coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
अन्य

एक रात, एक समय

सुरेन्द्र खनाल

उनीहरू हरेक पल आत्तिएर, तर्सिएर, कुनै एउटा आशाको किरण कुरेर बसेका हुन्छन्। टाढा एउटा पिलपिले बत्ती देखिन्छ। अगाडि जानु नै छ सबैलाई। अत्यासलाई अलिकति मत्थर बनाइदिन्छ त्यो बत्तीले। अनि कौतुहलता प्रगाढ बनाइदिन्छ।

पहिरोले गाडीको आवतजावत ठप्प छ। बेलुकासम्म थिएन त्यस्तो। अनि वर्षाको समय, मुसलधारे पानी, पहाडको बाटो, रातको ९ बजे। उताबाट आएको बत्ती उनीहरूको आशाको किरण बन्छ। एकदमै बिस्तारै गाडीबाट ओर्लेर पहिरो पारि जान्छन्। पिलपिल बत्ती मधुरबाट मन्द हुन धेरै समय लाग्छ। उनीहरूलाई कुर्न पट्यार लाग्छ, बिस्तारै त्यतैतिर जान्छन्। झण्डै १५ मिनेटपछि त्यो मधुर प्रकाश त्यहीँ आएर एउटा टेम्पो बन्छ। अनि त्यसबाट तीन जना मान्छे ओर्लिन्छन्।
‘अगाडि पहिरोले बाटो बन्द छ। तपाईंहरू गाडीसित उता जान सक्नुहुन्न।’

‘हत्तेरी बा बिरामी छन् भनेर आको फेरि के पो गर्नु अब मैले ! यहाँबाट हिँडेर घर पुग्न त बिहानै पो हुन्छ त।’ ‘यिनलाई व्यथाले च्यापेको छ, अस्पताल लैजान लाको, म बिन्ती गर्छु, हामीलाई सहयोग गर्नुस्।’ ‘बूढालाई कस्तो दिनमा बिरामी हुनु परेको !’ ‘ए भाइ, उताको हाम्रो गाडीमा तपाईंहरू जानुस् अनि यो फर्काएर हामी अस्पताल जान्छौँ। गुरुजीबाट त्यति कृपा होला नि। के भन्नुहुन्छ गुरु ? ‘समस्या नै छ भने दुखमसुखम जान कोसिस गर्न सकिन्छ। तर, मलाई यताबाट फर्केर जाँदाको पैसा पनि दिनु पर्छ।’ ‘त्यसको तपाईं चिन्ता नगर्नुस्।’

चार जना त्यो रातको वर्षामा, कच्ची बाटोमा पिलपिल बत्ती बालेर हिँड्छन्। छिनछिनमा ऊ पीडाका चिच्याहट छोड्छे। छेउमा बसेको श्रीमान्लाई उसले जोडले समात्छे र उसले सुम्सुम्याउँछे। गुरुजीले टेम्पो होसियार भएर एउटै गतिमा गुडाइरहन्छन्, कुदाउनेभन्दा हिँडाउने, छिटोछिटो हिँडाउने।

अलि पर गएपछि कसैको दिमागमा आउँछ, ‘खोई नेताजी ?’  डाक्टरले हातको लाइट पछाडि लगाउँछ र हेर्छ। नेताजी बाटोमै ढलिरहेका हुन्छन्। उठाउन कसैलाई रहर लाग्दैन, कसैलाई कर लाग्दैन। उठाउनु अर्को घाँडो हुन्छ। गुरुजी गएर नेताज्यूको छाता टाउको छोप्ने गरी राखिदिन्छन्। टेम्पो अगाडि बढिरहन्छ।

‘सुत्नै लाथेँ है म त, त्यो साला कोठाछेउमा बस्नेले झक्झकाइहाल्यो। फेरि आफूलाई पनि कहिले केही काम पर्ला भन्न पर्ने हिँडेको, पानी पो पर्दिरा। साला खोला छ बीचमा, अनि यो चिप्लो बाटो। उकालो–ओरालो छ, तान्दैन फेरि। पिच बाटो, बजारमा हिँडाउने टेम्पोसित साला यो कस्तो संसारमा आइएछ यो रातिमा,’ गुरुजी बोले। 

एकछिनसम्म कोही केही बोलेनन्। ‘म १५ दिनपछि एक रात बस्न घर आएको। आजै साथी बिरामी भएछ। दुःख पनि गर, अनि यो राति मलाई नै जान पर्ने। आमा एक्लै छोडेर हिँडेँ फेरि। खप्पर पनि कस्तो लिएर आइया छ।’ ‘हजुर भगवान् हो हाम्रा लागि। दुःखमा बाटोमै भेटिएको भगवान्। बच्चा ठूलो छ रे हाम्रो। अस्ति भिडियो गर्दा भनेको। अनि हामीले घरमा जन्माउनुभन्दा दुखमसुख अस्पताल जान ठीक ठान्यौँ।’

हल्का ओरालो बाटोमा मन्द गतिमा टेम्पो गुडिरहन्छ। कहिले यता चिप्लिन्छ, कहिले उता। ड्राइभरले एउटै सिद्धान्त लिएर हिँडाउँछ, कुनातिरबाट लग्यो भने चिप्ले पनि मरिन्न। पानी क्रमशः बढ्दै जान्छ। पानीसँगै व्यथाले उसलाई च्याप्दै जान्छ। ऊ दुखेर चिच्याउँछे, त्यसले मुसलधारे पानीमा एउटा संगीतको टुक्राजस्तै बनिरहन्छ। जब चिच्याउनुको जोड बढ्दै जान्छ तब त्यसले सायद सुतिरहेको, सायद आफ्नै धुनमा काम गरिरहेको समयलाई आफूतिर खिच्दै जान्छ।
गुरुजी खासै बोल्दैनन्, मुखमा एउटा ‘पराग’ राखेका हुन्छन् पिच्चपिच्च थुकिरहन्छन्।

‘अब के हुन्छ ?’ हरेक फेरिएको परिवेशमा श्रीमान् अतालिरहन्छ र कराइहाल्छ। साँच्चि अब के हुन्छ ? समयले त्यो सुनेर मुस्कुराउँछ। ‘चिन्ता नलिनुस्, म यहीँ छु। बहिनी जोडले यो डन्डा समातिराख है, अनि लामो लामो सास फेर, छिट्टै अस्पताल पुगिन्छ।’ लुगाको झोलाबाहिर भिजेको देखेर उसले भित्र तानेर काखमा आफ्नो झोलामाथि राख्छ।

उसले श्रीमान्लाई जोडले समात्छे। अर्को हात घरीघरी डाक्टरलाई समात्छे, अनि अप्ठ्यारो मानेर हटाउँछे पनि। तर बेलाबखतको पीडामा त्यसको लेखो रहँदैन। त्यो कुरा समयले राम्ररी ध्यान दिएको हुन्छ। ‘तिमी नआत्तिऊ, डाक्टरसा’ब सँगै हुनुहुन्छ। लामोलामो सास फेरिराख। अब बाटो आधा हुनै लाग्यो। हामीले छिट्टै पहिलो बच्चा पाउँदैछौँ। त्यो सोच,’ श्रीमान्ले ढाडस दियो।

उसले कर्के आँखाले श्रीमान्लाई हेरी। त्यो कुरा श्रीमान्ले पत्तै पाएन। उनीहरूको लड्खडाउँदै गरेको टेम्पो ओरालो लागिरहन्छ। उसलाई पेटको दुखाइले धेरै कुरा सोच्न दिँदैन। कहिलेकाहीँ सँगै बसेको श्रीमान्देखि रिस उठ्छ। ऊ सबै कुरा हातमै छ जस्तै देख्छे। उसलाई डाक्टरले सजिलै उसको बच्चा पाइदिनसक्छ जस्तै लाग्छ। श्रीमान्लाई एकदमै डर लागेको हुन्छ। कस्तो खप्पर लिएर आएछुदेखि किन घर छाडेछुसम्म दिमागमा आउँछ। डाक्टरलाई कस्तो घाँडोमा फसियो भन्नेदेखि यदि उसलाई बाटोमै तलमाथि भए के गर्ने के भन्ने कुरासम्मले दिमाग घुमाइरहन्छ।

उता ड्राइभरलाई फर्किन कोही त पाएँ भन्नेदेखि अगाडि अलिअलि देखिने बाटोप्रतिको ख्यालसम्म कुरा दिमागमा नाचिरहन्छ। सबै डराईडराई बसिरहन्छन्। आक्कलझुक्कल काझ्याँकाइ लेडरको आगोमा तेल थपिदिइरहन्छ।

कुरा समयकै हो। समय आफूलाई न्यायको बीचमा उभ्याउन निरन्तर कोसिस गरिरहन्छ। वर्षा मुसलधारे बनिसक्छ। सुस्तसुस्त गतिमा उनीहरू खोला नजिकै पुग्छन्। खोलाअघि जस्तो सानो छैन त्यो ड्राइभरले बुझिहाल्छ। उसलाई अब कसरी खोला कट्ने भन्ने चिन्ता हुन थाल्छ। पहाडको ठाडो खोला, वर्षा याम, अनि बीच बाटो चिरेको हुन्छ। खोला नपुग्दै एउटा मान्छे बाटो अगाडि आउँछ अनि हात फिँजाएर रोक्न खोज्छ। उसले एक्कासि ब्रेक लगाउँछ, सबै झसङ्ग हुन्छन्। टेम्पो अलिकति अगाडिसम्म चिप्लिँदै जान्छ अनि रोकिन्छ। चोर, डाँका हो कि भन्ने चिसो पस्छ मनमा उसको, तर समय र मौसमले त्यो सजिलै मेटिदिन्छ।

‘को हो ? के हो पारा ? के गरेको त्यसरी ?’, ड्राइभर चिच्याउँछ। अनि त्यो मान्छे घुमेर नजिक नआउँदै उसले खाएको रक्सीको गन्ध आउँछ। सबैले बुझिहाल्छन्। ‘नमस्कार हजुर। घरसम्म जाऊँ न। मिटिङमा गएर आएको राति भो। जाऊँ है’, उसले हात जोडेर लट्पटिएको बोलीले भन्छ।

‘मान्छे धेरै छौँ, बाटो चिप्लो छ, यिनलाई व्यथा लाको छ, अटिन्न क्यारे। हिँडेरै आउनस् वडाध्यक्षज्यु’, श्रीमानले भन्यो।
‘ए, रमेश बाबु पो ? जाऊँजाऊँ’, ऊ डन्डा समातेर ड्राइभरको छेउमा एक खुट्टाले टेकेर उभिन्छ। ड्राइभरलाई डर लाग्छ आफैँ खस्ने हो कि टेम्पो नै हुत्याउने हो भनेर। तर बिस्तारै मधुर बत्ती हेरेर, मन्द गति लिएर चलाइरहन्छ। रक्सीको गन्धले श्रीमतीलाई वान्ता आउला जस्तै हुन्छ।

खोला आउँछ।  छेउमा पुगेपछि ड्राइभरले रोक्छ र भन्छ, ‘खोला बढेछ, यत्तिकै हुन्न होला अब, उहाँलाई पुलबाट तारौँ अनि हामीले गाडी लैजाऊँ। सायद उचाल्न पर्ला।’ काठका फलेक राखेर बनाएको पुल, दुई दुखाइको बीचमा डाक्टरले र उसको श्रीमान्ले चलाखीपूर्वक उसलाई खोला तार्छन्। नेताज्यु खोलाबाटै तर्छन् पारि गएर एकछिन छाता अड्याएर बस्छन्। तीन जना मिलेर गाडी तार्छन्।

त्यही बेला उसले वान्ता गर्छे, छाता आफैँ समात्छे अनि नेताज्युलाई चिच्याएर गाली गर्छे। खिस्स हाँसेर नमस्ते गर्छन्  नेताज्युले अनि यताउता हल्लिन थाल्छन्। ‘तातो पानी बग्यो’, उसले डाक्टरलाई सुनाउँछे। त्यही बेला जोडले पेट दुख्छ। श्रीमान्लाई जोडले समात्छे। दुवै कानमा जोडले समात्छे। कपालमा समात्छे। उसले अँगालोले बेर्छ। छाता भुइँमा जान्छ।
‘लामोलामो सास फेर है।’, उसलाई के बोल्ने के नबोल्ने छुट्याउनै गाह्रो पर्छ र डाक्टरका शब्दका साहरा लिन्छ। घरीघरी लाग्छ– आमालाई गाडीमा पठाएर आफू हिँड्दै आउनु पर्ने रैछ !

‘तेरो टाउको फेर्छ, यहाँ मान्छे मर्न लाछ’, उसले दाह्रा किटेर कराउँछे। समयले त्यसलाई सुनेर हाँस्न खोज्छ। तर मुसलधारे पानीले त्यो हाँसो पनि बगाइदिन्छ। श्रीमान् फेरि सोध्यो, ‘अब के हुन्छ ?’ तनावले सबैलाई चरममा पु¥याउँछ। श्रीमान्ले छाता ओढ्याएर उसको दुखाइ जाने समय कुरिरहन्छ। डाक्टरले रातको पहिलो चुरोट सल्काउँछ र ड्राइभरसँग आधाआधा गर्छ। नेताज्युले इस्टकोटको गोजीबाट अर्को बोतल निकालेर ठाडो घाँटी लाउँछन्। त्यो समय तेस्तै, अलिअलि चुरोटको गन्धबाहेक कसैलाई कसले के गरिरहेको छ पत्तो हुँदैन। कसैलाई मतलब पनि हुँदैन। सबैको ध्यान वर्षा र व्यथामै जान्छ। कसैले कसैलाई त्यो किन गरेको भनेर सोध्दैन।

‘पानी पनि बगिसक्यो। जाऊँजाऊँ, अब ढीला नगरौ’,  डाक्टरले सबैलाई उठाउँछ। उसलाई सबैले सहयोग गरेर बीचमा राख्छन्। अनि चढेर जान्छन्। अलि पर गएपछि कसैको दिमागमा आउँछ, ‘खोई नेताजी ?’  डाक्टरले हातको लाइट पछाडि लगाउँछ र हेर्छ। नेताजी बाटोमै  ढलिरहेका हुन्छन्। उठाउन कसैलाई रहर लाग्दैन, कसैलाई कर लाग्दैन। उठाउनु अर्को घाँडो हुन्छ। गुरुजी गएर नेताज्युको छाता टाउको छोप्ने गरी राख्दिन्छन्। टेम्पो अगाडि बढिरहन्छ।

दुखाइ छिटोछिटो आउँदै जान्छ। समय मध्यरात बन्न लाग्छ। निद्राबाट भाग्न कसैलाई सकस हुँदैन। ऊ ‘मरेँ आमा’ भनेर चिच्याउनेदेखि मलीन तरीकाले कन्नेसम्मका चित्कार छोड्दै जान्छे। श्रीमानका आँखा रसाउँछन्। ड्राइभरलाई कसरी अस्पताल पुगेर यो झन्झटबाट मुक्ति पाउने भन्ने लाग्न थाल्छ। डाक्टरले कहिले पेटमा सुन्ने कहिले ‘नदुख्ने सुई’ भन्दै दिने कहिले चुरोट सल्काउने गर्छ।

त्यो रातमा बाटाका ससाना ढुंगाले पनि उनीहरूलाई अगाडि जान प्रेरित गरिरहन्छन्। न कसैले कसैलाई यो नगर भन्छ, न कसैले कसैलाई यो गर भन्छ। समयलाई दुइटा कुराले पिरोलिरहन्छ, एउटा पानी अर्को उसको कारुणिक चित्कार। तर सदैव आफूलाई निसाफको केन्द्रमा राख्न सजक रहन्छ।

उनीहरू गइरहन्छन् पाङग्रा नाच्दा दुई जना ओर्लेर धकेल्छन्। अनि सम्म बाटो आउँदा सबै चढ्छन्। सबैको ध्यान उसको पेटमै हुन्छ। डाक्टरलाई मात्र थाह हुन्छ कि आमा त बच्चा दुवै खतरामा हुन सक्छन्। उसले आफूसँग झोलामा भएका सामान प¥र्यो भने कहाँ कसरी प्रयोग गर्ने सोच्दै गर्छ। अरूलाई डाक्टरको ठूलो आड हुन्छ। श्रीमान्लाई श्रीमतीको र पेटको बच्चा दुवैको माया लाग्न थाल्छ। दुवैलाई केही हुन्छ कि भन्ने लाग्न थाल्छ। अनि आफूले गरेका धर्मका काम झलझली याद आउँछन्। भगवान् देखेका जति सबै अगाडि आउँछन्।

सबैको मनमा एउटा कुराले ठूलो आड दिन सुरु गर्छ। बाटो सकिँदै छ।
‘ड्याम्म’ ! बाटोमा अगाडि ठूलो ढुंगा बजारिन्छ। अनि त्योसँगै माटो बग्न थाल्छ। बाटो पूरै पुरिन्छ। गाडी झ्याप्प रोकिन्छ। सबैको मुटु थरथरी काँप्न थाल्छ। कोही केही बोल्न सक्दैन। समयलाई दया लाग्छ कि उनीहरू सबैको जिन्दगी दुईटा पहिरोको बीचमा अड्किएको हुन्छ। उनीहरूलाई त्यो चेत हुँदैन। सबैको ध्यान उनीहरूकोे सबैभन्दा ठूलो समस्यासँगै भएको आमा र बच्चामा जान्छ। श्रीमान् फेरि चिच्याउँछ, ‘अब के हुन्छ डाक्टरसाप ? साँच्चि अब के हुन्छ ?’

समय बल्ल मलीन बन्छ। ‘पर अलिकति गुफाजस्तै छ। डोजरले खन्दाको परेको जस्तै छ। त्यहीँमुनि बसौँ, यहाँ खतरा भो, फर्कियौं’, सबैका दिमागको शून्यता बीच ड्राइभरकोे मगजमा त्यही एउटा कुरा आउँछ। मिलेर गाडी घुमाउँछन् अनि फर्केर वर आउँछन्। दुखाइको तीव्र्रता बढ्दै जान्छ।

‘म सक्दिन अब म सक्दै सक्दिन, म मर्छु तर सक्दिन’, उसले लामो सास काढ्छे। श्रीमानले अनुहार अँध्यारो बनाउँछ।
‘सकिन्छ बहिनी, आत्तिनुु पर्दैन।  मसँगै छु नि। तिमी अलिकति सहिदेऊ, अलिकति बल गरिदेऊ, बाँकी सबै ठीक हुन्छ’, उसको बोली उसको आफ्नैै सोचाइ र मनको डरभन्दा ठीक विपरीत दिशामा गइरहेको उसलाई महसुस हुन्छ। तर त्योभन्दा बढी आड दिन सक्दैन।

‘घरमै बसेको भए नि हुन्थ्योे बरु। घरमा न्यानो थियो, आमा हजुरआमाले घरमै पाए, अहिले अस्पताल भन्दै चहार्नु छ। अहिले यो हरिबिजोग। हुन त भगवान् डाक्टरसाप बनेर आएर अलि सहज होला नत्र हाम्रो के गति हुँदो हो आज !’ उसलाई डर नै डर हुन्छ। उसले श्रीमतीलाई छोड्दै छोड्दैन।

गाडीबाट झर्छन्। ड्राइभरले लाइट समात्छ। अनि डाक्टरले त्यो कोप्चेरोको भुइँंमा रहेका ढुंगा हटाउँछ। अनि झोलाबाट भएका सबै कपडा निकाल्छ, एउटा लामो बर्को बिछ्याउँछ। झोलामा थर्मस भेट्टाउँछ, त्यो एउटा कुनामा राख्छ।
‘यहाँ बस, आउ बहिनी तिमी। गुरुजीले आगो बाल्न सकिन्छ कि हेर्दै गर्नुस्। गर्नुस्। दाइ तपाइँ यतै बस्नुस्। अब प¥यो भने यतै जन्माउन कोसिस गर्नु पर्छ। राम्रा मान्छेलाई भगवान्ले सहयोग गर्छन्।’

समयलाई त्यो स्वरमा साहसको बिम्बभन्दा पनि परिस्थितिको उपज नजर आउँछ। त्यसैले समय प्रफुल्ल बन्छ।
उनीहरू त्यसै गर्छन्। भिजेको भुइँमा आगो बाल्न ड्राइभरलाई यति सकस पर्छ कि सायद उसले वर्षौँपछिसम्म सम्झिँंदा भन्नेछ, ‘त्यो दिन त्यहाँ बच्चा जन्माउनु भन्दा आगो बाल्न गाह्रो थियो र मैले त्यो काम गरेको थिएँ।’

झरेका पातमध्ये नभिजेका छानेर उसले आगो सल्काउँछ तर त्यो एकैछिनको धुवाँ मात्रै बन्छ। टाउकोनेर एउटा झुन्डेको लहरामा लाइट झुन्ड्याइन्छ। बाछिटा परिरहन्छन्। चित्कारहरूमा कानको आभास पनि हुन्छ, पीडाले अन्तिम अवस्थामा निकालेको आवाज जस्तो पनि हुन्छ। जाडो बढ्दै जान्छ तर मध्यरातको थकान र निद्रा बिथोलिएका चार र पाँच प्राणीहरू रातसँग त्यहाँ संघर्ष गरिरहन्छन्।

समयले उनीहरूलाई हेर्दै बाटो काट्छ। पानी मत्थर हुँदै जान्छ। ‘टाउको तल आइसकेछ।  यहीँ पाउने अब। बल गर है बहिनी बल आउँदा। आत्तिनु पर्दैन। राम्रै भइरहेको छ। एकैछिन हो, त्यसपछि तिम्रोे हातमा तिम्रो बच्चा हुन्छ।’ समयले उसको नरम बोलीको उपेक्षा गर्न सक्दैन तर काँपिरहेका हातहरूले साउनको जाडोभन्दा खतरा नै परिभाषित गरेका हुन्छन्। रातभरको सोचााइमा कल्पनाकै भए पनि सबैभन्दा जोखिम अवस्था जो हुनसक्थे ती सबै उसको अगाडि आएर नाचिदिन्छन् । उसले आफ्नो अन्तिम अस्त्र साहसको प्रयोग सुरु गर्छ।

आगो सल्किन्छ। त्यसलाई बलिरहन दिन भिजेका छेस्काहरू आगोको वरिपरि राखिन्छन्। बाछिटा छेक्न छाताबाहिर पट्टि राखिन्छ। बिस्तारै अलिअलि बल्दै जान्छ। धुवाँले जंगलका सबैभन्दा अग्ला रूखहरूलाई चुमेर माथिमाथि जान्छ। त्यो रात त्यो धुवाँले कसैलाई जगाउँदैन। कसैको ध्यान तान्न सक्दैन। समयले त्यसलाई एउटा संकेत देख्छ, अर्को एउटा सुरुवातको।

‘ल बहिनी अलि जोडले बल गर आउनै  लाग्यो, अब एक पटकमै निकाल्नुपर्छ। जति धेरै बल ग¥यो त्यति छिटो निस्किन्छ, ढिला भयो भने गाह्रो हुन्छ। जोड गर, जोड गर।’ ‘ल कान्छी, बल लाऊ’, श्रीमान्कोे वाक्य फेरि एक पटक बन्द हुन्छ। ऊ रुन थाल्छ, आँसु गालाबाट तल पुग्छन् तर मुसलधारे पानीले भिजेको ज्यानमा आँसुले खासै शोभा दिँदैनन्। एक दुई थोपा जो उसको काखमा बसेकी श्रीमतीमा झर्छन्, तिनले ठूलो अर्थ राख्छन्। तर उसको आफ्नै पीडा हुन्छ। माथिबाट झरेका मन तातो पानीका एक दुई थोपा। ऊ चिच्याउँदैन तर रोइरहन्छ, एउटा गहिरो पीडामा आँसु बगाइरहन्छ, जसले उनीहरूलाई पछ्याइरहेको समयलाई मात्र भावविह्वल बनाउँछ।

सबै भइरहँदा त्यहाँ सबैभन्दा असहाय श्रीमान् नै देखिन्छ। उसलाई धेरै बोल्न पनि आउँदैन। सहानुभूति दिन पनि सक्दैन उसको मुटु आमा र बच्चाको चिन्ताले उफ्रिरहन्छ। केही बोल्दैन। श्रीमतीलाई काखमा राख्छ र कपाल मुसारिदिन्छ अनि जब उसलाई दुख्छ त्यतिबेला जोडले समात्छे। कान राता बन्छन्। हातमा धेरै ठाउँंमा छालाभित्र रगत जम्मा हुन्छ। त्यो दुखाइले उसको मनको एक ठाउँमा पनि छ खडेरी पनि हुँदैन।

वर्षा मत्थर हुँदै जान्छ। समय रातबाट टाढा र बिहानबाट नजिक हुँदै जान्छ। जंगलको बीच बाटोमा वर्षाको धुनलाई चिर्दै उसले एउटा अन्तिम चित्कार छोड्छे र त्यसैको धुनलाई समातेर एकअर्को जीवन संसारमा मिसिन आउँछ। संकेत दिन आफैं चिच्याउँछ।

उसले लामो सास फेर्छे। श्रीमान्को सबै डर खुसीमा परिवर्तन हुन्छ। हात धेरैबेरसम्म पनि काँपिरहन्छन्। डाक्टरले बच्चालाई भएका सबैभन्दा ओभाना लुगाले पुछेर, कपडाले बेरेर उसले आमाको काखमा राखिदिन्छ। एकैछिनमा साल निस्किन्छ। अनि आमालाई दुध चुसाउन लगाउँछ। आगोको छेउमा राखिदिन्छ। झोलाकोे थर्मसबाट तातो पानी निकालेर आमालाई खान दिन्छ।

‘न्यानो राख है बहिनी बच्चालाई, अनि दुध चुसाउँदै गर। अनि तपाईहरू हेर्दै गर्नुस्।’
सबै राम्ररी चलिरहन्छ। धेरै तनाव उनीहरूको दिमागबाट हटेर जान्छ। त्यसपछि उसले अर्को एक चुरोट सल्काउँछ। चुरोटको लामो सर्कोसँगै ऊ एउटा पीडादायी अनुभवबाट आफ्नो सामान्य संसारमा फर्किन्छ। आमा र बच्चालाई हेरेर मुस्कुराउँछ। अनि यथार्थका पानाहरू पल्टाएर आफ्नो जिन्दगी केलाउँछ।
‘मलाई त जानै पर्छ नि। तपाईहरू उज्यालो भएपछि आउनुस्। गुरुजी यसो पहिरो कट्न सहयोग गर्नुस् है मलाई ? अनि तपाईलाई फर्किँदाको कति दिऊँ पैसा ?’

‘पर्दैन डाक्टरसाप मलाई पैसा फर्किँदाको’, उसका शब्दले डाक्टर ट्वाल्ल पर्छ। अनि सामान्य बन्छ फेरि। बच्चा रोइरहन्छ। उसलाई काखमा राखेर आमा आगो छेउमा बस्छे। र हात सेकाउँदै बस्छे। गुरुजी र श्रीमान् दुवै मिलेर उसलाई पहिरो कटाइदिन्छन्। फर्कंदा परबाट पिलपिल गरेर आउँदै गरेका बत्तीहरू देखिन्छन्।

‘ती हाम्रा मान्छे हुन्न’, श्रीमान्ले खुसी मुद्रामा गुरुलाई सुनाउँछ। र समय हाँस्दैैहाँस्दै डाक्टरका पाइला हेर्दै अगाडि बढिरहन्छ। अनि रातबाट खोसिएर झिसमिसेतिर बिलाउँदै जान्छ।

प्रकाशित: ७ असार २०७६ ०६:३६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App