बौद्ध दर्शन

बुद्ध महामानव होइनन्

शनिबार, ०७ असार २०७६, १२ : ५३ नागरिक

बसन्त महर्जन

‘गौतम बुद्ध’बाट धर्म (उपदेश) सुनेर, प्रभावित भएर तथा त्यसबाट जीवनमा लाभ प्राप्त गरी नतमस्तक हुँदै उनको प्रशंसा गर्ने क्रममा अनेकौं शब्द प्रयोग गर्ने गरेको पाइन्छ। अचेल ती उपदेश ग्रन्थमा पढेर, सुनेर वा निर्दिष्ट विधिअनुसार ध्यान गरेर लाभी भएकाले पनि मुक्तकण्ठले प्रशंसा गर्दै अनेक विशेषण प्रयोग गर्ने गरेको पाइन्छ। ‘भगवान्’ सम्बोधन गरेको पनि पाइन्छ र यो शब्दको सार्थकता स्वयं बुद्धबाट प्रष्ट पारिएको छ। उनी ‘शाक्यमुनि’ शब्दबाट पनि सम्बोधित छन्। आफैले आफ्ना लागि प्रयोग गर्ने शब्द ‘तथागत’ हो। यस्ता अनेकौं शब्द छन्। आजभोलि प्रचलित ‘महामानव’ शब्द बुद्धको बेलामा प्रचलित थिएन। बुद्धलाई ‘महामानव’ भन्नु बौद्ध धर्म र दर्शनको कसीमा राखेर हेर्दा अनुपयुक्त, अमर्यादित, आपत्तिजनक र अतार्किक छ।

द्रोण नामका एक ब्राह्मणले स्वयं बुद्धसँग सोधेका थिए– तपाईं मनुष्य हो ?
बुद्धसँग ‘तपाइं मनुष्य हो ?’ भनेर सोध्नु उटपट्याङ् कुरा हो। सुन्दै प्रश्नकर्ता कस्ता उल्लू रहेछन् भन्ने लाग्न सक्छ। तर, प्रश्नकर्ताको हैसियत र प्रश्नको पृष्ठभूमि गम्भीर छ। बुद्ध के हुन् र के होइनन् अथवा को हुन् भनेर बुझ्न यो प्रसङ्ग निकै सहायकसिद्ध हुन्छ। 

बुद्ध जीवनीलाई गम्भीर अध्ययन गर्नेमध्ये प्रायःलाई हेक्का हुन्छ, महापरिनिर्वाणपछि कुशीनगरमा बडो सम्मानका साथ दाहसंस्कार गरिएको थियो। अस्तिधातु सबै कुशीनगरका मल्लहरूले राख्न खोजेका थिए। तर, मगधलगायत अन्य राज्यले पनि पाउनु पर्ने भन्दै आएका थिए। आ–आफ्नो  ठाउँमा लगी अस्थिधातुको पूजा गरेर राख्ने मनसाय उनीहरूको थियो। कलह भयो। युद्धकै स्थिति आयो। यो अवस्थामा सबैलाई बराबर बाँडिदिने प्रस्ताव द्रोण नामका ब्राह्मणले राखेका थिए र सबै सहमत भए। यी ब्राह्मण यश र कीर्तिले सम्पन्न, तीन वेद, व्याकरण, इतिहास र लक्षणशास्त्रमा निपुण थिए। पाँच सय शिष्य वरिपरि राखेर हिँड्ने हैसियत राख्ने यी ब्राह्मण कोशलराज्य अन्तर्गतको उक्कट्ठा नगरका थिए। उनका बारेमा अङ्गूत्तरनिकाय र दीर्घनिकाय ग्रन्थमा उल्लेख छ।

स्वयं बुद्धले ‘म बुद्ध हुँ’ भनिसकेपछि फेरि पनि ‘मानव’ अथवा ‘महामानव’ भनी जिद्दी गरेर बस्नुको औचित्य छैन। कि बुद्धलाई मानव अथवा महामानव नै रहेको कुरामा अड्डी लिनेहरूले प्रमाणित गर्नसक्नु प-यो, उनले बुद्धत्व प्राप्त गरिसकेकै छैन भनेर अर्थात् बुद्ध होइनन्।

अङ्गूत्तरनिकायको ‘द्रोण सूत्र’ अनुसार एक दिन उनले बाटोमा अनौठो पदचिन्ह देखे। त्यो पदचिन्ह गौतम बुद्धको थियो। बाटोमा हिँड्दा बुद्धको पदचिन्ह विशेष ज्ञानीहरूले मात्र चिन्ने कुराको जानकारी बौद्ध ग्रन्थमा पाइन्छ भने मागन्दीय ब्राह्मणलगायत प्रसङ्गमा पनि यो कुरा उल्लेख  पाइन्छ। बाटोमा देखिएको पदचिन्हमा चक्राङ्कित रेखा थियो। सो चक्रचिन्हमा हजार वटा तेर्सा रेखा र भित्री तथा बाहिरी गोलाइ रेखा पनि राम्ररी देखिन्थ्यो। यस्तो देखेर उनी बोले– ‘आश्चर्य, अद्भूत। यो पद–चिन्ह मनुष्यको हुनै सक्दैन।’

चक्राङ्कित पदचिन्ह पछ्याउँदै गए। त्यो बेला गौतम बुद्ध उक्कट्ठा नगरबाट श्रावस्तीको नजिक पर्ने नगर सेतव्यतर्फ जाँदै थिए। द्रोणले बुद्धलाई रूखमुनि प्रसन्न तथा सुन्दर मुद्रामा भेट्टाए। प्रश्न गर्नमा अन्योल भएर अतीत वा वर्तमान वाक्यले नभई अनागत वाक्यले सोधे, ‘तपाईं देवता हुने हुनुहुन्छ कि ?’ बुद्धको जवाफ नकारात्मक आयो। फेरि सोधे– ‘तपाईं गन्धर्व हुनुहुन्छ कि ?’ पुनः नकारात्मक जवाफ आयो। ‘तपाईं यक्ष हुनुहुन्छ कि ?’ भनेर सोधेको प्रश्नमा पनि नकारात्मक जवाफ आएपछि ‘त्यसो भए तपाईं मनुष्य हुने हुनुहुन्छ कि ?’ भनेर सोधे। मनुष्यको सन्दर्भमा पनि पूर्ववत् नकारात्मक जवाफै आयो। ‘त्यसो भए तपाईं को हुनुहुन्छ त ?’ भनेर सोधेको प्रश्नमा बुद्धको जवाफ सटीक छ। बुद्धको जवाफ थियो, ‘जुन हेतुले देवता, गन्धर्व वा विहङ्गम हुने हो अथवा जुन हेतुले यक्षत्वमा वा मनुष्यत्वमा जाने हो, ती मेरा आस्रवहरू क्षीण भइसके, विध्वंश भइसके, बन्धनमुक्त भइसके। जस्तो पुण्डरिक–फूल पानीले छुन नसक्ने गरी पानीभन्दा माथि गएको हुन्छ, त्यस्तै मलाई लोकधर्मले छुन सक्दैन, त्यसो हुनाले, हे ब्राह्मण, म बुद्ध हुँ।’

स्वयं बुद्धले ‘म बुद्ध हुँ’ भनिसकेपछि फेरि पनि ‘मानव’ अथवा ‘महामानव’ भनी जिद्दी गरेर बस्नुको औचित्य छैन। कि बुद्धलाई मानव अथवा महामानव नै रहेको कुरामा अड्डी लिनेहरूले प्रमाणित गर्नसक्नु प¥यो, उनले बुद्धत्व प्राप्त गरिसकेकै छैन भनेर अर्थात् बुद्ध होइनन्। बुद्धलाई बुद्धका रूपमा ग्रहण गर्न नसक्नेले उनका उपदेश पनि आफूअनुकूल बुझ्ने तथा बुद्ध र बौद्ध समाजले जे भने पनि नटेर्ने स्वभावका हुन्छन्। यस्तो पाराले बौद्ध अध्ययन हुन सक्दैन।

गौतम बुद्ध पनि आफूजस्तै एक मान्छे रहेको र जान्ने–बुझ्ने भएपछि बुद्ध भनिएको भन्ने भ्रम एक थरी बौद्धिक वर्गमा पनि छ। उनीहरूका अनुसार एउटा मान्छेलाई देवता बनाउने वा देवत्वकरण गर्ने नाकाम बौद्धहरूले गरेका हुन्। वास्तविकता त के हो भने, बौद्धहरूलाई राम्रैसँग थाहा छ, देवता हुनु ठूलो कुरा होइन। बरु, बुद्ध भइनसकेका तर केही कुशलकर्मको पुण्यले देवलोकमा जन्मेका मात्रै हुन्, पुण्य संचय क्षय भए पनि देवलोकबाट च्यूत हुनुपर्छ। अनीश्वरवादी बुद्धलाई ईश्वर बनाइदियो भन्ने आरोप पनि यी बौद्धिक वर्गले लगाइरहेको पाइन्छ। जसरी बुद्ध अनिश्वरवादी हुन्, बौद्धहरू पनि त्यसरी नै अनिश्वरवादी रहेको बुझ्न सक्दैनन्। बौद्धहरूको थोरै मात्र संगत गर्ने हो भने पनि यो कुरा छर्लङ्ग हुन्छ। आफूलाई भौतिकवादीका रूपमा चिनाउन रुचाउने तथा भौतिकवाद बाहेक अरूलाई मिथ्या ठान्ने वर्गले आफूमा भएको भ्रम नहटाएसम्म बुद्धलाई कुनै हालतमा चिन्न सक्दैनन् किनभने बुद्धले तिनीहरूका सम्बन्धमा स्पष्ट शब्दमा ‘मिथ्यादृष्टि’ भनेका छन्। बुद्धका कतिपय उपदेशहरू भौतिकवादको नजिक होला। तर, भौतिकवादी नै भने होइनन्। त्यस्तै भौतिकवादको विपरितार्थका रूपमा लिने अध्यात्मवादी पनि बुद्धलाई आफ्नै पाराले बुझ्ने र बुझाउने गरेको पाइन्छ। यो दृष्टिकोणलाई पनि बुद्धले खण्डन गरेका छन्। बुद्ध मध्यममार्गी हुन्।

अनात्मवादी बुद्धलाई ‘महात्मा’ भन्ने, निर्वाण प्राप्त गरिसकेको बुद्धलाई ‘विष्णुको नवौं अवतार’ ठान्ने लगायतका कुरा तर्कसंगत छैनन्। बारम्बार जन्मेर बोधिचर्या गर्दै अन्ततः अब कहिल्यै जन्मनु नपर्ने गरी महापरिनिर्वाण प्राप्त गरिसकेका बुद्धलाई विष्णुको नवौं अवतारका रूपमा लिनु त्यस धार्मिक मतले आफ्नो खुट्टामा आफैं बन्चरो हान्नु मात्रै हो। किनभने उनीहरू विष्णुलाई कहिल्यै नमर्ने, अजरअमर र समय–समयमा जन्म लिने भनिएको कुरा ‘नवौं अवतार’को कुराले झूठो साबित गरिदिएको कुरा होसै भएन।

एउटा प्रश्न उठ्छ– शिष्यहरूलाई कपाल खौरन लगाएर बुद्धले आफू मात्रै किन जुरो बाँधेको ? खासमा त्यो जुरो नै होइन। त्यसलाई उष्णीष भनिन्छ। बुद्धले पनि कपाल काटेका थिए र त्यसउप्रान्त केश नबढेपछि काट्नु पर्ने जरुरतै भएन। बुद्धको निधारमा उर्णा पनि हुन्छ, जुन सर्वसाधारणको नजरमा टीकाजस्तो देखिन्छ। यसबाहेक ३२ लक्षणले युक्त हुन्छन्। अतीतकालका दिपङ्कर बुद्धलाई देखेर तत्कालीन तापसी सुमेधले ‘म पनि तपाईंजस्तै बुद्ध बन्न सकूँ’ भनेर प्रणिधान गरेका थिए। त्यस उप्रान्त अनेकौंं कठोर साधना गरी अन्तिम जन्मका रूपमा लुम्बिनीमा इपू ५६३ मा जन्मेर ३५ वर्षको उमेरमा बुद्धत्व प्राप्त गरेका थिए। अर्थात् दिपङ्कर लगायतका बुद्धहरूजस्तै उनी पनि गौतम बुद्ध बने। साधनाका क्रममा इन्द्र भएरै सात पल्ट जन्मेको वर्णन पाइन्छ। मनुष्य, देवता, पशुपंक्षीलगायत अनेकौं योनिमा जन्म लिएर बोधिचर्या (साधना) गरेका थिए। यसबाट बुझिने एउटा कुरा हो– साधनाका क्रममा माझिँदै जाने रहेछ र यस क्रममा शारीरिक अवयव पनि फरक पर्ने गर्छ।

अन्तिम जन्मको केही दिनपछि शिशुको दर्शन गर्न आएका ऋषि असितले शिशुको शरीर लक्षण हेरेरै भविष्यमा बुद्ध हुने ठम्याइसकेका थिए। यस्ता थुप्रै कुरा छन्, जसले बुद्धत्व प्राप्त गर्नुअघि नै मान्छेको ध्यानाकर्षण भइसकेको थियो। साधारण मान्छेमा यस्तो कुराको अभाव हुन्छ। र त, द्रोण ब्राह्मणलाई तपाईं मानिस हो भनेर सोध्नु पर्ने जरुरत भयो, केही फरक पाएरै त त्यत्रो विद्वानलाई यसरी सोध्नु पर्ने जरुरत प-यो। देवतालगायत अन्य पनि मानिसको रूपमा आउने र कुराकानी गरेर फर्कने गरेको प्रसङ्ग पनि बौद्ध घटनावलीमा पाइन्छन्।

धेरैलाई लाग्दो रहेछ, एक साधारण मानिसले असाधारण काम ग-यो भने त्यसलाई महामानव भन्न सकिन्छ। तर, बुद्ध त्यस्ता महामानव होइनन्। बुद्धलाई महामानव होइन भन्दा मानव जातिको गरीमालाई अवमूल्यन गरेको ठानिन पनि सक्छ। बौद्ध धर्मदर्शनले मानव जातिमा मात्रै चासो राख्दैन बरु सारा प्राणी जगत उसको सरोकारको विषय हुन्छ। यस्तो हुँदाहुँदै पनि मानिसले मात्रै म बुद्ध हुन्छु भनेर प्रणिधान गर्न सक्छन्। सोहीअनुसार बोधिचर्या गर्नका लागि मनुष्य योनिमा सहज हुन्छ। यस प्रकार माझिँदै र खारिँदै एउटा तहमा पुग्ने हो जुन नितान्त नौलो हुन्छ र पहिचान पनि बदलिन्छ। पुरानो पहिचान त्यागेर नयाँ पहिचान बनाएकोलाई पुरानै पहिचानले सम्बोधन गर्नु वा चिन्नु भनेको वास्तविकतालाई अस्वीकार गर्नु हो अर्थात्, गौतम बुद्धलाई बुद्धका रूपमा स्वीकार्नु पर्छ, महामानवका रूपमा होइन। 








यसमा तपाईको मत

अन्य समाचार

एप्पल आइप्याडमा पनि फोटोशप आउँदै

एप्पल आइप्याडमा पनि फोटोशप आउँदै

“एडोब फोटोशप” अब एप्पलको आइप्याडमा पनि आउने भएको छ ...

कृषि बैंकको साना कर्जा सम्झौता

कृषि बैंकको साना कर्जा सम्झौता

कृषि विकास बैंकले मझौला तथा साना व्यवसाय, परियोजनामा कर्जा लगानीलाई प्रोत्साहन गर्न ग्रामीण प्रविधि केन्द्र र सामुदायिक विधुत उपभोक्ता राष्ट्रिय...

हिमालयन बैंकले सेयर बिक्री गर्ने

हिमालयन बैंकले सेयर बिक्री गर्ने

हिमालयन बैंकले नौ अर्ब ६७ करोड रुपैयाँ बराबरको सेयर बिक्री गर्ने भएको छ । ...

मारुती सिमेन्टमा ‘चाँदीको झिलिमिली’ योजना

मारुती सिमेन्टमा ‘चाँदीको झिलिमिली’ योजना

मारुती सिमेन्टले दिपावली तथा छठ पर्वको अवसर पारेर ‘चाँदीको झिलिमिली’ योजना सार्वजनिक गरेको छ । ...

टेलिकमको ‘डाटा रोमिङ प्याक’

टेलिकमको ‘डाटा रोमिङ प्याक’

नेपाल टेलिकमले अन्तर्राष्ट्रिय रोमिङ सेवा लिई भारत भ्रमणमा जाने कम्पनीका मोबाइल प्रयोगकर्ताका लागि ‘डाटा रोमिङ प्याक’ सञ्चालन गरेको छ ।

सिथोसको एआई सेवा नेपालमा

सिथोसको एआई सेवा नेपालमा

अमेरिकी कम्पनी सिथोसले नेपालमा सेवा विस्तार गर्ने भएको छ । ...

सिटिजन्सको कम्पनी सचिवमा श्रेष्ठ

सिटिजन्सको कम्पनी सचिवमा श्रेष्ठ

सिटिजन्स बैंक इन्टरनेसनलको सञ्चालक समिति बैठकले राजेन्द्रलाल श्रेष्ठलाई कम्पनी सचिवमा नियुक्त गरेको छ । ...

कोकको एक्टिभेसनमा आँचल शर्मा

कोकको एक्टिभेसनमा आँचल शर्मा

कोकको दसैं तिहार अभियानको चौथो संस्करणको ग्राउन्ड एक्टिभेसनमा अझ बढी रौनक थप्न अभिनेत्री आँचल शर्माले २२, २३ र २४ अक्टोबरमा...

Ncell Footer Ad