८ वैशाख २०८१ शनिबार
राजनीति

विप्लवभन्दा सरकारबाट खतरा : गगन थापा

गोरखा– नेपाली कांग्रेसका केन्द्रीय सदस्य गगनकुमार थापाले देशमा विप्लवबाट भन्दा सरकारबाट धेरै खतरा रहेको बताएका छन्। ‘धार्मिक यात्रा गरिरहेका राजा र बैकल्पिक शक्ति भन्ने विप्लपबाट भन्दा बढी खतरा छ भने सरकारबाट संविधानमाथि ठूलो खतरा छ’, कांग्रेस पालुङटार नगर सम्मेलनमा बोल्दै उनले भने।

कांग्रेसको नेतृत्वमा संविधान बनेको र शान्ति प्रक्रियाको बाटो पनि कांग्रेसले थालनी गरेको बताउँदै उनले संविधान बनाएर कांग्रेसले हालेको जग अहिले कम्युनिस्ट सरकारले भत्काउन थालेको आरोप लगाए। ‘संविधान बनाएर जग हाल्यौँ, अहिले एक तलाको घर बनाउन जिम्मा कम्युनिस्टलाई जनताले दिए। तर, घरको तला थप्न छाडेर सरकारले अहिले जग खन्न तिर लाग्यो’, सरकारको आलोचना गर्दै उनले भने, ‘घर बनाउने जिम्मा पाएको पार्टीले आधारभुत काम पनि गर्न सकेन।’ सरकारले संविधान, लोकसेवा आयोग, कानुन, अदालत केही नमानेको उनको दाबी छ। सरकारले ल्याएको मिडिया काउन्सिल विधेयक प्रेससँग मात्रै जोडिएको विषय नभई आम नागरिकको अभिव्यक्ति स्वतन्त्रतासँग जोडिएको भन्दै कुनै पनि हालतमा लागु हुन नदिने बताए।

अर्थतन्त्रलाई गती दिन नसक्नु, शान्ति सुरक्षा कायम गर्न नसक्नु तथा भ्रष्टाचारलाई सरकारले प्रशय दिएको बताउँदै उनले सरकार संविधानले दिएको अधिकार खोस्न लागिपरेको बताए। आम जनजिविकासँग जोडिएका विषयमा सरकारले चासो नदिएको थापाको भनाई थियो। सरकार चलाइरहेको नेपाल कम्युनिस्ट पार्टीको कुनै सिद्धान्त नभएको बताउँदै उनले भने, ‘डेढ वर्ष अघि जन्मिएको पार्टीको कुनै सिद्धान र इतिहास छैन, अहिले यसै अलमलिएको छ।’ 

प्रधानमन्त्री केपी शर्मा ओलीमा आफूलाई भन्दा धेरै कसैलाई थाहा छैन भन्ने भावना रहेको बताउँदै उनले सबैभन्दा धेरै अनुकुलता पाउँदा पनि प्रधानमन्त्रीले केही गर्न नसकेको आरोप लगाए। प्रतिपक्ष कमजोर भएका बेला सरकारलाई काम गर्न सहज हुने र जनताको चाहना अनुसार काम गर्न सुझाब दिँदै केन्द्रीय सदस्य थापाले ‘भष्ट्राचार गर्दिन भन्ने प्रधानमन्त्री तर वाइडवडी खाने, बुढीगण्डकी खाने र बालुवाटार पिउने सँगै छन्।’ कांग्रेसले देश र जनताप्रति कहिल्यै घात नगरेको बताउँदै उनले पार्टी भित्रको एजेण्डाका बारेमा आन्तरिक बैठकमा छलफल गरेर सुधार गरेर जानुपर्ने बताए।

कांग्रेस सह महामन्त्री प्रकाशरण महतले अबको कांग्रेसको अभियान कम्युनिस्ट मुक्त सरकार बनाउने रहेको बताए। उनले भने ‘नेपालमा अपवाद र जात्रा भइरहेको छ। प्रधामन्त्री समृद्ध नेपाल सुखी नेपाली बनाउने भन्नुहुन्छ तर जनता कोही खुसी छैनन।’ कांग्रेसभित्र ब्यक्तिबादी प्रवृत्ति भएकाले त्यसलाई हटाउनुपर्ने बताउँदै उनले कमजोर पार्टीको सभापति हुन भन्दा बलियो पार्टीको कार्यकर्ता हुने गरी अगाडि बढ्न कार्यकर्तालाई सुझाब दिए। 

प्रकाशित: ७ असार २०७६ १४:५४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App