताउँछन्।

बिपी प्रतिष्ठानका सहायक अस्पताल निर्देशक डा. विकास साहका अनुसार एक सातामा मात्र ६५ जना डेंगु पोजेटिभ बिरामी भएको अस्पतालको रिपोर्ट छ। असार १ देखि ६ गतेसम्मको यो तथ्यांकले धरानमा डेंगुको प्रकोप घट्दो क्रममा रहेको देखिएको डा. साह बताउँछन्। ‘जेठमा त एकै दिन झन्डै सयको हाराहारीमा बिरामीहरु आएका थिए, अहिले सात दिनमा ६५ जना मात्र पोजेटिभ बिरामी आउनु भनेको धेरै नै कम हो,’ डा. साहले भने, ‘सबैको पहलले गर्दा सात दिनमा १० गुणा कम भएको छ, अभैm शून्यमा झार्न अभियानलाई नियमित गर्नुपर्छ।’

प्रतिष्ठानको तथ्यांकअनुसार वैशाख ३१ गते बिपी प्रतिष्ठानमा एकजना डेंगु पोजेटिभ बिरामी देखिएका थिए भने जेठ महिनामा मात्र ६ सय ३१ जना पोजेटिभ थिए। ती सबै अहिले निको भइसकेका छन्। डेंगुको भाइरस सामान्यत एक सातासम्म मानिसको शरीरमा रहन्छ। त्यसपछि अझै नष्ट हुने चिकित्सकहरु बताउँछन्। ‘डेंगु भयो भने बिरामीलाई एक सातासम्म अरू लामखुट्टेले नटोकोस् भनेर झुलभित्र राख्नुपर्छ, जसले गर्दा भाइरस सामान्य लामखुट्टेमा नसरोस् र त्यसले अरू मानिसलाई नसारोस्,’ डा. साहले भने।

धरानकी कार्यवाहक मेयर भण्डारीले प्रत्येक वडामा लार्भा नष्ट गर्ने अभियानलाई कडाइका साथ लागू गरिएकाले धेरै हदसम्म नियन्त्रणमा आएको बताइन्। ‘छतदेखि भुइँसम्म भन्ने नारा दिएर जमेको पानी फाल्ने र लार्भा नष्ट गर्ने अभियान चलाइरहेका छौं, यो अझै निरन्तर रहन्छ,’ उनले भनिन्, ‘प्रतिफल पनि देखिएको छ तर पानी पर्न थालेकाले पोस्ट मनसुन (वर्षापछि) को चिन्ता पनि छ।’ (विनोद सुवेदी/विराटनगर, युवराज विवश/दमक, अमर खड्का/इटहरी, रोहित राई/धरान)

 

प्रकाशित: ८ असार २०७६ ०२:२५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App