६ वैशाख २०८१ बिहीबार
समाज

असारे विकासको चटारो

असारमा धमाधम भइरहेको सडक निर्माणको अनुगमन गर्दै राजदेवी नपाका प्रमुख धीरेन्द्र सिंह र प्रमुख प्रशासकीय अधिकृत संजय पाण्डे। तस्बिरः नागरिक

रौतहट–राजदेवी नगरपालिकाले सडकसम्बन्धी काम सुरु गरेको छ। नगरको मुख्य सडकको विस्तार गर्दा दुवैतिरका घरहरु भत्काइनुका साथै सडकको निर्माण पनि सुरु गरेको छ। नगरपालिकाले दर्जनभन्दा बढी साना ठूला सडकको काम एक साथ सुरु गरेको हो।

यस्तै ईशनाथ नगरपालिकाले पनि सडकका साथै विभिन्न विकासे योजनाको एक साथ सुरुआत गर्दै नगर परिषद्को तयारी पनि गरिरहेको छ। ईशनाथको मुख्य बजार औरैयालाई चारैतिरबाट जोड्न सडकको निर्माण सुरु गरेको नगरपालिकाले बजेट बनाउँदै उपमेयरसँगतको विवाद मिलाउन धौ–धौ परेको छ।

छोटो समयमा विकासको रकम सकिनुपर्ने बाध्यात्मक अवस्थाका कारण अधिकांश नगरमा विकासको चटारो देखिएको हो।

रौतहटकै माधव नारायण नगरपालिकामा सडकको ढलान तीव्र भइरहेको छ। नगरको आधा दर्जनभन्दा सडक एकसाथ ढलान भइरहेको छ। बजेट बनाउने चटारो हुनुपर्ने समयमा बजेट पचाउने चटारो नगरपालिकालाई छ।

यसै गरी वृन्दावन नगरपालिकाको विभिन्न वडामा सडक ढलानको काम धमाधम भइरहेको छ। पहिलेदेखि विवाद रहेको वृन्दावनमा विवाद सल्टिँदै गएका वडामा सडक ढलान र मरम्मतको काम धमाधम भइरहेको एक वडाध्यक्षले बताए। केही वडाको विवाद अझै सल्टिन बाँकी रहेकाले विवाद सकिएपछि काम सुरु हुने वडाध्यक्ष सुबोध झाको भनाइ छ।

जिल्लाका अधिकांश नगरपालिकामा असारे विकासको चटारो छ। धेरै ठाउँमा पहिलेदेखि नगर कार्यपालिकाका सदस्यहरूबीच विवाद रहेको कारण समयमा बजेट खर्च हुन सकेको थिएन। असारमा बजेट नै फ्रिज हुने डर भएकाले पैसा सकिन सबैतिर विकासको चटारो देखिएको हो।

नियमानुसार असार १० गते स्थानीय सरकारले नगर परिषद् सम्पन्न गर्नुपर्ने हुन्छ। अधिकांश नगरपालिकाले बजेटको तयारी गर्दै फ्रिज हुने रकम जोगाउन विकास कार्यमा तीव्रता दिएको छ। छोटो समयमा विकासको रकम सकिनुपर्ने बाध्यात्मक अवस्थाका कारण अधिकांश नगरमा विकासको चटारो देखिएको हो।

असारमा विकास हुने र अधिकांश विकासलाई साउनको बाढीले बगाउने हुनाले असारे विकासको जताजतै विरोध हुने गरेको छ। वर्षभरि विकासको काम सुस्त गतिमा हुने तर, असार आएपछि विकासमा तीव्रता आउने चाँहि विवाद भएको नगरपालिकामा नै भएको धेरैको बुझाइ छ।

गढीमाई नगरपालिकाका मेयर श्यामप्रसाद यादवले नगरपालिकाको बजेटमा हुने विकास र निर्माणको काम पूरा भइसकेको बताउँदै केन्द्र र प्रदेश सरकारले नै ढिलो रकम पठाएको हुनाले केही योजनाको काम भइरहेको बताएका छन्। केन्द्रले ढिलो गरी समपुरक अनुदानको रकम र सडक बोर्डले पनि ढिलो गरी रकम पठाएको कारण गढीमाई नगरपालिकामा दुईवटा योजना चलिरहेको बताउँदै मेयर यादवले प्रदेश सरकारले अहिले रकम खर्च गर्न खोजेकाले जताततै असारे विकास भएको देखिएको आरोप लगाएका छन्।

असारमा विकास गर्ने प्रवृत्तिको नागरिक समाजले विरोध गरेको छ। नागरिक समाज रौतहटका सचिव विजयकिशोर झाले असारे विकासले बिल भरपाई बन्ने र काम सकिने गरेको प्रवृत्ति बढेको बताएका छन्। यसले गर्दा नक्कली बिल भरपाई बनाएर पनि जनप्रतिनिधिले आफन्त र कार्यकर्ता पोस्ने काम गरेको आरोप लगाएका छन्।  असारे विकासले रकमको दुरुपयोग बढाएकोप्रति सरकार तथा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ध्यान जानुपर्ने सचिव झाले बताएका छन्।

संघीय संसदमा विकास समिति सभापति कल्याणी खड्काले असारमा समाप्त हुने आर्थिक वर्षलाई कम्तीमा वैशाखमा पु¥याउनुपर्ने धारणा व्यक्त गरेकी छन्। असारमा खेतीपातीको समय हुने र वर्षाको समय हुने हुनाले सर्वसाधारणले पनि विकासमा ध्यान दिन नपाउँदा विकासमा मनोमानी हुने गरेको बताउँदै सभापति खड्काले विकासमा निगरानी गर्ने मुख्य जिम्मेवारी सरकारको भए पनि नागरिक समाज पनि जिम्मेवार बन्नुपर्ने बताएका छन्। 

 

 

प्रकाशित: ७ असार २०७६ ११:२० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App